Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिमिलिजुली कालिञ्चोक साकोस आफ्नै भवनमा

मिलिजुली कालिञ्चोक साकोस आफ्नै भवनमा


काठमाडौं । दोलखाको सदरमुकाम चरिकोटमा रहेकोे मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवन निर्माण सम्पन्न गरेको छ । भीमेश्वर नगरपालिका ६ स्थित बीचबजार नवनिर्मित भवनको आइतबार संस्थाको ३०औँ साधारणसभाको अवसर पारेर उद्घाटन गरिएको छ ।

राष्ट्रिय सहकारी महासंघका केन्द्रीय अध्यक्ष मिनराज कँडेलले एक समारोहबीच नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । कार्यक्रममा अध्यक्ष कँडेलले दोलखा जिल्लालाई चिनाउन यहाँका धार्मिक तथा प्राकृतिक सम्पदासँगै सहकारी क्षेत्रले पनि सहयोग गरेको बताए । धेरै मानिस यस जिल्लाको सहकारी अवलोकन गर्न पनि आउने गरेको उनको भनाइ छ । कार्यक्रममा उनले सहकारीले सीमित कर्मचारीलाई रोजगार दिनुभन्दा पनि सेयर सदस्यलाई पनि आत्मनिर्भर बनाउनतर्फ लगानी वृद्धि गुर्नपर्नेमा जोड दिए । यहाँका सहकारी संघसंस्थाले एकीकृत पुँजी निर्माण गरेर निजी क्षेत्रमा लगानी वृद्धि गर्दै रोजगार वृद्धि गर्नुपर्ने उनको भनाइ थियो ।

पछिल्लो समय केही सहकारीको कारण सिङ्गो सहकारी क्षेत्रमा नकारात्मक टिप्पणी आउन थालेको उल्लेख गर्दै उनले यहाँका सहकारीहरू नाफामुखी नभई सदस्यको हकहितमा केन्द्रित बन्नुपर्नेमा जोड दिए । २०५० साल भदौ ७ गते स्थापना भएको मिलिजुली कालिञ्चोक साकोस दोलखाको पुरानो र उत्कृष्ट सहकारीमध्येमा पर्छ । नवनिर्मित भवनमा सुविधाजनक हल, व्यवस्थित कार्यालयलगायतको सुविधा रहेको छ । २०७५ सालमा शिलान्यास गरिएको उक्त भवन एक रोपनी चार आना जग्गामा निर्माण गरिएको हो । भवन निर्माणमा हालसम्म पाँच करोड ६२ लाख खर्च भइसकेको मिलिजुली कालिञ्चोक साकोसका निवर्तमान अध्यक्ष नारायणबहादुर श्रेष्ठले बताए । आर्थिक वर्ष २०७९÷८० मा सहकारीको कुल पुँजी एक अर्ब २६ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

यसैबीच साकोसको आगामी चार वर्षका लागि सर्वसम्मत नयाँ नेतृत्व समेत चयन गरिएको छ । साधारणसभाले कृष्णबहादुर गौतमको अध्यक्षयता १९ सदस्यीय नयाँ सञ्चालक समिति र नारायणप्रसाद सापकोटाको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति सर्वसम्मत चयन गरेको हो । यस्तै, संस्थाले साधारणसभाको अवसरमा विभिन्न विधामा सेयर सदस्य, बाल बचतकर्तालगायतलाई सम्मान गरेको छ ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया