Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगस्वर्णीम वाग्ले : बौद्धिक ठगीका लास्ट उदाहरण

स्वर्णीम वाग्ले : बौद्धिक ठगीका लास्ट उदाहरण


काठमाडौं । सन् १९१७ को रुसी वोल्सेविक क्रान्तिका नायक ब्लादिमिर इलिच लेनिनको राजनीतिशास्त्रमा एउटा कालजयी प्रकारको पुस्तक छ । त्यो पुस्तकको नाम हो, ‘राज्यसत्ता र क्रान्ति’ । त्यो पुस्तकलाई आज संसारभरिका विश्वविद्यालयहरूले राजनीतिशास्त्रको आफ्नो पठ्यक्रममा राखेका छन् । संसारका अनेक भाषाहरूमा अनुवाद भएर त्यो पुस्तक ग्रासरुटका पाठ्यक्रमहरूमा पनि आइसकेको छ । नेपालमै पनि नेपाली, नेवारी, किराँती, मैथिली भाषामा त्यो पुस्तक उपलब्ध छ । मलाई बडो आश्चर्य लागेको छक्क परेको चाहिँ लेनिन र माओको नाम भजाएर त्यत्रो १० वर्षे कथित जनयुद्ध (रगतपच्छे दुर्भाग्य) मच्चाएका नायक मिस्टर प्रचण्ड (कमरेड)ले लेनिनको त्यो पुस्तक अझसम्म पढेकै रहेनछन् ।

त्यो पुस्तकको मूल स्वर र ठहर हो ‘राज्यसत्तामा सत्ता र सरकार विलकुल दुई भिन्न कुरा हुन्’ । राजनीति (देश र जनताको सेवा) गर्छु भन्ने जो–कसैले पनि सत्ता र सरकारबीचको यो फरक बुझ्नु अनिवार्य भएकाले नै त्यो पुस्तकलाई संसारभरिका विश्वविद्यालयहरूले पाठ्यक्रम बनाएका र संसारभरिका हजारौँ लाखौँ भाषाहरूमा अनुवाद हुनेगरेको प्रस्टै छ । जसले सत्ता र सरकारबीचको फरक नबुझी राजनीति गर्छु भन्छ त्यो पूर्णतः ठग र बेइमान हो । मलाई रामचन्द्र, शेरबहादुर, माधवकुमार, चित्रबहादुर केसी आदि इत्यादिले त्यो फरक थाहा नपाएकामा त त्यस्तो कुनै आश्चर्य थिएन । तर बडो जुँगा मुसार्दै, कुम हल्लाउँदै, गिरिजाप्रसाद कोइरालालाई तह लगाएँ भन्दै तीन पटक प्रधानमन्त्री भइसकेका यी पंक्ति लेखिरहेका बखतका प्रधानमन्त्री पुष्पकमल दाहाल (मिस्टर)ले समेत त्यो पुस्तक नपढेको पाउँदा भने मनमा धेरै खिन्नताजस्तो अनुभूति भएको छ । १७औँ, १८औँ शताब्दीको युरोप अमेरिकातिर पाइने गरिएको कविलाई चेतना र दास मानसिकताबाट अझै हाम्रो मतदाताको चेतना माथि उठ्न नसकेको पाइनु खिन्नताको विषय भएको हो ।

लेनिनको माथि उल्लिखित निष्कर्ष र ठहर यतिखेर नेपालमा प्रस्ट पाठ्यक्रम हुनेगरी अक्षरंश चरितार्थ भएको उदाहरण उपलब्ध भएको छ । यतिखेर नेपालका सरकारप्रमुख प्रधानमन्त्री मिस्टर प्रचण्ड छन् । प्रधानमन्त्रीका तुलनामा भुुसुना सत्ताशक्ति राख्ने काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर)मा बालेन शाह छन् । लौहपुरुष गणेशमान सिंह (सर्वोच्च कमान्डर जनआन्दोलन ०४६)की बुहारीलाई चुनावी प्रतिस्पर्धामा हराएर ‘महानगर प्रमुख’को कुर्सीमा आसीन हुनुअघि उनको राजनीतिक हिसाबको कुनै पहिचान चिनारी थिएन । ¥याप संगीतमा सेलिबे्रटी थिए भन्ने मैले मेयर भइसकेपछि मात्र थाहाँ पाएको हुँ । यस्ता राजनीतिका बालक बालेन शाहले राजधानी नगरप्रमुखका हैसियतले प्रधानमन्त्री निवासको फोहोर नउठाउने उर्दी जारी गरे । जबकि त्यो फोहोर उठाउनुपर्ने उनको पदीय जिम्मेवारीभित्र पर्छ । यी पंक्ति लेखिरहेका बखत (८ दिन, १० दिन कति भइसकेको छ) प्रधानमन्त्री निवास बालुबाटार, राष्ट्रपति निवास महाराजगञ्ज, प्रधानमन्त्री कार्यालय सिंहदरबारमा फोहोर थुप्रिएर रोग फैलाउने चरणमा दुर्गन्ध बढिरहेको थियो । तर प्रधानमन्त्री (सरकारप्रमुख) प्रचण्ड आफ्नै कपाल लुछ्दै दुर्गन्धमा छटपटाइरहेका भेटिए । यस्तै अवस्थालाई लेनिनले सत्ता र सरकारबीचको फरक बताएका हुन् । सरकार प्रमुखमा प्रचण्ड भए पनि सत्ता उनीसँग छैन । सत्ताको वागडोर यतिखेर (कतिदिन रहन्छ, भन्न सक्दिन) बालेन शाहको हातमा छ । यदि प्रचण्डमा अलिकति पनि राजनीतिक सेन्स (लेनिन—माओ धर्म) भएको भए फोहोर थुप्रिएको दोस्रो तेस्रो दिन अहिंसात्मक ढंगको आफ्नो प्रधानमन्त्री पद अपदस्त भइसकेको तथ्य आत्मसात् गरेर राजीनामा दिएर सरकारबाट बाहिर आइसकेको हुनुपर्दथ्यो ।

स्वर्णिम वाग्लेको ‘बौद्धिक ठगी (बौद्धिकताको बेइज्जति)’ विषयमा प्रवेश गर्नुअघि हाम्रो वर्तमान राज्यसत्ताको तत्कालीन वागडोर कस्तो अवस्थामा पुगेको भन्ने यति पृष्ठभूमि यहाँ आवश्यक भएकाले प्रधानमन्त्री प्रचण्डको यति विवरण ल्याउनु परेको हो । अब अलिकति कथित बौद्धिक वाग्लेले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका रवी लामिछाने (रास्वपाका अध्यक्ष अदालतबाट बर्खास्त पूर्वगृहमन्त्री)का बारेमा पनि तथ्य अभिलेख हुनु विषयगत अनिवार्य नै हुन जान्छ ।

रवी लामिछानेका विषयमा कुरो थाल्दा यसअघिको स्तम्भमै ‘नानीमैयाँ दाहालको नियति दोहोरिएको’ किटान ठहरका साथ लेखिसकेको यहाँ पनि दोहो¥याउनुपर्ने हुन्छ । अहिले नानीमैयाँ दाहाल इतिहासको कुन कन्टेनरमा थन्केकी छिन? कसैलाई अत्तोपत्तो कुनै पाठ्यक्रम छैन । तर पञ्चायत (निर्दलीय) जानेबेला उनको सेलिबे्रटी (लोकप्रियता) यति माथि उठेको थियो कि अहिलेका रवी लामिछनेको सेलिब्रेटी त हात्तीका अगाडि कमिलाबराबर पनि गिन्ती हुन मिल्दैन होला ।

नानीमैयाँ दाहाल पञ्चायत व्यवस्थाकी एक जुझारु कार्यकर्ता थिइन् । उनको कार्यक्षेत्र वाग्मती अञ्चल थियो । पत्रकारिता गर्दा अहिलेका रवी लामिछानेले संघीयताका ठेकेदार बनेका ओली, प्रचण्ड, देउवा, माधवलाई नङ्गाएजस्तै पञ्चायतका ठेकेदार बनेका सूर्यबहादुर थापा, जोगमेहर श्रेष्ठ (१६ वर्ष गृहमन्त्री) कमल थापा आदि इत्यादिलाई कुरो न सुनेर आवश्यक पर्दा सारी उचालेर पार्वती देखाइदिने आँट गर्थिन् । त्यसले गर्दा आम जनमतमाझ उनको सेलिब्रेटी पत्रकार रवी लामिछानेको जस्तै हाइटमा पुगेको थियो । यो विसं २०३८ सालको कुरो हो । रासपा (सांसद)को चुनाव आयो । अहिलेका रवी लामिछानेले प्रचण्डलाई चितवनको उनको चुनाव क्षेत्रबाट लखेट्ने उद्घोष गरेजस्तै नानीमैयाँले पनि राजधानी चुनाव क्षेत्र (त्यतिखेर अहिलेका जस्ता ९÷१० चुनाव क्षेत्र नभएर एउटै थियो)मा सूर्यबहादुर थापा, जोगमेहर श्रेष्ठ, कमल थापा आदि इत्यादि ठालु पञ्चहरूका गठबन्धन उम्मेदवारलाई हराउने उद्घोष गरेर स्वतन्त्र उम्मेदबारी दिइन् । प्रचण्ड गोर्खा लखेटिएजस्तै नानीमैयाँ दाहालले चुनाव जितिन् । प्रचण्डले छोरी जिताउन मतपत्र च्यातेकाजस्ता धाँधली राजाकालमा सम्भव थिएन । उनको चुनावी जितबाट भारत, अमेरिकालगायत पश्चिमा दाताराष्ट्र समेत छक्क परे । सार्क राष्ट्रहरूमा वैचारिक म्याग्जिनको मान्यता पाएको भारतबाट प्रकाशित ‘दिनमान साप्ताहिक’ले आफ्नो कभरपृष्ठमा नेपालको नक्सा छापेर त्यसमा सूर्य उदाइरहेकोमा सूर्यको अनुहारचाहिँ नानीमैयाँ दाहालको बनाइएको थियो । निवेदन नहाली ‘गिनिज बुक’ उनको उत्कृष्ट विश्व रिकर्ड अभिलेख गर्न बाध्य भएको थियो । सायद रवी लामिछानेले निवेदन हालेर ‘गिनिज बुक’मा नाम लेखाएका हुन् । त्यसैले मैले उनको सेलिब्रेटी नानीमैयाँ दाहालका अगाडि हात्तीका अगाडि कमिलाबराबर हो भनेको हुँ ।

प्रचण्डको गृहमन्त्री हुनुअघि रवी लामिछानेले नानीमैयाँ दाहालको इतिहास एक पटक अवश्य अध्ययन गर्नुपर्दथ्यो भन्ने सल्लाह सन्दर्भमा यति कुरा आएका हुन् । ‘इतिहासले आफैँ केही सिकाउँदैन तर नसिक्नेलाई भने सिध्याइदिन्छ’ भन्ने परिभाषा यस्तै सन्दर्भलाई लिएर हो । स्वर्णिम वाग्लेको बौद्धिक ठगी या बेइज्जतिको सन्दर्भमा चाहिँ कति मात्र हो भने उनी हिजो गगन थापालाई ‘भावी प्रधानमन्त्री’ भन्दै चुनाव प्रचारमा भेटिएका थिए भने अहिले रवी लामिछानेलाई भावी प्रधानमन्त्री भन्दै चुनाव प्रचारमा भेटिएका छन् । अर्को हाँस्यास्पद कुरो गगन थापाले आफैँलाई ‘भावी प्रधानमन्त्री’ भनेजस्तै स्वर्णिमले पनि आफैँलाई ‘भावी अर्थमन्त्री’ भन्न भ्याएका छन् । बौद्धिकताका दृष्टिले यी दुवै कुरा ठगी र बेइज्जति हुन् । गगन थापाको छवि बौद्धिकताको नभएर व्यावसायिकताको भएको हुनाले उनलाई क्ष्यम्य छ । तर बौद्धिकताको सन्दर्भमा चाहिँ यस्तो कुरा क्ष्यम्य हुन सक्दैन ।

तथ्यमा स्वर्णिम वाग्ले व्याख्या गरिएका जस्ता बौद्धिक दाबेदार पनि होइनन् होला । उनी एसएलसी गरिसकेपछि पश्चिमा विश्वविद्यालयबाट डिग्रीधारी भएका बहुराष्ट्रिय कम्पनीका जागिरे १५/२० वर्ष विदेशतिरै थिए । तलब धेरै पाएर हुनसक्छ खुलेआम एमसीसीको दलाल (व्यवसायी) भएर नेपाल फर्केका हुन् । डा. सुरेन्द्र केसी, डा. सुरेन्द्र भण्डारी आदि इत्यादि प्राध्यापक वकिलसावहरूले पनि युट्युब, अनलाइनहरूमा विद्वान् भनिदिने गरेकाले मलाई पनि यसरी विद्वान सम्बोधन गर्नुपरेको हो । बौद्धिकताका दृष्टिले एमसीसीसँग नेपाल सरकारको हस्ताक्षर हुँदा अमेरिकाका तर्फबाट एमसीसीका दोस्रो तहका कर्मचारीले र नेपाल तर्फबाट अर्थमन्त्री (फुल)ले हस्ताक्षर गरेको पाउँदा त्यो नेपाली सार्वभौमिकता र स्वाभिमानको ठूलो अपमान बेइज्जति भएको थियो । नेपाल राष्ट्रको यो हदसम्मको बेइजति, अपमान र हेपेको होच्याएको दुर्भाग्यमा एमसीसीका सबै दलालहरू तैँ चुप मै चुप भएजस्तै स्वर्णिम वाग्ले पनि त्यस्तै मौनतामा भेटिएकाले यति तथ्य पाठ्यक्रममा ल्याउनु परेको हो ।

होइन भने जुन समय रवी लामिछानेलगायतका (सर्पको खुट्टा सर्पले मात्र देख्छ) १२ भाइ पत्रकारहरूले बुद्धिजीवी (बौद्धिक)को परिभाषामा राजावादी, माओवादी, कांग्रेसवादी, एमालेवादी हुँदा शेरबहादुरवादी, कमल थापावादीसम्म व्याख्या गरेर हल्ला मच्चाउन (प्रोपोगन्डा जोयवल्स शैली) थालेदेखि नै नेपालको सबैभन्दा ठूलो समस्या बौद्धिक खडेरी दरिद्रता रहेको लेख्दै र बोल्दै आएको हुँ । बौद्धिकता पनि कतै माओवादी, राजावादी, कांग्रेस—एमाले आदि इत्यादिवादी हुन्छ ? हुँदैन । बुद्धिजीवीले त राष्ट्रघात, जनघात, प्रणालीघात हुने देखेका कुरा आफूलाई घात र कष्ट पु-याएर भए पनि बताइदिनुपर्छ । जस्तो सुकरातले गरेका थिए । विषको प्याला पिएर भए पनि सत्य कुरा बोल्न देखाउन छोडेका थिएनन् । दोस्रो आजको बहुराष्ट्रिय कम्पनी र तस्कर, माफिया, बिचौलिया दलालहरूले आफ्नो साम्राज्य खडा गरेका विश्व अर्थतन्त्रमा कुनै पनि मुलुकले आफ्नो स्वतन्त्र मौलिक सोच, समझ, निष्ठाबेगर देशको उन्नति गर्छु भन्नु उही कविलाई चेतना, दासमानसिकताबाट माथि नउठेको प्रमाणित हुन मात्र हो । अब दासमानसिकता कविलाई चेतनामा बौद्धिकताको कुरो गर्नु (गुड्डी हाँक्नु) मदनकृष्ण हरिवंशले गाइजात्रा प्रदर्शन गरेर लोक हसाएँजस्तो मात्र हुन पुग्छ ।

स्तम्भ लेखनका हिसाबले विवरण लामो भइसकेकोले अत्यन्तै संक्षिप्तमा विगत बौद्धिक ठगी, बेइमानी या दासमानसिकताको एउटा टड्कारो उदाहरण पाठ्यक्रम अभिलेख गरेर भन्न खोजेको स्वर्णिम वाग्ले प्रसङ्गमा आउँछु ।

यो तथाकथित माओवादी (रगतपच्छे दुर्भाग्य)का अगाडि पुलिसले हारेको र सेना अगाडि सार्नुपर्ने बेला भएको भनेर १२ भाइलगायत पत्रकारजगत र डा. सुन्दरमणि दीक्षितलगायत नागरिक समाजका अगुवाहरूले ठूलो–ठूलो स्वरले आमजनका टाउको कान खाइरहेका बखतको कुरो हो । माओवादी संसद्वादीबीच वार्ता हुनु अनिवार्यजस्तो भयो । संसद्वादी तर्फबाट ठूलो बौद्धिक (अहिलेका स्वर्णिम वाग्लेको भन्दा धेरै माथि) मान्यता पाएका वामपन्थी खेमाबाट पद्मरत्न तुलाधर र प्रजातान्त्रिक खेमाबाट सभामुख समेत भइसकेका वरिष्ट वकिल दमननाथ ढुङ्गानालाई वार्ताका लागि खटाइयो । माओवादीतर्फबाट सायद डा. बाबुराम भट्टराई र कृष्णबहादुर महरा थिए । वार्ताका नाममा ढुङ्गाना र तुलाधरले पाँचतारे होटलमा सेमिनार र रोल्पा रुकुम हेलिकोप्टर यात्राको फुर्तीफार्ती उधुम मच्चाउन थाले । तर त्याहाँ त्यस्तो उधुम चर्तिकलाको कुनै काम थिएन । वार्ताको एउटै कुरो थियो, ‘कि त माओवादी ०४७ को संविधानभित्र आउनु पर्दथ्यो या संसद्वादी नयाँ संविधान ल्याउन तयार हुनु पर्दथ्यो । होइन भने लड्ने भिड्ने र हार्ने जित्नेभन्दा वार्ताको अर्को कुरो थिएन । तर बौद्धिक खडेरी स्वतन्त्र चिन्तनको दिवालिया दुर्भाग्यपूर्ण अध्याय के भने त्यतिखेर १२ भाइलगायत पत्रकार जगत र नागरिक समाजका अगुवा दाबेदार बनेका प्राडा, वकिलसावहरू, डाक्टरसावहरू कसैले पनि यो तथ्य जनसमक्ष ल्याएनन् । यस्तै अध्यायहरूलाई मैले दासमानसिकता कविलाई चेतना भन्ने गरेको हुँ ।

मैले स्वर्णिम वाग्लेको प्रसङ्गलाई ‘लास्ट उदाहरण’ किन भनेको भने उनले रवी लामिछानेलाई बीपी कोइरालासँग तुलना गरेका भेटिए । इतिहासको यो हदसम्मको अज्ञानताले आउने समयमा बौद्धिकताको दर्जा पाउनु सम्भव हुन्न । अस्तु– (दर्जनौँ पुस्तकका लेखक सुवेदीजी वरिष्ठ पत्रकार तथा अथक राजनीतिक योद्धा हुनुहुन्छ ।)


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया