Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘ताजा जनमत लिने प्रधानमन्त्री ओलीको कदमको तराईमा समर्थन बढ्दो छ’

‘ताजा जनमत लिने प्रधानमन्त्री ओलीको कदमको तराईमा समर्थन बढ्दो छ’

समाजवादीका केन्द्रीय सदस्य ओलीको नेकपामा


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते संघीय संसद्को प्रतिनिधिसभा विघटन भएपछि तराईमा सकारात्मक प्रभाव परेको छ । केही दिन मौन बसेका तराई क्षेत्रका नेताहरु चुनावप्रति सकारात्मक देखिन थालेका छन् । आफूलाई तराईको प्रमुख पार्टी भनेर दाबी गर्ने जनता समाजवादी पार्टी नेपालमा पनि निर्वाचनमा जाने पक्षमा बहुमत नेता र कार्यकर्ता देखिएको छन् भने उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलगायत मात्र निर्वाचनमा जान नहुने पक्षमा छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ । सर्वोच्चले प्रतिनिधिसभा विघटनलाई सदर गरे चाँडो र बदर गरेमा डेढ वर्षपछि निर्वाचन हुने पक्का छ । निर्वाचनबाट देशलाई थप स्थायीत्व र विकास दिनुपर्छ भनेर नेताहरु चुनावी माहौलमा लागेका छन् ।नेकपामा विवाद देखिएपछि केही दिन मौन बसेका नेकपाका नेताहरु धनुषाका रघुवीर महासेठ र रौतहटका प्रमुख साहलगायतका नेताहरु निर्वाचनको पक्षमा लागेर प्रधानमन्त्री ओली नेतृत्वको नेकपमा सक्रिय भएपछि तराईको माहौल नै परिवर्तन भएको छ ।

केही दिन अगाडि सिराहामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रममा देखिएको उपस्थितिले तराईमा ओलीको पक्षमा माहौल बन्दै गएको देखिएको छ । त्यसो त धनुषामा केही साता अगाडि भएको सभाको उपस्थितिले पनि जनमत निर्वाचन तर्फ लागेको प्रष्ट नै पारेको थियो । धनुषामा नेकपाका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतका नेताहरु सहभागी भएको सभामा उपस्थिति पनि ठूलै थियो ।

तराईमा आफ्ना कुराहरुको गलत प्रचार गरेर जनतालाई गलत सन्देश दिने काम भएको भन्दै प्रधानमन्त्री ओली त्यसलाई चिर्ने कोशिसमा छन् । प्रधानमन्त्री ओलीले तराईका विभिन्न अन्य दलका नेताहरुलाई नेकपामा प्रवेश गराउने कार्यलाई उच्च प्राथमिकता दिएका छन् । त्यसको संयोजन तराईकै नेताहरुले गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

पछिल्लो समयमा तराईको राजनीतिमा लामो सममयदेखि सक्रिय जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य डा. शिवजी यादव प्रधानमन्त्री ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । प्रधानमन्त्रीसँगको भेटपछि यादव नेकपामा प्रवेश गरेका हुन् । निर्वाचनले स्थिरता दिने र आफू विकास, शान्ख्ति र स्थिरताको पक्षमा रहेको कारण नेकपामा प्रवेश गरेको यादवले आर्थिक दैनिकसँगको कुराकानीको क्रममा बताए ।

‘सधैं आन्दोलन गरेर हामीले देश र युवा पुस्तालाई के दिने ?’, यादवले आर्थिक दैनिकसित भने, ‘राजनीतिक आन्दोलन अब सकियो । अब आर्थिक विकास र युवाहरुलाई उत्पादन कार्यमा जोडिएन भने तराई मात्र होइन नेपाल नै कंगाल हुन्छ । अब आन्दोलन गर्ने सहिद बनाउने पैसा बाँड्ने दिन सकिए । सबै शान्ति र विकासमा लाग्नुपर्छ । प्रधानमन्त्रीले ताजा जनमत लिएर सुरु भएका विकासलाई निरन्तरता दिने जुन प्रयास गर्नुभएको छ । त्यसबाट प्रभावित भएर म नेकपामा प्रवेश गरेको हुँ ।’

तपाई ओली नेतृत्वको नेकपामा प्रवेश गर्दा जनता समाजवादी पार्टीले विरोधमा जनतालाई उचाल्दैन भन्ने प्रश्नमा नेता यादवले उल्टै प्रश्न गरे, ‘उपेन्द्र यादवहरु ओली नेतृत्वको सरकारमा गएर रजाँइ गर्न हुने म चाहिँ अब नेकपाबाटै राजनीति गरेर देश र जनताका लागि योगदान दिन्छु भन्दा के गल्ती गरेँ ?’ उनले कसले के भन्छ भन्दा पनि आफू अब ओली नेतृत्वको पार्टीबाट निरन्तर राजनीतिमा सक्रिय हुने प्रष्ट पारे ।

‘अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गरे पनि बदर गरे पनि सबैले मान्नै पर्छ । सदर गरे पनि बदर गरे पनि दुई वर्षभित्रमा निर्वाचन भैसक्ने भएको कारण जनताले चाँडै स्थिरता पाउने उनको भनाइ छ । सर्वोच्चले विघटन सदर गरे आउँदो वैशाखमा र बदर गरे डेढ वर्षभित्रमा निर्वाचन घोषणा गर्नुपर्ने छ । त्यही भएर अब निर्वाचनबाट भाग्नेहरु कायर रहेको यादवको भनाइ छ ।

यादवलाई नेकपा प्रवेश गराउने पहल नेकपाको धनुषा काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष किरण कार्कीले पहिलादेखि नै प्रयास गरे पनि साइत भने नेकपा विभाजन भएपछि मात्र मिलेको हो । पार्टी प्रवेश गरेपछि आफू निक्रिय नबस्ने र धेरैभन्दा धेरै साथीहरुलाई पार्टी प्रवेश तथा निर्वाचनको महौल बनाउने कार्यमा सक्रिय रहने यादवको भनाइ छ । राजनीतिमा सक्रिय रहे पनि यादवलाई समाजवादी पार्टीभित्र पटकपटक पेल्ने काम भएको थियो । उनी समाजवादी पार्टीमा अनुशासन विभागका प्रमुखसमेत थिए ।

ओली नेतृत्वको सरकारले तराईको विकासको लागि प्रशस्त बजेट विनियोजन गरे पनि त्यसको समेत प्रचार भएको थिएन । अब जनताले कसको पालामा तराईको विकासका लागि कति बजेट आएको भन्ने थाहा पाईसकेको भन्दै उनले तराईका धेरै नेता तथा कार्यकर्ता ओली नेतृत्वको नेकपामा प्रवेश गरेर सक्रिय हुने दाबीसमेत गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया