Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगचिनियाँ पर्यटक बढ्ने आश

चिनियाँ पर्यटक बढ्ने आश


काठमाडौं । यही मार्च महिनाको १० तारिखका दिन चीन सरकारले आप्mना देशका नागरिकहरुलाई फेरि विश्वका विभिन्न ४० वटा देशमा पर्यटक भई घुम्न जानका लागि अनुमति दिएको छ । यसअघि सन् सन् २०२३ को जनवरी २७ मा चीन सरकारले पहिलो चरणमा विश्वका २० वटा देशमा चिनियाँ नागरिकहरुलाई पर्यटकका रुपमा भ्रमण गर्न जाने अनुमति दिएको थियो । सो अनुसार फेब्रुअरी ६ देखि चिनियाँ नागरिकहरु पर्यटक भई विश्व घुम्न जान थालेका छन् । दुःखको कुरो फेब्रुअरी ६ देखि चिनियाँ नागरिकहरु पर्यटकको रुपमा घुम्न पाउने २० वटा देशको सूचीमा नेपाल परेको थिएन । त्यसैले चीन सरकारले चिनियाँ नागरिकहरुलाई पर्यटक भई घुम्न जान अनुमति दिएका ४० वटा देशको सूचीमा नेपाल पनि पर्न सफल भएको छ । सो अवसरमा चीन सरकार मातहत रहेको संस्कृति तथा पर्यटन मन्त्रालयलाई धन्यवाद दिनुपर्छ ।

स्मरणीय छ, चीन सरकारले आफ्नो देशका नागरिकहरुलाई विदेशमा पर्यटक भई जान अनुमति दिएको पहिलो चरणको २० वटा देशको सूचीमा कम्बोडिया, इन्डानेसिया, लाओस, मलेसिया, माल्दिभ्स, फिलिपिन्स, श्रीलंका, थाईल्यान्ड, न्यु जिल्यान्ड, फिजी, संयुक्त अरब इमिरेट्स, इजिप्ट, केन्या, दक्षिण अफ्रिका, रुस, स्विट्जरल्यान्ड, हंगेरी, क्युबा र अर्जेन्टिना रहेका थिए भने हालै दोस्रो चरणमा चीन सरकारले आफ्नो देशका नागरिकहरुलाई विदेशमा पर्यटक भई जान अनुमति दिएको देशहरुमा नेपाल, भियतनाम, इरान, फ्रान्स, स्पेन, इटली, ग्रिस, ब्राजिललगायत पाँचै महादेशका देशहरु छन् । जबकि चिनियाँ पर्यटकहरुको प्रथम रोजाइका देशहरुमा चाहिँ दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, अमेरिकालगायत युरोपका केही देशहरु छन् । वास्तवमा दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, अमेरिकाबाहेक चिनियाँ नागरिकहरुका लागि फेमस डेस्टनेसनमा पर्ने देशहरु युरोपको फ्रान्स, इटली, जर्मनी, बेल्जियम, अष्ट्रिया, पोर्चुगल, नर्वे, मोनाको, मौरिसस, सिंगापुर, हङकङ, मकाउ, थाईल्यान्ड, माल्दिभ्स, मलेसिया, संयुक्त अरब इमिरेट्स, रुस, मंगोलिया, न्यु जिल्यान्ड, स्विट्जरल्यान्ड, क्यानडा, भियतनाम, कम्बोडिया, टर्की, इरान, रुस, चिली, उरुग्वेलगायत देशहरु छन् ।

जे होस्, पछिल्लोपटक चीन सरकारले चिनियाँ नागरिकहरुलाई पर्यटक भई घुम्न जान अनुमति दिएका ४० वटा देशको सूचीमा नेपालसहित ब्रुनाई, भियतनाम, मंगोलिया, इरान जोर्डन, तान्जानिया, नामिबिया, मौरिसस, जिम्बाबे, युगान्डा जाम्बिया, सेनेगल, कजाखस्तान, उज्बेकिस्तान, जर्जिया, अजरबैजान, आर्मेनिया, सर्बिया, क्रोसिया, फ्रान्स, ग्रिस, इटली, स्पेन, आईसल्यान्ड, अल्बानिया, डेनमार्क, स्लोभेनिया, पोर्चुगल, भानुआटु, टोंगा, सामोआ, ब्राजिल, चिली, उरुग्वे, पानामा, डोमिनिकन गणतन्त्र, एल साल्भाडोर, डोमिनिका, बहामास रहेको छ । सो अवसरमा चीन सरकार मातहत रहेको संस्कृति तथा पर्यटन मन्त्रालयलाई धन्यवाद दिनुपर्छ ।

चिनियाँ पर्यटन उद्योगसँग सम्बन्धित संस्था ‘चाइना आउटबाउन्ड टुरिज्म रिसर्च इन्स्टिच्युट (कोटरी) ले गरेको एक रिपोर्टमा उल्लेख भएअनुसार सन् २०१९ मा १५५ मिलियन चिनियाँ नागरिकहरु पर्यटक भएर विदेश घुम्न निक्लिएका थिए भने सन् २०२३ मा ११० मिलियन चिनियाँ नागरिकहरु पर्यटक भएर विदेश भ्रमणमा निक्लिने अनुमान गरिएको छ । त्यस्तै सन् २०१९ मा चिनियाँ पर्यटकहरुले विश्वका विभिन्न देश घुम्ने क्रममा २५४ दशमलव ६ बिलियन अमेरिकी डलर खर्च गरेका थिए । हुन पनि विगत केही वर्षदेखि धेरैभन्दा धेरै चिनियाँ नागरिकहरु पर्यटकका रुपमा विश्व भ्रमणमा निक्लिने र विश्वकै धेरै खर्च गर्ने पर्यटकमा दरिन थालेपछि आ–आफ्नो देशमा चिनियाँ पर्यटक भित्र्याउनका लागि विभिन्न देशले चिनियाँ पर्यटकका लागि अनेकखाले सहुलियत र आकर्षक ‘टुर प्याकेज’ ल्याउन थालेका थिए । जस्तो पूर्वी युरोपमा अवस्थित देश अल्बानियाले केही वर्ष अघिदेखि चिनियाँ पर्यटकलाई फ्रि भिसामा आफ्नो देश घुम्न दिने गरेको छ । उता ट्रिप डट कम, डाटा ग्रुपलाई उद्धृत गर्दै लेखिएअनुसार सन् २०२२ को डिसेम्बर अन्तिम ताका मात्रै २५४ प्रतिशतले चिनियाँ नागरिकहरुले अन्य देशको भ्रमणमा जानका लागि टिकट काटेका थिए । जसलाई धेरै राम्रो तथ्यांक मानिएको थियो ।

चीन सरकारले २००३ देखि मात्रै चिनियाँ नागरिकहरुलाई पर्यटकका रुपमा नेपाल आउने अनुमति दिएको हो । ता पनि सो वर्ष सात हजार पाँच सय ६२ जना चिनियाँ नागरिकहरु पर्यटकका रुपमा नेपाल भ्रमण गर्न आएका थिए । त्यसयता चिनियाँ पर्यटकको संख्या लगातार बढी थियो सन् २०१९ को कोभिड सुरु हुनु अघिसम्म । तर, गएको तीन वर्ष (सन् २०२०, २०२१ र २०२२ मा) भने चिनियाँ पर्यटक नगन्य मात्रामा मात्रै नेपाल भ्रमण गर्न आएका थिए । हामीले अबको केही वर्षपछि नै नेपाल आउने विदेशी पर्यटकको धेरै संख्या उत्तरको छिमेकी देशलाई बनाउने लक्ष्य लिनुपर्ने देखिन्छ । विगत केही वर्षदेखि विश्वभरिकै पहिलो नम्बर (धेरै संख्यामा पर्यटक भएर विदेश घुम्ने र प्रतिव्यक्ति दैनिक धेरै खर्च गर्ने) को रुपमा विदेश घुमिरहेका र, सबैभन्दा धेरै दैनिक खर्च गरी रहेका त्यही चिनियाँ पर्यटकहरु नेपाल भ्रमणमा चाहिँ किन कम संख्यामा आउँछन् ? उनीहरुले नेपालमा आउँदा किन कम खर्च गर्छन् ? यस प्रश्नको जवाफ हामी खोजनैपर्ने हुन्छ । त्यसैले विषयमा हामीले बेलैमा सोचेर सोहीअनुसार चिनियाँ पर्यटक भित्र्याउने नीति बनाउनुपर्ने देखिन्छ ।

हुन त चिनियाँ पर्यटकहरु किन छोटो अवधिका लागि मात्रै नेपाल आउने गरेका छन्, साथै किन नेपाल कम खर्च गर्ने खालका चिनियाँ पर्यटकहरुले मात्रै आप्mनो गन्तव्य नेपाललाई बनाई रहेका छन् ? यस सम्बन्धमा पनि हामीले गहिरो गरी अध्ययन गर्नुपर्नेे देखिन्छ । त्यसो त चिनियाँ पर्यटकहरु नेपाल आएपछि एकै जना व्यक्ति (पर्यटक) ले ट्रेकिङ, ¥याफ्टिङ, जंगल सफारी, बञ्जी जम्पिङ, बालुनिङ, प्याराग्लाइडिङ, साइक्लिङ, क्यानोइङ, कायाकिङ आदि गर्ने भएकाले चिनियाँ पर्यटकबाट नेपालका टुर अपरेटरहरुलाई आर्थिक रुपमा बढी फाइदा हुने गरेको देखिन्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया