Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगस्थानीय विकासका लागि पुँजीगत खर्च

स्थानीय विकासका लागि पुँजीगत खर्च


काठमाडौं । कुनै पनि देशको सर्वतोमुखी विकासका लागि स्थानीय विकासको अपरिहार्य आवश्यकता छ । जसका लागि स्थानीय निकायहरुको भूमिका महत्वपूर्ण छ ।

वस्तुतः स्थानीय तहहरुका महत्वपूर्ण पूर्वाधारहरुअन्तर्गत नगरपालिकाहरुमा सडक, आवास, ढल, खानेपानी तथा सरसफाइ, फोहोरमैला व्यवस्थापन पर्यटकीय पूर्वाधार, कृषि पूर्वाधार, पार्क, बिजुली, टेलिफोन, इन्टरनेट, विशेष आर्थिक क्षेत्र (सेज) आदि हुन् । यसैगरी गाउँपालिकाहरुका स्थानीय पूर्वाधारहरुमा सडक, कृषि सडक, गाउँपालिकाहरु जोड्ने सडक, आन्तरिक सडक सन्जाल, साना जलविद्युत्, टेलिफोन, इन्टरनेट, कृषि बजार, आदि हुन् । एकातर्फ उक्त पूर्वाधारहरुको निर्माण तीव्र गतिमा सम्पन्न गर्न आवश्यक छ भने अर्कोतर्फ यिनीहरुको नियमित सञ्चालनका लागि मर्मतसम्भार गर्न पनि उत्तिकै जरुरी छ ।

नेपाल संघीय शासन प्रणालीको अभ्यासमा अग्रसर भएपछि स्थानीय पूर्वाधारहरुको महत्व, यिनीहरुमा गरिने लगानी तथा आयोजनाहरु सञ्चालन र व्यवस्थापनमा स्थानीय तहहरुकोे भूमिका बढेको छ । वास्तवमा भन्ने हो भने उक्त तहहरुको प्रमुख कार्यसूची नै स्थानीय तहहरुको विकास हो ।

पन्ध्रौँ योजना तथा दिगो विकास लक्ष्य–२०३० लाई हासिल गर्ने ठूलो चुनौतीसहित नेपाल अगाडि बढिरहेको छ । परन्तु, उक्त लक्ष्य स्थानीय तहहरुमा प्राप्त नगरी यहाँको दिगो विकासको लक्ष्य हासिल गर्न सम्भव देखिँदैन ।

नेपालमा हाल झण्डै ६० प्रतिशत सहरीकरण भएको सन्दर्भमा यहाँका स्थानीय गाउँबस्ती पातलिँदै गएका छन् । जसको फलस्वरुप त्यहाँको उत्पादकत्व र सामाजिक तथा आर्थिक विकास अपेक्षाकृत हुनसकेको छैन ।

यहाँका गाउँबस्तीहरु छरिएर रहेका मात्र छैनन् । प्रत्येक वर्ष तीव्ररुपले बढिरहेको बसाइँसराइले पातलिएर उजाड हुने क्रममा छन् । यी बस्तीहरुलाई आबद्ध गर्ने पूर्वाधार विकास आयोजनाहरु मितव्ययी एवं उपलब्धिमूलक हुनसकेका छैनन् । यस्ता आयोजनाहरुको विकासमा स्थानीय जनताका असमान पहुँच रहेकाले आगामी दिनहरुमा दिगो विकासको लक्ष्य परिपूर्ति गर्न चुनौतीपूर्ण देखिन्छ । किनभने यहाँका स्थानीय तहका क्षमता सबल भएको छैन ।

विश्वव्यापी कोभिड–१९ को महामारीको कारण नेपाल सरकारले जनस्वास्थ्यको संवेदनशीलतालाई ध्यानमा राखी झण्डै चार महिनासम्म सम्पूर्ण देश नै बन्दाबन्दी गरेको थियो । जसको कारण यहाँको स्थानीय पूर्वाधार विकास कार्यक्रममा नकारात्मक प्रभाव परेको छ ।

निःसन्देह केही स्थानीय तहहरुले उक्त महामारीमा पनि केही पूर्वाधार आयोजनाहरु ल्याउन सफल भए । किन्तु, धेरैजसो स्थानीय तहहरुमा यस्ता आयोजनाहरुमा बढी पुँजीगत खर्च गर्नुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको छ ।

स्थानीय विकसका लागि पुँजीगत खर्चले महत्वपूर्ण भूमिका खेल्छ । विगतमा यहाँ उक्त खर्च बढ्ने क्रममा रहेकोमा कोभिड–१९ को महामारीको कारण विभिन्न ठाउँहरुमा राहत वितरण, क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन, आइसोलेसन व्यवस्थापन, स्वास्थ्य सामग्री तथा औषधि व्यवस्थापन, जनचेतना कार्यक्रमहरु सञ्चालन आदिमा सबै स्थानीय तहको जनशक्ति परिचालन गरियो । जसबाट स्थानीय विकासमा अवरोध खडा भयो ।

विगतमा कोभिड–१९ को महामारी धनी तथा गरिब राष्ट्रहरुमा एउटै गतिमा देखिए पनि यसलाई सामना गर्न सक्ने शक्ति भने फरक देखियो । किनभने विद्युतीय शासन प्रणालीमा बलियोसँग आबद्ध सम्पन्न राष्ट्रहरु उक्त महामारीबाट कम प्रभावित थिए । उक्त महामारीले यहाँका सबै स्थानीय तहहरुमा विद्युतीय सुशासन गर्नुपर्ने पाठ सिकाएको छ । तर यसका लागि सम्बन्धित पक्षको ध्यान आकृष्ट हुनुपरेको छ ।

हाल स्थानीय विकासका लागि निकै कम बजेट प्राप्त भएको छ । जसले गर्दा यहाँका पुनःरुत्थानमा खासै योगदान पुग्न सक्दैन ।

विगतमा भएको लामो बन्दाबन्दीले यहाँको साना तथा मझौला उद्योगहरु नराम्ररी प्रभावित भएकाले आगामी दिनहरुमा नयाँ व्यापारिक योजनासहित अगाडि बढ्नसक्ने उद्यमीहरुलाई थप प्राविधिक तथा आर्थिक सहयोगको आवश्यकता छ । जसका लागि प्रदेश र संघीय सरकारको सक्रिय सहयोगको आवश्यकता छ ।

विगतमा केही निर्माण व्यवसायीहरुले बन्दाबन्दी अवधि अगाडि भण्डारण गरेको निर्माण सामग्री प्रयोग गरी केही स्थानीय तहको पहलमा निर्माण सामग्रीहरुको थप आपूर्तिका व्यवस्था गरी निर्माण कार्यहरुलाई निरन्तरता दिएका थिए । तसर्थ, आगामी वर्षहरुमा स्थानीय पूर्वाधारका आयोजनाका खरिद व्यवस्थापन, निर्माण सामग्रीहरुको आपूर्ति शृङ्खला व्यवस्थापनसँगै निर्माण अनुगमन आदिमा सूचना प्रविधिको प्रभावकारी सम्भावना देखिन्छ । तर, यसका लागि सम्बन्धित पक्षको ध्यान आकृष्ट हुनुपरेको छ ।

यहाँका स्थानीय तहले सहरी तथा ग्रामीण बस्तीहरुको सघन एवं व्यवस्थित रुपमा विकास गर्न वैज्ञानिक तवरले प्रविधि र विकासका योजना कार्यान्वयन गर्नसके कुनै पनि किसिमका महामारी तथा प्रकोपबाट जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ । जसले स्थानीय जनतालाई कम प्रभावित पार्न पनि सघाउ पुग्नेछ । यसका लागि सबै स्थानीय तहहरुमा विशिष्टीकृत क्षमता विकासका कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।

विकास एक निरन्तर प्रक्रिया हो । त्यसैले स्थानीय विकासका लागि आगामी आर्थिक वर्षहरुमा रोजगारी तथा आयमूलक कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिन आवश्यक छ । यसका लागि स्थानीय आर्थिक विकासका रणनीतिक योजनाहरु आबद्ध गरी यथाशीघ्र सञ्चालन गर्न जरुरी छ ।

स्थानीय विकासका लागि एकातिर आन्तरिक उत्पादन बढाउन अति आवश्यक छ भने अर्कोतिर सेवा प्रवाह अभिवृद्धि गर्न पनि जरुरी छ । यसका लागि एकतर्फ आत्मनिर्भरता उन्मुख उत्पादनमा विशेष जोड दिन जरुरी छ भने अर्कोतर्फ निर्माण क्षेत्रमा कार्यरत कर्मचारी तथा मजदुरहरुलाई स्थानीय आवश्यकताअनुरुप व्यावहारिक तालिम दिन पनि उत्तिकै जरुरी छ । यसको परिपूर्तिका लागि स्थानीय सरकार तथा सम्बन्धित पक्षको ध्यान जान आवश्यक छ ।

वास्तवमा मितव्ययी एवं प्रभावकारी रुपमा स्वीकृत बस्ती विकासका आयोजनाहरुको कार्यान्वयन गर्नसके मात्र सीमित स्थानीय स्रोतसाधनहरुले अधिकतम जनसंख्या र खास गरी पिछडिएका क्षेत्र तथा वर्गका गुणस्तरीय स्थानीय पूर्वाधारहरुमा पहुँच सुनिश्चित गर्न सकिन्छ । यति मात्र नभई हरेक आर्थिक वर्षमा गरिने सञ्चालन खर्च (सवारी साधन र इन्धन समेतमा) धेरै प्रभाव पर्नेछ । स्थानीय विकासका लागि प्रत्येक स्थानीय तहको खर्च बढाउन नितान्त आवश्यक छ । किन्तु, केही वर्षयता धेरैजसो स्थानीय तहको खर्च गर्ने क्षमता घटेको छ ।

आर्थिक वर्ष २०७६।७७ मा खर्च गर्न नसकिएको रकम गएको तीन वर्षयताकै उच्च छ । यद्यपि बन्दाबन्दी खुलेपछि बाँकी अवधिमा केही खर्च भए पनि आवश्यक मात्रामा खर्च गर्न सकिएन । जसको कारण एकातिर विकासका कार्यहरु स्तरयुक्त हुन सकेनन् भने अर्कोतिर आवश्यक मात्रामा हुन सकेनन् ।

स्थानीय विकासका लागि पुँजीगत खर्च वृद्धि गर्न नितान्त आवश्यक छ । तर, आर्थिक वर्ष २०७३।७४ मा ११, २०७४।७५ मा १४.९ र २०७५।७६ मा १५.८ प्रतिशत मात्र पुँजीगत खर्च भयो । आर्थिक वर्ष २०७६।७७ को फागुनसम्म पुँजीगत खर्च २८.२ प्रतिशत पुग्यो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १२.३ प्रतिशत बढी छ ।

राष्ट्रिय योजना आयोगको सर्वेक्षण २०७७ अनुसार गत तीन आर्थिक वर्षमा प्रत्येक आठ महिनामा स्थानीय पुँजीगत खर्च १५ प्रतिशतभन्दा बढी हुन सकेन । जुन सन्तोषप्रद छैन ।

यथार्थतः पुँजीगत खर्च अपेक्षित रुपमा बढ्न नसक्नुमा विश्वव्यापी कोभिड–१९ को महामारीको नकारात्मक प्रभाव, प्राविधिक जनशक्तिको कमी, निर्माण व्यवसायीहरुबाट अपेक्षित विकास आयोजनाहरुको व्यवस्थापनमा ढिलासुस्ती भई कार्ययोजनाहरुको कार्यान्वयनमा अनुगमनको कमी आदि प्रमुख छन् । यीबाहेक स्थानीय तहहरुमा कर्मचारीहरुको समयमै समायोजन नहुनु र केही आयोजनाहरु आंशिक क्षमतामा मात्र कार्यान्वयनमा रहनु जस्ता कारणले पुँजीगत खर्च आशा गरेअनुरुप गर्न सकिएन । भविष्यमा उक्त कमी–कमजोरीहरु न्यूनीकरण गर्न सकेमात्र स्थानीय विकासले गति लिन सक्नेछ । यसको लागि सम्बन्धित पक्षको ध्यान यथाशिघ्र आकृष्ट हुनुपरेको छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया