चिनियाँ बन्दरगाह अनिश्चितकालका लागि बन्द विकल्पमा कलकत्ता बन्दरगाह
काठमाण्डौं,फागुन २२
नेपालले प्रयोग गर्न पाउने गरी गत जनवरी १ देखि कार्यान्वयनमा आएको चिनियाँ बन्दरगाह अनिश्चितकालका लागि बन्द भएको छ । चिनियाँ बन्दरगाह बन्द भएसँगै अब नेपालले भारतीय कलकत्ता बन्दरगाहमै भर पर्नुपर्नेछ । चीनको वुहानमा देखापरेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नरोकिएसँगै सातवटा बन्दरगाह प्रयोगको विषय अनिश्चित बनेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयकी उप–सचिव एवं सहायक प्रवक्ता उर्मिला केसीले चीनको बन्दरगाह प्रयोगको विषय अनिश्चित बनेको जानकारी दिइन् । ‘हामीले करिब डेढ महिना बन्दरगाह प्रयोग गर्न पाए पनि त्यसपछि भने बन्द रहेको छ’, उनले आर्थिक दैनिकसँग भनिन्, ‘अहिलको अवस्थामा बन्दरगाह खुल्ला गराउन सम्भव छैन । अझै कहिलेसम्म बन्द हुन्छ, त्यसको निश्चितता छैन ।’ नेपाल र चीनबीच भएको पारवहन तथा यातायात सम्झौताको कार्यविधि (प्रोटोकल) अनुसार चीनले नेपाली पक्षलाई उसको चारवटा सामुद्रिक र तीनवटा सुक्खा बन्दरगाह प्रयोग गर्न अनुमति प्रदान गरेको थियो । दुई देशबीच भएको सम्झौताअनुरुप नेपालले चीनको सेन्जेन, लियान्युगाङ, तियान्जिन, झ्याङीझ्याङ सामुद्रिक बन्दरगाह तथा ल्हासा, सिगात्से र लान्जाओ सुक्खा बन्दरगाह उपयोग गर्न पाउने भएको थियो ।
मन्त्रालयकी उप–सचिव पार्वती अर्यालले चीनले बन्दरगाह प्रयोगमा रोक लगाएको जानकारी नेपाल सरकारलाई गराइसकेको छ । फेब्रुअरी १४ मा चीनले बन्दरगाह प्रयोगमा रोक लगाउने प्रस्ताव नेपाली पक्षलाई पठाएको थियो । अर्यालले भनिन्, ‘यस विषयमा हामी सहमत भएका थियौं । कोरोनाको संक्रमणलाई लिएर चिनियाँ पक्षहरु गम्भीर भएको हुँदा नेपाली पक्षभन्दा पनि चीनले नै बन्दरगाह प्रयोगमा रोक लगाउने तयारी गरेको थियो ।’उनले चीनको बन्दरगाह प्रयोग गर्न नपाएसँगै त्यसको विकल्पको रुपमा भारतीय बन्दरगाह प्रयोग गरिएको बताइन् । ‘चीनको बन्दरगाह बन्द भएसँगै चीन हुँदै आयात हुने सामग्री भने भारतको बन्दरगाह प्रयोग गरी नेपाली पक्षले ल्याउने गरेका छन्’, उनले भनिन्, ‘तेस्रो मुलुक हुँदै चीनबाट ल्याइने सामग्री भारतस्थित कलकत्ता बन्दरगाहबाट नेपाल आउने गरेको छ ।’ चीनको बन्दरगाह प्रयोग गर्न नपाए पनि सामग्रीहरु भारतबाट निरन्तर आइरहेको उनको भनाइ छ । चीनबाट खाद्यन्न, लत्ता कपडा, फलाम, सवारीसाधन, विद्युतीय उपकरणलगायतका सामग्री नेपाल भित्रिने गरेको छ भने नेपालबाट कफी, चिया, अलैँची, जस्तापाता, धागो, कार्पोटलगायतका सामग्री निर्यात हुने गरेका छन् ।
चीनको बन्दरगाह प्रयोग गर्दा नेपाली व्यवसायीहरुले कोरिया, जापान, मंगोलिया, ताइवान, हङकङ लगायतका मुलुकबाट सामग्री ल्याउन सहज हुनेछ ।गत वर्षको असोज १५ भित्र सो सम्झौता कार्यान्वयन गर्ने भन्दै दुवै पक्ष सहमत भएका थिए । सोहीअनुरुप दुई देशबीच ल्हासा, बेइजिङपछि तेस्रोपटक काठमाडौंमा बसेको दुवै देशका प्रतिनिधिले प्रोटोकललाई अन्तिम रुप दिएको थियो । प्रोटोकलमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका तर्फबाट यातायातमन्त्री ली छियाङपेङले हस्ताक्षर गरेका थिए । सोही सहमतिअनुरुप जनवरी १ देखि नेपाली पक्षले बन्दरगाह प्रयोग गर्न पाउने निश्चित भएको थियो ।सदैव भारतको बन्दरगाहमा निर्भर रहेको नेपाली पक्ष चीनले बन्दरगाह प्रयोग गर्न पाएसँगै राहत प्राप्त भएको थियो । तर पछिल्लो परिस्थितिका कारण बन्दरगाह प्रयोग गर्न नपाउँदा नेपालको व्यापारमा असर पर्ने देखिन्छ । मन्त्रालयका अनुसार बन्दरगाह प्रयोगमा नआएसँगै नाकामा समेत समस्या हुने जनाएको छ । उपसचिव केसीले बन्दरगाह प्रयोगमा नआएसँगै चीनसँगका नाकामा समेत सामग्री ढुवानी प्रायः ठप्प भएको बताइन् । ‘बन्दरगाह मात्र होइन चीनसँगका नाकाहरु पनि ठप्प छ’, उनले भनिन्, ‘आजै मात्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चीनसँगको नाकामा कडाइ गर्न निर्देशन दिएको छ ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चीनसँगका नाकामा कडाइ गर्न मन्त्रालयलाई मौखिक निर्देशन दिएको जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया