Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिह्याचरी उद्योगलाई तङ्ग्रिन नै गाह्रो

ह्याचरी उद्योगलाई तङ्ग्रिन नै गाह्रो


बीरगञ्ज ।
कोरोना भाइरस (कोभिड–१९) महामारीले ह्याचरी उद्योग प्रभावित भएकोे छ । गत चैतदेखि साउनसम्म थला परेको स्वदेशी ह्याचरी उद्योग अझै लयमा आउन सकेको छैन । अहिले पनि निकै समस्याको सामना गर्नुपरेको ह्याचरी उद्योगीहरूले बताएका छन् । नेपालमा करिब तीन सय २० वटा ह्याचरी उद्योग सञ्चालनमा रहेको उद्योगीहरू बताउँछन् । न्यूनतम १० करोडदेखि अढाइ अर्ब रुपैयाँसम्मको उद्योगहरू अहिले सञ्चालनमा छन् ।

कोरोना महामारीको कारण लामो समय थलिएको ह्याचरी उद्योग अब भने केही तङ्ग्रिन थालेको तर समस्या धेरैै भएकाले अपेक्षित प्रगति हुन नसकेको ह्याचरी उद्योग संघका वरिष्ठ उपाध्यक्ष ऋषि पौडेल बताउँछन् । पौडेलका अनुसार ह्याचरी उद्योगले गत चैतदेखि साउनसम्म मासिक करिब एक करोड २० लाख चल्लाको दरले छ करोड चल्ला जमीनमुनि गाडेर नष्ट गर्नुपरेको थियो । सोही कारण ह्याचरी उद्योग ठूलो घाटामा गएको हो ।

‘पहिलेको अवस्थाभन्दा बिस्तारै ह्याचरी उद्योग तङ्ग्रिन थालेको छ’, उनले भने– ‘तर पर्याप्त मात्रामा विदेशबाट मगाइने माउ कुखुरा ल्याउन नसक्दा समस्या भइरहेको छ । पहिले ६० रुपैयाँमा पाइने माउ कुखुरा अहिले विमान चार्टर्ड गरी प्रतिकुखुरा दुई सय रुपैयाँमा ल्याउनुपरेको छ ।’ चितवनको एक उद्योगले थाइल्यान्डबाट बोइलर जातिको माउ कुखुरा (प्यारेन्ट्स) दुई सय रुपैयाँको दरमा एउटा विमान चार्टर्ड गरी २९ हजार प्यारेन्ट्स मगाएको छ । ह्याचरी उद्योगको पाकेट क्षेत्र चितवन मानिन्छ । चितवनपछि काठमाडौँ, पोखरा, विराटनगर, भैरहवा र वीरगञ्जमा पनि पछिल्लोपटक ह्याचरी उद्योगमा ठूलो लगानी थपिँदै गएको छ ।

हप्तामा ३० लाख चल्लाको नेपालमा खपत छ । कोरोना महामारीले प्यारेन्ट्स आयातमा समस्या देखिएपछि अधिकांश उद्योगले चल्ला उत्पादन घटाएको संघका वरिष्ठ उपाध्यक्ष पौडेल बताउँछन् । उनले भने– ‘चाहिएको मात्रामा चल्ला उत्पादन हुन सकिरहेको छैन ।’ कोभिडभन्दा पहिले प्रतिचल्ला ४० रुपैयाँमा बिक्री भइरहेको थियो भने अहिले केही उद्योगले चल्लाको मूल्य बोइलरको ६० रुपैयाँ र लेयर्सको एक सय रुपैयाँ तोकेको छ ।

लेयर्सको माउ कुखुरा मगाउँदा ५० प्रतिशत भाले र ५० प्रतिशत पोथी हुने भएकाले लेयर्स कुखुराका चल्लाको दाम सय रुपैयाँ तोकिएको हो । पोषक ब्रिडर्स प्रालि हटिया हेटौँडाका सञ्चालक राजेश रूँगटाका अनुसार युरोपमा कोरोनाको नयाँ संक्रमण देखा परेकोले अन्तर्राष्ट्रिय विमान सेवा ठप्प भएर उत्पादन कम भएको हो । उनले हाल चल्लाको उत्पादन विगतमा भन्दा ७५ प्रतिशत कटौती गरी २५ प्रतिशतमा झारिएको बताए ।

उनले भने– ‘पहिले हप्तामा ३० लाख चल्लाको खपत थियो तर हप्तामा ४५ लाख चल्ला उत्पादन भइरहेको थियो, अहिले माग र उत्पादन हप्तामा ३० लाख चल्लाको हाराहारीमा भएकोले मूल्यमा केही प्रतिशत वृद्धि भएको हो ।’ उनको उद्योगमा पहिले ४५ हजार बोइलरको प्यारेन्ट्स थियो भने अहिले ३० हजार मात्र छ । यसले चल्ला उत्पादनमा समस्या भइरहेको उनले बताए । बोइलर खासगरी थाइल्यान्ड, मलेसिया, फिलिपिन्स र अस्ट्रेलियाबाट मगाउने गरिन्छ भने लेयर्स जर्मनीबाट मगाउने गरिन्छ । तर कोरोना महामारीको कारणले उक्त मुलुकहरूबाट कुखुराको माउ मगाउन समस्या भइरहेको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया