Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयमेलम्ची सपना विपनामा परिणत

मेलम्ची सपना विपनामा परिणत


काठमाडौं ।
सतहत्तर सालको चैत्र १५ अभिलेखमा रहने दिन बन्यो खासगरी काठामाडौं उपत्यकाका लागि । यस दिन उपत्यकाको एउटा पूर्वी पहाड छेडेर ल्याइएको खानेपानी जनताका घरघरका धाराबाट खस्न थाल्यो । सुरुमा कसैले नपत्याएको र पछि विकास निर्माणका लागि दुःखद उदाहरणजस्तै बनेको मेलम्ची खानेपानी आयोजना प्रारम्भ भएको पूरै दुई दशकभन्दा बढी समयपछि विपनामा परिणत भयोे । यो आयोजना २०५५–५६ बाट सुरु भएको हो । धेरै पटक समय थपिँदै राष्ट्रिय गौरवको भन्न पनि नसुहाउने गरी ढिलासुस्तीको चक्करमा परेको यो आयोजनाको सपना करिब २५ वर्षपछि विपनामा परिणत भयो । अहिलेको सरकारले २०७५ सालको दशैँमा ल्याउने घोषणा गरे पनि त्यो पूरा हुन पूरै तीन वर्ष लाग्यो ।

सम्बन्धित निकायका अनुसार उत्यकामा दैनिक पानीको माग ४३ करोड लिटर छ । यो आयोजनाले सुक्खा सिजनमा पनि करिब १० करोड लिटर पानी ग्राहकका धारासम्म पानी पुग्नेछ । मेलम्चीका उपभोक्ता करिब आधा करोडको हाराहारीमा रहेका छन् । काठमाडौँ, भक्तपुर र ललितपुरका करिब ५० लाख जनसंख्याले यो पानी उपभोग गर्न पाउनेछन् । यसको प्रारम्भको दिनदेखि केन्द्रीय प्रशासनिक क्षेत्र सिंहदरबारछेउको अनामनगर क्षेत्रमा नयाँ लाइनका १६ सय धारा पाइलट प्रोजेक्टअनुसार चौबीसै घण्टा पानी दिने योजना रहेको बताइएको छ । अन्यत्र भने रोटेसनका आधारमा वितरण गर्नेगरी तयारी रहेको छ ।

काठमाडौँ उपत्यकाभित्र केयूकेएलको सेवाअनुसार दुई लाख २५ हजार धारा रहेका र पहिलो दिन नै यी सबै धारामा पानी पु-याउन लागिएको हो । मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारीका अनुसार समितिको जिम्मेवारी मेलम्चीको पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रसम्म ल्याउने हो । गएको शुक्रबार प्रशोधन केन्द्रमा पानी राखेर प्रशोधन गरी थोक वितरण केन्द्रमा पठाउन थालिएको छ । नयाँ निर्माण भएका पाइपलाइन र पानीपाखेरीको परीक्षण तथा सफाइको काम मेलम्ची उपायोजना–२ ले गरिरहेको छ । केयूकेएलका प्रवक्ताका अनुसार पहिलो दिन चार करोड लिटर पानी वितरण गरिनेछ । वितरित पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पुरानै प्रणालीबाट वितरण गरिनेछ, सुरुमा विभिन्न स्थानमा रहेका रिजर्भ ट्यांकीमा पानी जम्मा गरिने र त्यसपछि वितरण प्रक्रिया थालिनेछ ।

यी भनेका प्राविधिक कुरा हुन् । सत्य के हो तीन दशकअघि देखिएको र बोलिएको कुराअनुसार डाँडापारिको पानी डाँडावारि आएको छ । सन्तनेता स्व. कृष्णप्रसाद भट्टराईले २०४७ सालमा मेलच्ची खोलालाई राजधानीमा ल्याएर खान मात्र होइन बाटो समेत पखालिनेछ भनी घोषणा गर्दा यो कल्पनाको विषय भनेका थिए धेरैले । कतिले त व्यंग्य समेत गरे । तर ०५५/५६ सालमा उहाँकै हस्ताक्षरबाट आयोजना सुरू पनि भयो । प्रविधिको जटिलताले यो विषय त्यसबेला त्यति सहजरूपमा पत्याउने अवस्था थिएन होला ।

मेलम्ची खोला राजधानीभन्दा २७ किलोमिटर टाढा त्यो पनि चट्टानी पहाड फोरेर पानी आउँछ भन्ने विश्वास दिलाउन त्यति सहज थिएन । ३० वर्षअघिको प्रस्ताव हो । तर जसले पत्याए पनि नपत्याए पनि यो अभियान रोकिएन  । लागत र वर्षको हिसाबले त्यसबेलाको अनुमानभन्दा बढी खर्च भयो तर राजधानीमा पानी आयो । यही हो सत्य कि लामो समयदेखि सपनाका रुपमा रहेकोकाठमाडौँवासीको मेलम्ची सपना पूरा भएको छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया