Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकला / संस्कृतिजलरङ महोत्सवमा ३९ देशका तीन सयभन्दा बढी कलाकृति सहभागी हुँदै

जलरङ महोत्सवमा ३९ देशका तीन सयभन्दा बढी कलाकृति सहभागी हुँदै


काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सवमा ३९ देशका कलाकार सहभागी हुने भएका छन् । अन्तर्राष्ट्रिय जलरङ समाज नेपाल (आइडब्लुएस) नेपालका अनुसार नेपालमा यही मंसिरमा हुन लागेको पाँच दिने सो महोत्सवमा आजसम्म ३९ देशका तीन सयभन्दा बढी कलाकृति समावेश हुने निश्चित भएको हो ।

महोत्सव यही मंसिर १६ गतेदेखि २० गतेसम्म हुने छ । कार्यक्रम उपत्यका र आसपास जिल्लामा केन्द्रित हुनेछ । समाजका अध्यक्ष एनवी गुरुङले अहिले कलाकारबाट कलाकृति आउनेक्रम अन्तिम चरणमा पुगेको जानकारी गराउँदै यति धेरै देशबाट कलाकृति सहभागी भएर कला प्रदर्शनका साथै प्रदर्शन गर्न लागिएको कला क्षेत्रको यो ठूलो कार्यक्रम भएको दाबी गरे ।

उनले झण्डै १३ देखि १४ लाख खर्च हुने अनुमान गरिएको जलरङ महोत्सव अन्तरगत काठमाडौँ, ललितपुर र भक्तपुरका सम्पदा क्षेत्रमा गएर कला कार्यशालासमेत हुने जानकारी दिए । उद्घाटनको दिन मंसिर १६ गते नेपाल कला परिषद्मा विश्वबाट सहभागी भएका कला सिर्जनाको प्रदर्शनीका साथै मास्टर कलाकारबाट ‘लाइभ डेमोस्ट्रेसन’समेत हुनेछ । त्यहाँ नेपाली कलाकारले विश्वको कला सिर्जनासम्बन्धी प्रविधि चिन्न र जान्न सकिने उनले बताए ।

महोत्सवअन्तरगत नगरकोटमा सूर्योदय र सूर्यास्तको दृष्यावलोकन गराएर कला सिर्जना गर्ने योजनासमेत रहेको छ । कलाकारलाई सम्मान तथा पुरस्कारसमेत हुने छ । काठमाडौँ दरबार स्क्वायर, ललितपुरको दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, स्वयम्भूलाई फोकस गरेरै कला सिर्जना हुने अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका संस्थापक सदस्य डिबी राईले बताए ।

उनले धेरै कलाकारले काठमाडौँको सम्पदा क्षेत्रका चित्रहरु जलरङबाट सिर्जना गर्ने भएकाले पर्यटन प्रवद्र्धनमा पनि ठूलो सहयोग पुग्ने बताए । यसपाली भारत, बङ्गलादेश, अष्ट्रिया, भियतनाम, म्यान्मार, थाइल्याण्डलगायत देशबाट कलाकार प्रत्यक्ष सहभागी हुने जानकारी आइसकेको र अन्य देशका कलाकार पनि सहभागी हुँदैछन् ।

यसअघि समाजले महोत्सवकै रुपमा लुम्बिनी, पोखरा, काठमाडौँलगायत विभन्नि क्षेत्रमा यसैगरी कला महोत्सव गरिसकिएको छ । अध्यक्ष गुरुङले भने, ‘जसका कारण जलरङमप्रति आकर्षण बढेको छ, अरु मिडियममा काम गर्ने कलाकार पनि वाटरकलरमा काम गरिरहेको देखिएको छ । हामीले गरेको नै त्यही हो । ‘वाटर कलरिष्ट’को सहभागिता बढाउने भन्ने हो । राम्रो काम देखिनुपर्छ भन्ने हो । हामीले सोचेको काम भइरहेको छ । सन्तोषजनक छ ।’ उक्त कार्यक्रममा सहभागी हुन कला पारखीलाई अनुरोधसमेत गरिएको राससले जनाएको छ ।


क्याटेगोरी : कला / संस्कृति

तपाईको प्रतिक्रिया