Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहिला नेतृत्व कृषि सम्मेलन चितवनमा हुने

महिला नेतृत्व कृषि सम्मेलन चितवनमा हुने


काठमाडौं । नेपाल उद्योग परिसंघअन्तर्गतको महिला नेतृत्व फोरम (सीएनआईडब्लुएलएफ)को आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन २०२४ हुने भएको छ । यही चैत १७ र १८ गते चितवनमा सो सम्मेलन हुने भएको हो ।

नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भरतपुर महानगरपालिका, चितवन उद्योग संघसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । कृषिको रूपान्तरणकारी भविष्यः कृषिमा आधारित व्यवसायमा नवप्रवर्द्धन, दीगोपन र उद्यमशीलता भन्ने मूल नाराका साथ आयोजना हुन लागेको कृषि सम्मेलनको मुख्य उद्देश्य कृषिमा महिला उद्यमशीलताको प्रवर्द्धन गर्नु रहेको छ । सम्मेलनमा कृषिमा नवप्रवर्द्धन, दीगोपन र उद्यमशीलतामा महिलाको सहभागिता तथा नेतृत्वका विषय, कृषि यान्त्रीकरण, नेपालको माटो सुहाउँदो कृषि विकास, दिगो कृषि विकासका लागि कृषक महिलाका सवाल, महिलाको कृषिमा संलग्लताको सम्मान र उद्यमशीलताका लागि लिइनुपर्ने आवश्यक कदमका विषयमा गहन छलफल हुने परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए ।

उत्पादनमूलक एवम् सेवामूलक उद्योगहरूको प्रतिनिधिमूलक संस्था परिसंघले महिला नेतृत्व फोरममार्फत महिला उद्यमीहरूको सशक्तीकरण तथा प्रवर्द्धनका समेत काम गर्दै आएको छ । फोरमले समावेशी, सशक्तीकरण र समन्वयात्मक बललाई उच्च प्राथमिकता राख्दै कृषिमा महिलाहरूलाई प्रोत्साहन, उनीहरूका समस्या तथा समाधानका उपाय, कृषि अर्थतन्त्रमा महिलाको योगदानको कदर गरिनुपर्ने आवश्यकताको बोधसहित यो सम्मेलनलाई महिला उद्यमशीलता र कृषिमा केन्द्रित गरिएको हो । सम्मेलनपछि कृषिका विद्यमान समस्या, चुनौती तथा अवसर पहिल्याउँदै कृषि क्षेत्रमा महिला कृषकहरूलाई अगाडि बढाउन लिइनुपर्ने नीतिगत व्यवस्थाका विषयमा नेपाल सरकारलाई सुझावहरू पेस गरिने महिला नेतृत्व फोरम सभापति छाया शर्माले जानकारी दिइन् ।

सम्मेलनअन्तर्गत चितवन भरतपुरस्थित प्रदर्शनी केन्द्रमा महिला कृषि उद्यमीका उत्पादन तथा कृषिसँग सम्बन्धित प्रविधिहरूको प्रदर्शनी समेत गरिनेछ । सम्मेलनको उद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले गर्ने कार्यक्रम रहेको छ । सम्मेलनको सहयोगी संस्थाहरूमा युएसएड, हेफर, एफएओ, मुक्तिनाथ कृषि कम्पनी, नबिल बैंक, ग्लोबल आइएमई बैंक, एग्री नेपाल, शिखर इन्स्योेरेन्स रहेका छन् । परिसंघको महिला नेतृत्व फोरमले गत वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन सम्पन्न गरेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, बिबिध
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया