Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपर्साका स्थानीयवासी चिनी उद्योग पुन: सञ्चालन हुने आशामा

पर्साका स्थानीयवासी चिनी उद्योग पुन: सञ्चालन हुने आशामा


वीरगञ्ज (पर्सा) । लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी उद्योग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीघ्र सञ्चालन गर्ने तयारीमा सरकार रहेको बताएपछि स्थानीयवासीहरु हर्षित हुँदै त्यसको प्रतीक्षामा छन् ।

केही दिनअघि चिनी कारखानाको स्थलगत अवलोकन गर्न आएको सङ्घीय संसदीय टोलीले पनि कारखाना पुनःसञ्चालन गर्न सकिने निष्कर्ष निकालेको थियो । प्रधानमन्त्रीबाट भएको उत्साहजनक घोषणा र संसदीय टोलीको निष्कर्षपछि स्थानीयमा रुग्ण उद्योग पुनःसञ्चालन हुने आशा जाग्नु सामान्य भएको वीरगञ्जका व्यापारी कृष्णकुमार कानु बताउछन् । चिनी कारखाना सञ्चालनपछि स्वदेशी चिनीको आपूर्तिमा सहजता र रोजगारी सिर्जनामा मद्दत पुग्ने उनले बताए ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले राज्यको पनि लगानी रहेको उक्त चिनी उद्योग पुनःसञ्चालनमा ल्याउन सकिए मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने बताए । “चिनी कारखानालाई पूर्ण क्षमतामा चलाउन सकेमा देशलाई आवश्यक पर्ने चिनी उत्पादन गर्न सकिने अवस्था छ”, अध्यक्ष अग्रवालले भने ।

तत्कालीन सोभियत सङ्घको आर्थिक एवं प्राविधिक सहयोगमा २०२१ साल माघदेखि सञ्चालनमा आएको वीरगञ्ज चिनी कारखानाले कुनै बेला देशभर चिनीको मागलाई धान्ने गरेको थियो । वीरगञ्ज चिनी उद्योग सञ्चालक समितिका पूर्वअध्यक्ष हरि गौतमले यस्तो उद्योग बन्द हुनु मुलुकका लागि दुर्भाग्य भएको बताए । उनले भने, “हाम्रो देशका लागि चिनी उद्योगभन्दा उपयुक्त उद्योग कुनै छैन, यसले सहरको पैसा गाउँमा लैजान्छ, गाउँका किसानलाई नगद पैसा दिन्छ,” ।

हालै वीरगञ्ज चिनी कारखानाको स्थलगत अवलोकन गरेको प्रतिनिधिसभा,उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमितिले कारखाना पुनःसञ्चालन गर्न सकिने जनाएको थियो ।

सुरुमा वार्षिक ९० हजार क्विन्टल चिनी उत्पादन गरेको सो उद्योगले पर्सा, बारा र रौतहटका किसान उखुखेतीमा जोडिएपछि आधुनिक मेसिन जडान गरेर वार्षिक एक लाख ३५ हजार क्विन्टल चिनी उत्पादन गर्दै आएको थियो । करिब २० वर्षदेखि चिनी कारखाना बन्द भएपछि कारखानाका नाममा रहेको अधिकांश जग्गा अतिक्रमणको चपेटमा छ भने गोदामघर जीर्ण र मेसिनमा खिया लागेको छ । कारखाना परिसर घारीमा परिणत भएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया