Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजिरीको व्यापार र पर्यटन प्रवर्द्धनको लागि महोत्सव हुने

जिरीको व्यापार र पर्यटन प्रवर्द्धनको लागि महोत्सव हुने


दोलखा । नेपालकै सुन्दर पर्यटकीय नगरी जिरीमा आगामी चैत २३ गतेदेखि वैशाख २ गतेसम्म जिरी महोत्सव हुने भएको छ । ‘नेपालको स्वीजरल्यान्ड सगरमाथाको प्रवेशद्वार, समृद्ध जिरी निर्माणमा अर्गानिक, कृषि, पर्यटन, संस्कृति छन् आधार’ भन्ने मूल नाराका साथ जिरी महोत्सव हुन लागेको हो ।

सो महोत्सवको तयारी र प्रचारप्रसारलाई तीव्र पारिएको महोत्सव आयोजक संस्था जिरी उद्योग वाणिज्यसँग जिरीले जनाएको छ । १० दिनसम्म चल्ने महोत्सवमा जिल्लाका नौ वटै स्थानीय तह तथा रामेछापको गोकुलगङ्गा र उमाकुण्ड गाउँपालिका साझेदार रहेका छन् । यस्तै, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ कृषि उद्यम केन्द्र, उद्योग तथा वाणिज्य कार्यालय, प्राइम कमर्सियल बैंक, एकीकृत फ्रेन्डसिप सहकारी, नेपाल पत्रकार महासंघ र राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनी महोत्सवको प्रवर्द्धक रहने जिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।

महोत्सवमा जिरीभित्रका पर्यटकीय स्थललाई गन्तव्यको रूपमा विकास गर्ने, आदिवासी जनजातिहरूको मौलिक खाना, स्थानीय उत्पादन, भेषभूषा झल्कने वस्तुको स्टलहरू राखिने छ । त्यस्तै, जिरीका खानाका परिकार र गीत तथा नृत्य मुख्य प्रस्तुत हुनेछ । यस्तै, जिरी क्षेत्रको भ्रमण गराउन प्याकेजसहित यातायातको व्यवस्था गरिने अध्यक्ष श्रेष्ठले बताए । कोरोना र त्यसपछिको आर्थिक संकटले प्रभावित बनेको स्थानीय व्यापार, व्यवसायलाई उकास्ने तथा जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल तथा जिरीका स्थानीय पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ ।

महोत्सवको ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । यस्तै, एक करोड आम्दानी हुने र करिब ४५ लाख खर्च हुने आयोजकले जनाएको छ । महोत्सवमा जिरीको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र पर्यटकीय क्षेत्रको सम्भावना, लगानीको क्षेत्र र भावी योजनाको बारेमा विज्ञबाट दैनिकरूपमा बहस चलाइने तथा राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थितिमा नयाँ वर्ष विशेष मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम रहने जनाइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया