Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदैलेख खण्डको सडक जेठभित्र सम्पन्न हुने

दैलेख खण्डको सडक जेठभित्र सम्पन्न हुने


दैलेख । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत दैलेख खण्डमा कालोपत्रको काम आगामी जेठभित्र सम्पन्न हुने तयारीमा छ । करिब एक सय २२ किलोमिटरको उक्त खण्ड जेठभित्र सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको हो ।

सडक पूरै कालोपत्र भइसकेपछि स्थानीय उत्पादनले सहजै बजार पाउनेछन् भने स्थानीयस्तरमा रोजगारीका अवसरहरू सिर्जना हुनेमा स्थानीयले आशा गरेका छन् । यस खण्डलाई दैलेखको भाग्य र भविष्य परिवर्तन गर्ने महत्वपूर्ण आयोजनाका रूपमा लिइएको छ । पुष्पलाल मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने दैलेख खण्डको एक सय २५ किमीमध्ये एक सय २२ किमी खण्ड कालोपत्र आगामी जेठभित्र सम्पन्न गर्नेगरी काम भइरहेको मध्यपहाडी सडक आयोजना प्रमुख कुशलता न्यौपानेले जानकारी दिइन् । उनका अनुसार बाँकी तीन किमी खण्डको विषयलाई लिएर सर्वोच्चमा मुद्दा परेकाले काम रोकिने भएको हो ।

निर्माणका क्रममा देखिएका कतिपय कमजोर संरचना पुनः निर्माण गर्नुपर्ने भएकाले आयोजना कार्यालय र जिल्ला प्रशासन कार्यालयले निर्माण कम्पनीलाई बारम्बार ताकेतासँगै निर्देशन दिँदै आएको न्यौपानेले बताइन् । गत वर्ष करिब ९० किमी खण्ड कालोपत्र सम्पन्न भएको थियो । चालू आवको जेठसम्म दैलेख खण्डमा पर्ने अधिकांश सडक कालोपत्र सक्ने गरी कामलाई तीव्र दिइएको आयोजना प्रमुख न्यौपानेले जानकारी दिइन् । ‘सडक सञ्चालनमा कुनै अवरोध नभए पनि सवारी साधन सञ्चालन हुन सकेका छैनन्’, उनले भनिन्, ‘जसले गर्दा यात्रुहरूले महँगोमा भाडा तिरेर यात्रा गर्नुपरेको गुनासो समेत गरिरहेकाले शीघ्र सञ्चालनका लागि काम भइरहेको छ ।’

दैलेख सदरमुकामको पूर्वी खण्डअन्तर्गत जाजरकोटको सुयाडा र पश्चिम खण्डअन्तर्गत अछामसम्म सहज सार्वजनिक यातायात सञ्चालन गर्न स्थानीयवासीले दबाब दिँदै आएका छन् । यसैबीच, जिल्ला प्रशासन कार्यालय दैलेखले सवारी साधनलाई रुट प्रमिट दिने विषय कर्णाली प्रदेश सरकारको भएकाले प्रदेश सरकारलाई पत्र लेखी पठाइएको जनाएको छ । सडक सञ्चालन भएसँगै किसानको उत्पादनले बजार पाउने र आर्थिक अवस्था सुधार हुने आशा गरिएको स्थानीय हरिस गिरीले बताए । सडक नियमित सञ्चालनका लागि प्रदेश सरकारले तत्काल रुट प्रमिट दिनुपर्नेमा उनले जोड दिए ।

मध्यपहाडी सडकखण्डको काममा गुणस्तरीयता कायम नभएको, काममा ढिलाइ भएको भन्दै नागरिकले आवाज उठाएपछि जिप्रकाले कामको गुणस्तरीयता कायम गर्दै समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिरहेको छ । साथै, प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले आफैँले उक्त खण्डको स्थलगत अवलोकन गरेका छन् । पश्चिम क्षेत्रमा स्थलगत अनुगमनमा पुगेका प्रजिअ भुसालले जेठभित्रै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिरहेको भन्दै सोहीअनुसार कामलाई तीव्रता दिइएको बताए । उनका अनुसार आयोजना कार्यालयले बारम्बार अनुगमनका लागि दुई जना इञ्जिनियरसमेत खटाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, कोशी प्रदेश
ट्याग : #page 3

तपाईको प्रतिक्रिया