Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकनकाई नगरपालिकामा डिजिटल प्रणालीमा आधारित ठेगाना प्लेट

कनकाई नगरपालिकामा डिजिटल प्रणालीमा आधारित ठेगाना प्लेट


काठमाडौं । झापाको कनकाई नगरपालिकामा डिजिटल प्रणालीमा आधारित ठेगाना प्लेट जडान कार्यको सुरु गरिएको छ । पालिकाले हालै परीक्षणको रूपमा सुरु भएको ‘कता हो’ नामक एपमार्फत तयार गर्न सकिने तथा एलमुनियम पातामा मेसिनमार्फत खोपिएर बन्ने विशेष किसिमको ठेगाना प्लेट जडान गर्न लागेको हो ।

सो प्लेटमा घरधनीको नाम, दुई शब्द र अंकको कता हो कोड, स्थानीय नाम तथा स्थानीय तहको नाम र वडा रहन्छ भने नेपाल सरकारले जारी गरेको हुलाक वस्तु वितरणको लागि गुगल प्लस कोड समेत रहेको छ । त्यसका अलावा प्लेटमा रहेको क्युआर कोडमार्फत घरधनीको मोबाइलमा घण्टी (डोर बेल) बजाउने सुविधा समेत रहेको छ । यस प्रकारको प्रणालीको विकास नेपालमा लामो समय अनुसन्धानमा बिताएका चर्चित अनुसन्धानकर्ताहरू रामलक्ष्मण रिमाल संलग्न रहेको एड्रेसग्राफ नेपाल प्रालिले तयार गरेको हो ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरको वडा नं. ७, दुर्गापुरस्थित सामुदायिक भवनमा प्लेट जडान गरी ‘कता हो’ नामक डिजिटल ठेगाना प्लेट प्रणालीको शुभारम्भ गरेका थिए । स्वदेशी प्रविधिलाई पालिकाहरूले आ–आफ्नोस्तरबाट प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए । सहरका लागि मात्र नभई नेपालका विकट स्थानका लागि समेत यो प्रविधि उत्तिकै उपयोगी रहनेमा आफू विश्वस्त रहेको उनले बताए । यस्तै ‘कता हो’ प्रणालीका प्रविधि अनुसन्धानकर्ता रामप्रसाद रिमालले पाँच वर्ष लामो अनुसन्धानपश्चात विकास भएको यो प्रणालीमार्फत नेपालभर जो सुकैले पनि मिनेटभरमा डिजिटल ठेगाना प्लेट तयार गर्न सक्ने बताए । पालिकाहरूले यसको लागि समन्वय गर्न सकेमा ठेगाना प्रदान गर्नका लागि सरकारको ठूलो बजेटको बचत हुने उनको भनाइ थियो ।

यस प्रणालीको सहायताले जुनसुकै पनि ठाउँ पत्ता लगाएर त्यहाँसम्म सजिलै पुग्न सकिने भएको छ । यो प्रणालीलाई नक्सा नभएर जुनसुकै नक्सामा प्रयोग हुने अपरिहार्य पूर्वाधार भएको कम्पनीका प्रविधि अनुसन्धानकर्ता रामप्रसाद रिमालले जानकारी दिए । उनका अनुसार यो प्रणाली सुरुवात गर्ने स्थानीय तह कनकाई नगरपालिका देशमै पहिलो नगरपालिका हो । घरघरमा डिजिटल नम्बर प्लेट टाँस गर्न एउटा प्लेटबापत छ सय रुपैयाँ खर्च आएको बताइएको छ । तर नगरपालिकाले नागरिकको थोरै भए पनि साझेदारीमा प्रविधि प्रयोगको महत्व र आवश्यकतासँगै अपनत्व बोध गराउन एक सय रुपैयाँ मात्र लिने र अरू खर्च नगरपालिकाले व्यहोर्ने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया