Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगउपनिर्वाचनको जोडघटाउ

उपनिर्वाचनको जोडघटाउ


काठमाडौं । वैशाखको उखरमाउलो गर्मीसँगै आउँदो १० गते हुने उपनिर्वाचनको चर्चाले राजनीतिक वातावरण पनि निकै तातेको छ । योसँगै राजनीतिक वृत्तमा उपनिर्वाचनको सम्भावित परिणामको जोडघटाउ पनि सुरु भएको छ ।

यही वैशाख १० गते बारा–२, चितवन–२ र तनहुँ–१ मा एकैसाथ उपनिर्वाचन हुनलागेको हो । बारा–२ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति निर्वाचित भएपछि उक्त निर्वाचन क्षेत्र खाली भएको हो । यादव जनता समाजवादी पार्टीबाट सांसद निर्वाचित भएका थिए । उनी उपराष्ट्रपति निर्वाचित भएपछि खाली भएकाको निर्वाचन क्षेत्रबाट उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उपेन्द्र यादव उम्मेदवार बनेका छन् ।

उनी यसअघि मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा सप्तरी–२ बाट उम्मेदवार भएर सीके राउतसँग शर्मनाकरूपमा पराजित भएका थिए । राउत पहिलो पटक संसदीय निर्वाचनको राजनीतिमा आएका हुन् । यसअघि उनले नेपाल विखण्डनको नारा दिएका थिए । अमेरिकामा शिक्षादीक्षा पाएका राउत गत निर्वाचनमा उपेन्द्र यादवले उम्मेदवारी दिने घोषणा गरेकै क्षेत्रमा पुगेर उम्मेदवारी दिने घोषणा गरेका थिए । चुनावी प्रचारको सुरुवाती दिनमा यादव निर्वाचित हुने आकलन गरिए पनि चुनावी परिणाम उल्टिएको थियो । यतिसम्म उल्टिएको थियो कि यादवले भन्दा दोब्बर बढी मत ल्याएर राउत विजयी भएका थिए । सप्तरीमा बेइज्जतीपूर्वक हारेका यादव अहिले बारा–२ को उपनिर्वाचनका उम्मेदवार बनेका छन् ।

त्यहाँबाट निर्वाचित रामसहाय प्रसाद यादवको राजनीतिक लगानीको मूल्यांकन गरेर जनता समाजवादी पार्टीले उपराष्ट्रपति बनाएको विश्वास गरिएको छ । तर त्यसो नभएर सप्तरीबाट हारेका पार्टी अध्यक्ष उपेन्द्र यादवलाई संसदमा पु¥याउनकै लागि बारा–२ नम्बर निर्वाचन क्षेत्र खाली गराउन उनलाई उपराष्ट्रपति बनाइएको तर्क गर्नेहरूको पनि कमी छैन ।

राजनीतिक जीवनका सुरुवाती चरणदेखि नै वामपन्थी कित्तामा रहेका उपेन्द्र यादव राष्ट्र विखण्डनको नारा दिएर राजनीतिमा उदाएका सीके राउतभन्दा कम विवादस्पद मानिँदैनन् ।

एमाले, माओवादी, मेधेशी जनअधिकार फोरम हुँदै जनता समाजवादी पार्टीमा आइपुगेका यादव युरोपेली अनुदानको एनजीओ सञ्चालकदेखि भारतीय सहयोगको दल चलाउँदै पछिल्लो समयमा चीननिकट मधेशी नेता बन्न पुगेका छन् ।

१० दलीय सत्ता गठबन्धनमा रहेका जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल आम आदमी पार्टीले उपेन्द्र यादवको उम्मेदवारीविरुद्ध मोर्चाबन्दी गरेर जनमत पार्टीका शिवचन्द्र कुशहवालाई समर्थन गरेका छन् । उनी यसअघि मंसिर ४ गते भएको निर्वाचनमा यादवसँग तीन सय ५४ मतले पराजित भएका थिए । त्यही बेला जसपाका यादवलाई एमालेले समर्थन गरेको थियोे । र कुशहवा कांग्रेसको समर्थनमा माओवादी केन्द्रको उम्मेदवार बनेका थिए । उनले १३ हजार चार सय ६८ मत पाउँदै तेस्रो बनेका जनमत पार्टीका उम्मेदवार एक्लैले झण्डै नौ हजार मत पाएका थिए । अहिले त्यहाँ कांग्रेस र माओवादी दुवैले जसपाका उपेन्द्र यादवलाई समर्थन गरेका छन् ।

तर मंसिर ४ को निर्वाचनमा माओवादीको उम्मेदवार बनेर तीन सय ५४ मतले पराजित भएका कुशहवा अहिले सीके राउतको जनमत पार्टीको उम्मेदवार बनेका छन् । तर यसअघि रामसहायप्रसाद यादवलाई समर्थन गरेको एमालेले यस पटक पुरुषोत्तम पौडेललाई चुनावी मैदानमा उतारेको छ । उनी विगतमा त्यही क्षेत्रबाट दुई पटक निर्वाचित भइसकेका सांसद पनि हुन् । कांग्रेस र माओवादीले उपेन्द्रलाई जिताउन जसरी आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । त्यसैगरी उनलाई हराउन सीके राउतले पनि प्रतिष्ठाको विषय बनाएका छन् । दुई खेमाबीचको प्रतिष्ठाको लडाइँमा एमालेले बाजी मार्न मन बनाएको छ । तर राजनीतिमा च्याँखे थाप्दै आएका रवी लामिछानेको नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो उम्मेदवार नेपाल प्रहरीका विवादस्पद पूर्वडीआईजी रमेश खरेलले बाजी मार्ने दाबी गर्दै आएको छ ।

त्यसैगरी चितवन क्षेत्र न २ मा पहिलेका विवादास्पद सांसद रवी लामिछानेले यस पटक पनि उम्मेदवारी दिएका छन् । उनका अगाडि पहिलेका जस्ता अन्धभक्त भीडभन्दा पनि यस पटक उनलाई प्रश्न गर्ने मतदाता आएका छन् । उनले मतदाताबीच झुट बोलेको कुरा अब कसैबाट छिपेन । तर पनि उनी त्यस क्षेत्रका लागि कमजोर उम्मेदवारचाहिँ होइनन् । कांग्रेसले त्यस क्षेत्रमा उनीविरुद्ध जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

जित्ने भए आफ्नो अनुकूल मान्छेलाई उम्मेदवार बनाउने र जित्न मुस्किल हुने देखिए अर्को व्यक्तिलाई उम्मेदवार बनाउने कांग्रेस नेतृत्वको चलन बन्दै गएको छ । त्यही कारण कांग्रेसको सांसद बनेपछि पार्टी सदस्यता लिएका विवादस्पद शैक्षिक व्यापारी उमेश श्रेष्ठलाई उम्मेदवार नबनाएर कांग्रेसले जितनारायणलाई उम्मेदवार बनाएको विश्वास गर्नेहरूको पनि त्यस क्षेत्रमा कमी छैन । त्यही कारण पार्टीले आममाफी दिएर कारबाही फुकुवा गरेपछि पनि कांग्रेसबाट पाउने जति मानपदवी, सेवासुविधा सबै लिइसकेका जगन्नाथ पौडेल कांग्रेसमा नफर्किएर रवी लामिछानेलाई समर्थन गर्न पुगेका छन् । कृष्णप्रसाद भट्टराईलाई हराउने अन्तरघाती ग्याङका सदस्य मानिएका पौडेलले कांग्रेसको सन्तुष्ट मत एमाले उम्मेदवारतिर जान रोकेर आफैँतिर राखेर गत स्थानीय निर्वाचनमा विदेशी डिजाइनमा प्रचण्डपुत्री रेणु दाहाललाई भरतपुर महानगरपालिकाको निर्वाचनमा मेयर पदमा निर्वाचित गराएका थिए । उनले राजनीतिक जीवनमा जे–जति पाए, जे–जति गरे, ती सबै स्वेच्छाले गरेनन् भन्ने कांग्रेसीहरूको कमी छैन । नियालेर हेर्दा तर्कमा दम छ । ठूला दलले गरेको कामबाट असन्तुष्ट मतदातालाई लामिछानेले आफूतर्फ आकर्षित गरेका छन् ।

र कांग्रेसको उम्मेदवारलाई मोओवादी र एकीकृत समाजवादीले समर्थन गरेका छन् । उनीहरूको टक्करमा एमालेले आफ्नो उम्मेदवार रामप्रसाद न्यौपानेले बाजी मार्ने दाबी गरेको छ । उनी कांग्रेसको जितनारायणजस्तै स्थानीय उम्मेदवार त हुन् तर पार्टीको हेभीवेटले नजित्ने भएपछि उम्मेदवार बन्ने पालो पाएका वैकल्पिक भाग्यमानी उम्मेदवार हुन् । रवीले जतिसुकै फट्याइँ गरे पनि सत्ताले गल्ती नसुधारेकाले जनताले मंसिर ४ र वैशाख १० का बीचमा अन्तर देख्न पाएका छैनन् । आगमी उपनिर्वाचनमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक उम्मेदवार पनि पाउन सकेको देखिएन । स्वतन्त्र पार्टीले काठमाडौं क्षेत्र नंबर १ बाट मंसिर ४ मा पराजित पूर्वडीआईजी रमेश खरेललाई बारा–२ को उपनिर्वाचनमा उम्मेदवार बनाएको छ । पर्सामा प्रहरीप्रमुख हुँदा आफ्नी श्रीमतीलाई सुराकी देखाएर कमिशन खाएको आरोप लागेका खरेल आफैँमा विवादित व्यक्ति हुन् ।

त्यसमाथि पनि आफूलाई वैकल्पिक राजनीतिक दल ठान्ने पार्टीले उपनिर्वाचनमा राजनीतिक व्याक्तिलाई उम्मेदवार बनाउन नसकेर एक जना भूतपूर्व प्रहरीलाई दोहो¥याएर उम्मेदवार बनाउनु त्यति राम्रो देखिएन । त्यस्तै अवस्था एमालेको पनि तनहुँ–१ मा देखियो । एमालेले पूर्वआईजीपी सर्वेन्द्र खनाललाई मंसिर ४ मा काठमाडौं ६ बाट उम्मेदवार बनाएको थियो । त्यतिबेलै एमालेका राजनीतिक कार्यकर्ताले गह्रौँ मनले पार्टीको निर्णयलाई समर्थन गरेका थए । जुन क्षेत्रमा निहत्था घैँटेलाई सहिद बनाएका थिए, त्यही क्षेत्रबाट एमालेले बहादुरीको पुरस्कारस्वरूप टिकट दिएको थियो । त्यहाँबाट जित्ने कुरै भएन । अहिले त्यही व्यक्तिलाई तनहुँ–१ को उपनिर्वाचनमा उम्मेदवार बनाएर त्यस क्षेत्रमा राजनीतिक कार्यकता नै नभएको जस्तो व्यवहार देखाएर कार्यकताको भावनामा ठेस पु-याएको छ । रामचन्द्र पौडेललाई कांग्रेसले राष्ट्रपति बनाएपछि त्यो क्षेत्र खाली भएको थियो र त्यहाँ पनि वैशाख १० मा चितवन र बारासँगै उपनिर्वाचन हुनलागेको हो ।

त्यस क्षेत्रबाट कांग्रेसले नेविसंघका पूर्वसभापति गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । उनी समकालीन राजनीतिक नेतृत्वबीचमा भद्र नेता मानिन्छन् । तर उनको त्यो भद्रतालाई उछितो काढ्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टीले स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ ।

उनी गत मंसिर ४ को निर्वाचनमा कांग्रेसको टिकट आकांक्षी थिए र उनलाई कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले टाउकोमा टेकाएका थिए । त्यहाँसम्म कि वाग्लेका लागि महामन्त्री थापाले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–४ छाडेर सर्लाही–४ मा सरुवा हुने घोषणा गरेका थिए ।

तर सभापति शेरबहादुर देउवाले थापा सर्लाही–४ मा सरेपछि काठमाडौं–४ मा थापाले इच्छाएको वाग्लेलाई टिकट नदिएर केन्द्रीय सदस्य नैनसिंह महरलाई टिकट दिएका थिए । महरले आफ्नो टिकट गरेपछि महामन्त्री थापा हस्याङफस्याङ गर्दै सर्लाही–४ छाडेर काठमाडौं–४ मै फर्किएका थिए ।

तर त्यतिबेलासम्म घण्टीसँगै एउटा सहमति बनिसकेको थियो, गगनविरुद्ध घण्टीले उम्मेदवार नउठाउने, चितवन–२ मा सभापतिको विश्वासपात्र उमेश श्रेष्ठलाई टिकट दिएर रवीसँग भिडाएर पछार्ने । हुन पनि त्यही भयो । वाग्लेले टिकट नपाए पनि कांग्रेसको घोषणापत्र बनाउने जिम्मा दिइयो । वाग्ले त्यसअघि सभापति देउवाको विश्वासपात्र बनेर राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनिसकेका छन् ।

कांग्रेसी पृष्ठभूमि भए पनि प्रजातन्त्र नहुँदा विदेशमा मोजमस्ती गरेर बिताएका र यूएनडीपीको कन्सल्टयान्ट भएर विदेशीसँग बिहे गरेर बसेका वाग्लेले अहिलेको प्रजातान्त्रिक वातावरणमा स्वदेश फर्किएर स्वदेशमै निष्ठाको लडाइँ गरेर बसेका कार्यकर्तामाथि विद्वताको भाषण छाँट्न थालेपछि कार्यकर्ताले त्यति पचाएका थिएनन्, त्यही बेला उनले रवी लामिछानेको चेहरामा बीपीको झल्को देख्न थाले भनेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर तनहुँ–१ बाट उम्मेदवार भएका छन् ।

यो उपनिर्वाचनको परिणामले उपेन्द्र यादवको राजनीतिक भविष्यको छिनोफानो गर्नेछ । उनको छोरो दीपेशले विराटनगर महानगर पालिकाको निर्वाचनमा गठबन्धनको उम्मेदवार बन्दा मेयरले अत्यधिक बहुमतले जित्दा आफूले शर्मनाक पराजय व्यहोर्नुपरेको थियो । त्यही क्रम उपेन्द्र यादवको सप्तरीमा दोहोरियो । अब फेरि बारामा उम्मेदवारी दिँदा त्यही हालत दोहोरिने खतरा देखिएको छ । उनले बारामा पराजय व्यहोर्नु प¥यो भने मधेशमा माओवादी र कांग्रेसले उनलाई बोक्नुको अर्थ सकिनेछ र मधेशमा सीके राउत हाबी हुनेछन् । चितवनमा रवी लामिछानेले हारे भने राष्ट्रिय स्वतन्त्र पार्टी संकटतर्फ उन्मुख हुनेछ । जिते पनि उनीमाथि लागेका आरोपबाट मुक्ति पाउने छैनन् । तर उनले हार्दा गगनसँगको अघोषित सम्झौता समाप्त हुनेछ र एक–अर्काबीच सम्झौता समाप्त हुनेछ ।

तनहुँ–१ मा वाग्लेले हारे भने गगन विश्वप्रकाशको लाज छोपिनेछ । जगन्नाथ पौडेलजस्तै अन्तरघाती समूहका गोविन्दराज जोशीले वाग्लेलाई समर्थन गरेका छन् । उनको समर्थन पनि निर्देशित नै हुनेगरेको आरोप लाग्ने गरेको छ । भट्टराईले हार्दा वा जित्दाभन्दा पनि देखिएको छ । वाग्लेले हारेर रवीले जिते भने स्वतन्त्र पार्टी त्यस्तै रहला तर रवीले हारेर वाग्लेले जिते भने स्वतन्त्र पार्टीमा रवीको ठाउँमा वाग्लेले लिने सम्भावना देखिन्छ । बाहिरी शक्तिको चाहना पनि त्यस्तै देखिन्छ । रवी र वाग्ले दुवैले जित्दा स्वतन्त्र पार्टी झनै सशक्त बन्नेछ ।

वाग्लेले चलाउने मात्र होइन, कांग्रेसमा समेत असर पर्ने छ र वाग्लेको चुरीफुरी गगन विश्वप्रकाशकै लगानी र बलमा हो भन्ने धेरै कांग्रेसीहरूको मत रहेको छ । वाग्लेले जित्दा त्यसको प्रत्यक्ष असर गगन र विश्वप्रकाशमाथि पर्नेछ । तनहुँ–१ मा हार्दा राष्ट्रपति पौडेलको शाख गिर्ला, कांग्रेसले एक सिट गुमाउला, गोविन्द भट्टराई सांसद हुन नपाउलान् तर वाग्लेले जित्दा त्यसको तरङ्ग टाढासम्म पुग्नेछ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया