Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषि‘सहकारीले नाफाभन्दा बढी उत्पादनमा जोड दिनुपर्छ’

‘सहकारीले नाफाभन्दा बढी उत्पादनमा जोड दिनुपर्छ’


काठमाडौं । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले सहकारी संस्थाहरूले ऋण लगानीलाई परिवर्तन गर्दै लैजानुपर्ने बताएका छन् । जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको ३०औँ साधारणसभाको उद्घाटन गर्दै मन्त्री लम्सालले सहकारी संस्थाले ऋण लगानी गर्दा उत्पादनमा जोड दिनुपर्ने बताए ।

सहकारीहरू धेरै नाफामुखी बन्न अनुत्पादक क्षेत्रमा लगानी गर्दा डुब्न पुगेको उनको भनाइ थियो । सहकारीले सीमित व्यक्तिलाई रोजगार दिनुभन्दा पनि अब सेयर सदस्यलाई आत्मनिर्भर बनाउनतर्फ उत्पादन क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा उनले जोड दिए । यस्तै, उनले सहकारी संघ संस्थाले एकीकृत पुँजी निर्माण गरेर निजी क्षेत्रमा लगानी वृद्धि गर्दै रोजगार वृद्धि गर्नुपर्ने बताए । कार्यक्रममा संस्थाका अध्यक्ष हेमन्त चौलागाईंले संस्थाको हालसम्मको प्रगति विवरण सार्वजनिक गरेका थिए । संस्थाको आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म कुल सम्पत्ति तथा दायित्व दुई अर्ब २५ करोड ६० लाख रुपैयाँ पुगेको छ । यस अवधिमा संस्थाको सेयर पुँजी १६ करोड ६७ लाख रुपैयाँ छ भने कुल बचत निक्षेप एक अर्ब ६३ करोड नौ लाख रुपैयाँ रहेको छ ।

यस्तै, संस्थाको जगेडा तथा अन्य कोषमा २१ करोड ९३ लाख रुपैयाँ रहेको छ । संस्थाले कुल एक अर्ब ८२ करोड २७ लाख रुपैयाँ ऋण लगानी गरेको छ । यस्तै, संस्थाको आम्दानी छ दशलमव २० प्रतिशतले वृद्धि भएको अध्यक्ष चौलागाईंले बताए । संस्थाको कुल आम्दानी २६ करोड ७१ लाख रुपैयाँ पुगेको छ । यस्तै, खर्च भने १२ दशमलव सात प्रतिशतले वृद्धि भएको छ । सहकारीको विभिन्न शीर्षकमा २४ करोड ८५ लाख ५३ हजार पाँच सय ७६ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । सहकारी संस्थामा २७ हजार छ सय आठ जना सेयर सदस्य र १० हजार तीन सय ३५ जना बाल सदस्य रहेका छन् । साधारणसभाको अवसरमा संस्थाले सेयर सदस्यलाई सम्मान गर्नुका साथै जेष्ठ सदस्यलाई स्टिलको लौरो वितरण गरेको थियो ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #page 20

तपाईको प्रतिक्रिया