Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयहिम्मत भए पत्रकारको सम्पत्ति छानबिन गर

हिम्मत भए पत्रकारको सम्पत्ति छानबिन गर


जब आफ्नो बेइमानी मिडियाले सार्वजनिक गर्छ, तब शक्तिको आडमा बेइमानी गर्नेहरुले पत्रकारको सम्पत्तिमाथि प्रश्न गर्ने गर्छन् । पत्रकारले ब्ल्याकमेल गरेर पैसा कमाएको आरोप सजिलै लगाउँछन् । यस्तो आरोप लगाउने व्यक्तिहरुमा प्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ कर्मचारी, समाजसेवाको नाममा धन्दा गर्नेहरु, पेशागत मर्यादामा नबस्ने जो कोही पनि हुन सक्छन् ।

केही दिनअघि भएको सत्तारुढ नेकपाको केन्द्रीय समितिको बैठकमा त प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले यति समूहसँगको कारोबारको विषयमा केन्द्रीय सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै आफू ब्ल्याकमेलरहरुको चक्करमा नफस्ने जवाफ दिए । मिडियाले यति समूहसँग ब्ल्याकमेलिङ गरेर समाचार छापेको संकेत गरे । तर उनले त्यस्ता ब्ल्याकमेलरहरु को–को हुन् भन्नेचाहिँ बताएनन् । भन्नचाहिँ पत्रकारहरुलाई ब्ल्याकमेलर भनेकै हो । त्यससँग सम्बन्धित मिडियाले प्रधानमन्त्रीको आरोपको बारेमा केही लेखेका छैनन् र मौन बसेर स्वीकारेको संकेत गरेका छन् ।

अहिलेका सञ्चारमन्त्री गोकुल बाँस्कोटा स्वयं पनि पूर्वपत्रकार हुन् । पत्रकार हुँदै उनले नरेफाँटमा जोडेको जग्गामा घर छँदै छ । उनले मन्त्री बनेपछि कुनै सम्पत्ति जोडेजस्तो लाग्दैन । जे जति सम्पत्ति छ, त्यो पत्रकार हुँदाको नै हो । पत्रकार हुँदा उनले कति दुःख गरेर पत्रिका निकालेका थिए, त्यो पनि थाहै छ । अहिले पत्रकारको सम्पत्ति छानबिन गर्ने हो भने छानबिनको सुरुवात उनी पत्रकार हुँदाको अवस्थाबाट गर्ने हो भने उनले नेपालको अहिलेको मिडियाको नामको अराजकतालाई सही बाटोमा ल्याउन सक्नेछन् । होइन भने यो अराजक मिडिया पहिला उनलाई फाल्न संगठित रुपमा लाग्नेछ । उनले आफैँबाट छानबिन सुरु गर्ने हो भने उनको छानबिनप्रति कसैले औँला ठड्याउन पाउनेछैनन् ।

अहिले मिडिया यसरी उम्लिएको देखाउन नपर्ने सम्पत्तिले हो । कसले कहाँबाट कसरी रकम संकलन गरेका छन् भन्ने सबैलाई थाहा छ तर आफूमाथि मिडिया खनिने डरले त्यसबारे कोही पनि बोल्न चाहँदैनन् । बोल्यो कि पोल्यो भनेजस्तो छ । मिडियाका नाममा लागूऔषध, नक्कली मुद्राको कारोबार, मानव तस्करी, अर्काको सम्पत्ति कब्जा जस्ता अनेकौँ धन्दा चलेका छन् । राष्ट्र बैंकमा भएको मिडियाको अवैध धन्दाको फाइल वर्षौँदेखि थन्किएका छन्, प्रहरीमा त्यस्तै छ । अदालतमा उस्तै छ । जहाँ मिडिया स्वच्छ हुँदैन, त्यहाँ उसले दिने समाचार निष्पक्ष हुँदैन ।

मिडियामा विदेशी लगानी भित्र्याउन नपाइने भनिए पनि विदेशी लगानीमा मिडिया चलेकै छन् । त्यसर्थ सञ्चारमन्त्री आफैँ उदाहरणीय रुपमा प्रस्तुत हुनुपर्छ र आफैँबाट छानबिन सुरु गराउनुपर्छ । त्यसो गर्दा नेपाली मिडियामा शुद्धता आउँछ । मिडिया र पत्रकारको शुद्धता र पवित्रताले समाजलाई शुद्धीकरण गर्न सहयोग गर्छ । पत्रकारहरुमाथि पनि न्याय हुनेछ । एकाध व्यक्तिले गरेको अपराधको आरोपको भारी सधैँ बोकेर हिँडिरहनुपर्दैन । तसर्थ, बलियो सरकारका सञ्चारमन्त्री बाँस्कोटाले हिम्मत भए पत्रकारको सम्पत्ति छानबिन गर्न खुट्टा कमाउनुहुँदैन । हिम्मत नभए बिनासित्ती आरोप लगाइरहन पनि पाइँदैन ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया