तरलता अभावको चाप बैंकहरुको अन्तरबैंक कारोबारमा
काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुमा लगानीयोग्य रकमको अभाव अर्थात् तरलता अभावको समस्या देखिएपछि यसको चाप बैंक तथा फाइनान्स कम्पनीहरुको बीचमा एक आपसमा हुने कारोबार अर्थात् अन्तरबैंक कारोबारमा देखिएको छ । सोही आधारमा गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा यस्तो कारोबार रकम दोब्बरभन्दा बढी अंकले बढेको छ ।
राष्ट्र बैंकका अनुसार नेपालमा हाल लघुवित्त वित्तीय संस्थाबाहेक २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहित ६१ वटा संस्थाहरु सञ्चालनमा छन् । यी संस्थाहरुले मात्र चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा कुल २५ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । यसमध्ये वाणिज्य बैंकहरुले मात्र २२ खर्ब ९९ अर्ब २२ करोड र विकास बैंक तथा फाइनान्स कम्पनीहरुले दुई खर्ब ६९ अर्ब ६८ करोड रुपैैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रले गरेको यो अन्तरबैंक कारोबार रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै तीन गुणाले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको आठ खर्ब ७५ अर्ब ५० करोड र अन्य वित्तीय संस्थाहरुले एक खर्ब ५९ अर्ब ४२ करोड गरी कुल १० खर्ब ३४ अर्ब ९२ करोड अन्तरबैंक कारोबार भएको थियो ।
राष्ट्र बैंकका अनुसार अन्तर बैंक कारोबार रकम बढेकै आधारमा २०७७ चैतमा ९१–दिने ट्रेजरी बिलको भारित औसत व्याजदर दुई दशमलव ७६ प्रतिशत रहेकोमा २०७८ चैतमा सात दशमलव ५८ प्रतिशत पुगेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत व्याजदर २०७७ चैतमा दुई दशमलव तीन प्रतिशत रहेकोमा २०७८ चैतमा छ दशमलव ९९ प्रतिशत कायम भएको छ । मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिइने भारित औसत अन्तर–बैंक अर्थात् बैंक तथा वित्तीय संस्थाबीचको व्याजदर २०७८ चैतमा सात प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो व्याजदर दुई दशमलव तीन प्रतिशत रहेको थियो । वाणिज्य बैंकहरुको औसत आधार दर भने २०७७ चैतमा छ दशमलव ९० प्रतिशत रहेकोमा २०७८ चैतमा नौ दशमलव १७ प्रतिशत कायम भएको छ । २०७८ चैतमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत व्याजदर सात दशमलव ११ प्रतिशत र कर्जाको भारित औसत व्याजदर १० दशमलव ७८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः चार दशमलव ७९ प्रतिशत र आठ दशमलव ६१ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
- एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित
- नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभूति गर्ने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया