Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपहिरोको त्रासमा लापीलाङका स्थानीय

पहिरोको त्रासमा लापीलाङका स्थानीय


दोलखा । जिल्लाको उत्तरी कालिञ्चोक गाउँपालिकाको एउटै वडाका सयभन्दा बढी घरपरिवार पहिरोको उच्च जोखिम रहेका छन् । गाउँपालिकाको वडा नम्बर ५ लापिलाङका स्थानीय पहिरोको उच्च जोखिम रहेको कालिञ्चोक गाउँपालिका अध्यक्ष विनकुमार थामीले बताए ।

थामिका अनुसार गाउँपालिकाको वडा नम्बर ५ का साथै १, ६ र ७ का नागरिक पनि पहिरोको उच्च जोखिम रहेका छन् । २०७२ सालमा गएको भूकम्पका कारण गाउँपालिकाको धेरै क्षेत्रको जमिन चिराचिरा परेर बसेको र सो जमिन बर्खामा लगातार पर्ने वर्षाको कारण पहिरो जाने गरेको अध्यक्ष थामीले बताए ।

गत वर्ष लापीलाङमा पहिरोले १० घर पुरेको थियो भने यस वर्ष पनि पहिरोले दुई घरलाई क्षति गरेको छ । त्यसैगरी कालिञ्चोककै वडा नम्बर १ र वडा नम्बर ६ मा १४ वटा घर पहिरोको उच्च जोखिम रहेको अध्यक्ष थामीले जानकारी दिए । गाउँपालिकाले गतवर्ष पहिरोले विस्थापित बनेका वडा नम्बर ५ का पहिरोपीडितलाई ५० हजारका दरले राहत दिदैँ नजिकको सुरक्षित विद्यालय र वडाको भवनमा सारेर राखेको थियो । अहिले पनि पहिरोको डरले सो वडाका दर्जनौं घरपरिवार विद्यालयमा बसेको उनले बताए ।

त्यसैगरी जिल्लाको गौरीशंकर गाउँपालिकाको वडा नम्बर १ जुँगुमा पहिरो दुई घर परिवारलाई विस्थापित बनाएको छ । यस्तै गाउँपालिकामा रहेको कोप्लाङ हाइड्रोपावरमा आंशिक क्षति गरेको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ । यता जिल्लाको भीमेश्वर नगरपालिकाको वडा नम्बर १, ३, ७ र ९ का विभिन्न बस्ती पनि पहिरोको उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् । पहिरोले जिल्लाका मुख्य तथा ग्रामीण सडक समेत दैनिक अबरुद्ध हुने गरेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया