Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकोरोनाविरुद्धको खोपमा खेलबाड नहोस्

कोरोनाविरुद्धको खोपमा खेलबाड नहोस्


काठमाडौं ।
पछिल्लो समय कोरोनाको रोकथाममा अर्थात् खासगरी कोरोनाको खोप चाँडो उपलब्ध गराएर प्रशंसा कमाएको सरकार पछिल्लो समय प्रस्तावित मात्राको आयात र आमतहमा पु-याउन नसकेका कारण बदनाम हुने क्रममा पुगेको छ । एकातिर कोरोनाप्रति आम नागरिकमा लापरबाही बढ्दै छ भने अर्कातिर यसको प्रकोप बढिरहेको छ । पछिल्लो दश दिनमा मात्र संक्रमितको संख्या एक हजारभन्दा बढी रहेको छ ।

यस्तो अवस्था खोपको उपलब्धता नभएर होइन । हातमा परिसकेको मात्रा पनि ल्याउन नसक्दा यो अवस्था उब्जिएको हो । यो भनेको सरकारको अव्यवस्था नै हो । भारतसँग भुक्तानी भएको खोप ल्याउन सकिएको छैन भने अर्को छिमेकी देश चीनले दिएको अनुदानको पनि हप्तौँदेखि ल्याउन सकिएको छैन । यसले निर्धारित समूहका लागि तोकिएको दिन धेरै पर धकेलिँदै गएको छ जो राम्रो होइन । यो कूटनीतिक पहल हुन नसक्दाको अवस्था हो । यसले कोरोना रोकथामका लागि व्यवस्थापकीय रूपमा राम्रो सङ्केत दिँदैन ।

भारतले अनुदामा दिएको बाहेक किटानी भएर २० लाख डोज खरिद गरिएको थियो । भुक्तानी भइसकेपछि त्यो खोप आउनुपर्ने हो । यदि समयमा उपलब्ध नहुने हो भने कम्पनीले भुक्तानी नै लिँदैन । अहिले भुक्तानी भएर पनि त्यो खोप रोकिएको छ । ४६ करोड अग्रीम भुक्तानी भएको भनी त्यसबेला सरकारले नै बताएको थियो । त्यसबेला देखाइएको यस्तो अति उत्साह के कारणले दबिन गयो भन्ने सरकारले जानकारी गराएको छैन । उत्पादित खोप संसारभरका देशका लागि आवश्यक छ र तानातान पनि चलिरहेको छ । जुन भारतीय कम्पनीबाट नेपालले खोप ल्याएको हो त्यसमा केही व्यावहारिक पक्ष अरु देशभन्दा भिन्न प्रकारका छन् ।

नेपालले पहिलेका अन्य खोपहरू पनि यही कम्पनीबाट ल्याएको हो र अब पनि ल्याउने त्यही ठाउँ हो । त्यसकारण खोपको यस्तो उपलब्धता नेपालका लागि हक नै बन्छ । तर पछिल्लो समय भुक्तानी भइसकेका खोप महिना दिनसम्म नेपाल नआउनुको कारणको खोजी भएको पाइएन । यो दुःखद पक्ष हो । त्यो खोपलाई देखाएर सरकारले ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिने भनी मिति नै तोकेको थियो । सोअनुसार यो उमरसमूहका जेष्ठ नागरिकहरू खोप लिनका लागि तयार बने पनि अन्तिम घडीमा आएर ६५ वर्षभन्दा माथिल्लो उमेरका नागरिकले मात्र पाउनेगरी व्यवस्था भयो ।

खोपको यस्तो अभाव भइरहेको बेला सरकारले अनुदनामा पाएको आठ लाख डोज खोप ल्याउन आनाकानी गरिरहेको छ । यसले कूटनीतिमा समेत गलत अर्थ लाग्ने देखिन्छ । भारतले अनुदानमा उपलब्ध गराएको समयको हाराहारीमा नै चीनले दिएको खोप अहिले अलपत्र अवस्थामा छ । जानकारीमा आएअनुसार नेपाली दूतावासले खोप बेइजिङमा तयार रहेको भन्दै पटक–पटक जानकारी गराएको छ तर सरकारले कहिले ल्याउने भनी मिति समेत तोक्न सकेको छैन ।

यता मौज्दात अभावले पहिलो डोज रोकिएको छ भने दोस्रो डोज १२ सातापछि मात्र सुरु हुनु भनेको अव्यवस्थाको नमूना नै हो । चीनले नेपाललाई अनुदानमा दिएको खोपको समय दुई महिनाभन्दा बढी भइसकेको छ तर सरकार त्यो ल्याउन नै आनकानी गरिरहेको छ । यसले आमतहमा नै सरकारी कामको आलोचना गराएको छ । आठ लाख डोज भनेको कम्तीमा चार लाख नागरिकको जीवनसँग जोडिएको विषय हो । त्यसकारण खोपको यो कुरालाई खेलाँची नमानियोस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया