Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिन माग

सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिन माग


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा आयात हुने वस्तुहरूको भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिन सरकारसँग माग गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको पदाधिकारी टोलीले नवनियुक्त अर्थमन्त्री पुनलाई भेटी भन्सारमा कारोबार मूल्यलाई मान्यता दिन माग गरेको हो ।

यस्तै, नेपाली वस्तुको निर्यात प्रवर्द्धन गर्नका लागि भन्सार नाकाहरूमा उच्चस्तरीय क्वारेन्टिन ल्याब स्थापना गर्न पनि आग्रह गरिएको छ । साथै, चेम्बरले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत खर्चमा वृद्धि, भन्सार प्रशासन सुधार, निर्यात प्रवर्द्धनलगायतका विषयमा अर्थमन्त्री पुन समक्ष १७ बुँदे सुझाव समेत पेस गरेको छ । अर्थतन्त्रको अवस्था हाल शिथिलताबाटै गुज्रिरहेको भन्दै चेम्बरले पुँजीगत खर्चमा वृद्धि, उत्पादन तथा रोजगारी सिर्जना गर्नेगरी नीतिगत व्यवस्था गर्न नवनियुक्त अर्थमन्त्री पुनको ध्यानाकर्षण गराएको हो । चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बजारमा लगानीयोग्य रकम अधिक तरलता भएर पनि लगानी आकर्षण हुन सकेको छैन, पुँजी चलायमान एवम् आर्थिक गतिविधि विस्तार गर्ने खालको आगामी बजेट ल्याउन आवश्यक छ, उत्पादन वृद्धिमार्फत निर्यात प्रवर्द्धन एवम् रोजगारी सिर्जना गर्ने बजेट अबको प्राथमिकतामा हुनुपर्छ ।’

नेपालमा सूचना प्रविधिसँग सम्बन्धित बहुराष्ट्रिय कम्पनीहरूलाई आकर्षण गर्न सकिए आईटीका युवाहरूले रोजगारी प्राप्त गर्न सक्ने र यसले अर्थतन्त्रमा पनि टेवा पुग्ने चेम्बरले उल्लेख गरेको छ । मुलुकमा आईटी पार्क निर्माणका लागि सहजरूपमा जग्गा उपलब्ध गराउन र परियोजना सञ्चालनका लागि कर छुटलगायत अन्य सुविधा उपलब्ध गराउन पनि चेम्बरले सुझाव दिएको छ । मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागू गरी आमउपभोग्य वस्तु र विलासिताका वस्तुहरूमा फरक दर कायम गर्न पनि आग्रह गरिएको छ । यस्तै, घरजग्गा कारोबारमा जाने कर्जा प्रवाहमा धितो मूल्याङ्कनको ५० प्रतिशत प्रदान गर्ने व्यवस्थालाई संशोधन गरी ७० प्रतिशत पुर्याउन पनि चेम्बरले सुझाव दिएको छ ।

निजी क्षेत्रको मनोबल उकास्नका लागि लगानीको सहज वातावरण बनाउनुपर्ने चेम्बरको जोड छ । अन्तर्राष्ट्रिय लगानीको पूर्वसन्ध्यामा आवश्यक कानुनहरू समेत संशोधन गर्नुपर्ने चेम्बर अध्यक्ष मल्लले बताए । चेम्बर पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पुनले निजी क्षेत्रको मनोबल खस्किन नदिने गरी काम गर्ने सरकारको नीति रहेको बताए । उनले भने, ‘अर्थतन्त्र शिथिलताबाट गुज्रिरहेको छ, यस्तो अवस्थामा निजी क्षेत्रलाई सँगै लिएर जान प्रधानमन्त्रीको पनि निर्देशन छ, सोहीअनुसार वातावरण बनाउने मेरो प्रयत्न रहनेछ ।’


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, बिबिध
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया