Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिविदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन

विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन


गलकोट (बागलुङ) । बागलुङको बडिगाड गाउँपालिका–१ दगा निवासी मतिलाल वन सात वर्षअघि विदेशको राम्रो जागिर छाडेर नेपालमै पशु तथा मौरीपालनमा लागेका छन् । उनले सात वर्षअघि रु. १० लाख लागतमा बाख्रापालन थालेका थिए ।

भारतमा पुगेर बजारीकरण विषयमा स्नातकोत्तर पास गरेका उनी बजारीकरण क्षेत्रबाटै मलेसियासमेत पुगेका थिए । जागिरभन्दा उद्यममा सम्भावना देखेका वनले बाख्रा र मौरीपालनबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् ।

धर्मराज बाख्रा फार्म र पुष्पा मौरी फार्म गरी दुई वटा नाममा फार्म सञ्चालन गर्दै आएका उनको बाख्रा फार्मममा एक सय ५० बाख्रा, बोका र पाठापाठी रहेका छन् भने ६० वटा मौरीका घार रहेका छन् ।

मौरीपालन र बाख्रा फार्म दर्ता गरेर दुई फार्मको मालिक बन्न सफल भएको जनाउँदै उनले वार्षिक रु. छदेखि आठ लाखसम्म बचत गर्न सफल भएको बताए । पढेलेखेकाभन्दा नपढेकाले मात्रै गर्ने कृषि पेसालाई विस्तारै पढेलेखेकाले अगाल्दा बढी सफल हुने उनको भनाइ छ ।

उनले भने, “बाख्रापालन व्यवसायभन्दा मौरीपालनबाट धेरै आम्दानी गर्न सकिने अनुभव सँगालेको छु, अहिले बाख्राबाट आफ्नो मेहनतसहित २० देखि ३० प्रतिशत र मौरीपालनबाट ६० प्रतिशत खुद नाफा गर्न सकिने रहेछ ।”

हाल पूर्वाधार, खोर, मौरीका घार र बाख्रासहित झण्डै रु. ६० लाखको पुँजी जम्मा भएको उनको भनाइ छ । कमाइ भएको केही प्रतिशत पुँजी वृद्धिमा हाल्दै आएको र अन्य रकम बचत गर्ने गरेको वनले बताए ।

उनले रु. १० लाख लगानी गरेको खोरमा रु. पाँच लाख राज्यले दिँदा आफ्नो लगानी उठाउन धेरै समय लागेको जानकारी दिँदै असली किसानलाई शतप्रतिशत अनुदान दिनुपर्ने बताए । राज्यले अनुदान दिने नीति सुधार्न आवश्यक रहेको जनाउँदै वनले ५० प्रतिशत अनुदानले किसान झनै समस्यामा परेको बताए ।

उनले नेपाल सरकारबाट शून्य ब्याजदरमा रु. १५ लाख ऋण ल्याएको जनाउँदै उक्त ऋणले आफूलाई ठूलो राहत पुगेको बताए । अहिले वनको फार्ममा यती सेरेना जातको मौरी रहेका छन् भने खरीजात, जमुनापारी, बोयर क्रसजातका बाख्रा रहेका छन् ।

उत्पादन भएको मौरी र बोकालाई बजारको अभाव भने नभएको उनले बताए । उनले मौरीको महलाई प्रतिकिलो रु. एक हजार दुई सयमा बिक्री गर्दै आएका छन् । वनको फार्ममा बाबा, आमा, श्रीमतीले समेत सहयोग गरिरहेका छन् । बाख्रापालनका लागि स्थानीय घाँस एक सय रोपनीमा रहेको छ भने ३० रोपनी जग्गामा आधुनिक प्रजातिको घाँसखेती गरिएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया