Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहिमालय एयरलाइन्सलाई आयोसा सर्टिफिकेट

हिमालय एयरलाइन्सलाई आयोसा सर्टिफिकेट


काठमाडौं । हिमालय एयरलाइन्सले ‘आयोसा’ प्रमाणपत्र प्राप्त गरेको छ । उड्डयन क्षेत्रको सुरक्षा मापदण्ड सुदृढीकरणमा गरेको पहलकदमीस्वरूप एयरलाइन्स आयोसामा दर्ता हुने पहिलो नेपाली वायुसेवा कम्पनी बनेको छ ।

गत डिसेम्बर २८ मा अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटीए)ले सन् २०२५ मार्च तीनसम्म मान्य हुने गरी आयोसा प्रमाणीकरण गरेको कम्पनीले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । योसँगै हिमालय एयरलाइन्स विश्वका विमान कम्पनीसरह सुरक्षा मापदण्ड कायम गर्ने विमान कम्पनीका रूपमा दर्ज भएको छ । सम्मेलनमा कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले आयोसामा दर्ता भएको उपलब्धि विमान कम्पनीको मात्रै नभई मुलुक र उड्डयन क्षेत्रको उपलब्धि भएको बताए । ‘यो उपलब्धिले नेपालको उड्डयन उद्योगमा सकारात्मक परिवर्तनको संकेत गर्छ’, उनले भने, ‘हवाई सुरक्षामा नयाँ आयाम स्थापित गर्दै यस क्षेत्रको उदाहरणका रूपमा नेतृत्व गर्न पाउँदा हामीलाई गर्व लागेको छ ।’

यस प्रमाणीकरणले उच्च सुरक्षा मापदण्ड कायम राख्नका लागि कम्पनीको निरन्तर प्रयासलाई मात्र प्रमाणित गर्ने नभई विश्वव्यापी उड्डयन समुदायमा एक विश्वसनीय वायुसेवा कम्पनीका रूपमा समेत स्थान दिने उपाध्यक्ष श्रेष्ठले बताए । आगामी वर्षहरूमा पनि यस उपलब्धिलाई कायम राख्न कम्पनी प्रतिबद्ध रहेको उनले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणको उड्डयन सुरक्षा तथा सुरक्षा नियमन निर्देशनालयका उपमहानिर्देशक नविना कर्माचार्यले हिमालय एयरलाइन्सको उपलब्धि मुलुकका लागि गौरवको विषय भएको बताइन् । उनले भनिन्, ‘हिमालय एयरलाइन्स्को यो उपलब्धिले निश्चितरूपमा यात्रुहरूको विश्वासलाई सुदृढ गर्न तथा देशमा हवाई यात्राको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउँछ ।’

सन् २०१४ मा स्थापना भएको हिमालय एयरलाइन्सले हाल चार थान विमान तीन एयरबस ३२०–२१४ र एक एयरबस ३१९–१४४ मार्फत मध्यपूर्व र दक्षिण एसियाका प्रमुख राष्ट्रहरू संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनका पाँच सहरहरु बेइजिङ, छिङदाओ, सांघाई, चोङकिङ र ल्हासामा उडान गर्दै आएको छ । हिमालय एयरलाइन्स नेपाल–चीन संयुक्त लगानीमा रहेको निजी क्षेत्रको हवाई कम्पनी हो । यो उपलब्धिलाई हिमालय एयरलाइन्सले उड्डयन क्षेत्रको कोशेढुङ्गाको रूपमा लिएको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया