सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी महिला
बझाङ । सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेकि छिन् । उनी साइपाल गाउँपालिका–४ धुलीकी पहिलो बझाङी महिला हुन् । छब्बीस वर्षीया उनले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गरिन् ।
बाल्यकालदेखि नै शिखर चढ्ने हिम्मत जुटाइरहेकी उनी गत महिना नै सगरमाथा क्षेत्र पुगेकी थिइन् । सगरमाथा क्षेत्रमा झण्डै एक महिना बसेर लक्ष्य प्राप्त गरेकी रोकायाले सुरुमा बेसक्याम्प पुगेर उचाइ पचाउनका क्याम्प–१ र २ मा तलमाथि गर्ने अभ्यास गरिन् । उनी यही जेठ २ गते राति क्याम्प–४ बाट शिखरतर्फ प्रस्थान गरेकी थिइन् । वर्षौँदेखि साँचेको सपना आँखै अगाडि देखेपछि उनका आँखा रसाए । “खै किन हो, चुचुरोमा पुग्नेबित्तिकै भक्कानो फुटेर आयो, धेरैबेरसम्म आँसु थाम्न सकिनँ”, उनी भन्छिन् । ‘छाउपडी प्रथा अन्त्य गरौँ”, भन्ने सन्देश लेखेको ब्यानरसँगै शिखरमा तस्बिर खिच्दा खुसीको सीमा नै नरहेको उनले सुनाइन् ।
वि.सं २०७५ कात्तिकमा पहिलोपटक रोकायाले अन्य चार जना बझाङी चेलीसँगै साइपाल हिमाल (सात हजार ३१ मिटर) आरोहणको प्रयास गरेकी थिइन् । टिममा स्पेन, इटाली, अमेरिकाका विख्यात आरोही पनि थिए । तर मौसम खराब र अप्ठेरो चट्टानका कारण उनीहरू साइपाल चढ्न सकेनन । साइपाल छुने प्रयास असफल भए पनि उनको हिमाल चढ्ने हुटहुटी भने बढ्दै गएको थियो ।
उनले भनिन् “साइपाल चढ्न नसके पनि सगरमाथा चढेर देखाउँछु भन्दा परिवारले समेत साथ दिएन”, उनी भन्छिन्, “सबैलाई मनाउन धेरै मेहनत गर्नुपर्यो ।” मध्यम आयस्रोत भएको परिवारकी सदस्य रोकायालाई सगरमाथा चढ्नभन्दा बढी दुःख खर्च जुटाउनमा लाग्यो । उनले भनिन्, “खर्चका लागि जिल्लाभरका पालिकादेखि विभिन्न सङ्घसंस्था धाए, कतिले सहयोग पनि गरे, तर अधिकांशले त पछि गरौँला भन्दै टारे ।”
शिक्षा र चेतनाका हिसाबले पनि पछाडि परेको साइपालमा छोरीलाई हिमाल चढ्न त्यति सहज थिएन । एड्भेन्चर कम्पनीलाई आधा रकम पछि तिर्ने शर्तमा सगरमाथा आरोहण गरेको उनले बताइन् । सगरमाथाको चुचुरोमा पुग्न करिब रु. २५ लाख खर्च लागेको उनले बताइन् ।
क्याटेगोरी : प्रदेश समाचार, सुदूरपश्चिम प्रदेश
ताजा अपडेट
- सेल्सवेरीका नयाँ दुई शाखा
- औद्योगिक जोखिम नियन्त्रण र प्रतिकार्य अभिमुखीकरण कार्यक्रम
- भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित
- सन् २०२६ महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा
- सम्मरीमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
- महेशपुर भन्सारको गोदाममै सड्यो करोडौँको चिनी
- अड्डाहरूका कवाडी सामान र लिलाममा उदासीनता
- सफल साक्षरताका आधार र सात ‘स’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया