Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयराष्ट्रपतिबाटै सरकारी आदेशको अवज्ञा

राष्ट्रपतिबाटै सरकारी आदेशको अवज्ञा


काठमाडौं । कोरोना संक्रमणको मात्रा अत्यधिक बढेपछि यो हप्ताको प्रारम्भिक दिन आइतबार सरकारले एउटा निर्देशन जारी ग-यो । त्यसमा राजनीतिक, आर्थिक, सामाजिक, व्यावसायिक तथा अन्य गतिविधि गर्दा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न तथा सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुनेगरी कार्यक्रम गर्न रोक लगाइएको थियो । सरकारको त्यही आदेशमा २५ जनाभन्दा बढी भेला हुनेगरी कार्यक्रम नगर्न भन्दै सार्वजनिक स्थलमा मानिसको उपस्थितिको संख्या किटान समेत गरेको थियो । त्यही निर्देशनमा सार्वजनिक स्थानमा सवारीसाधनमा मास्क नलगाई नहिँड्न, सार्वजनिक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क नलगाएका यात्रु नचढाउन र सबै प्रकारका मापदण्डको प्रयोग गर्न भनियो । त्यसको महत्वपूर्ण पक्ष हो, कोरोनासम्बन्धी यो आदेश प्रभावकारी रूपमा पालना गराउन सुरक्षा निकायबाट आकस्मिक तथा नियमित अनुगमन गरिने व्यवस्था भएको जनाउ दिनु । यो आदेश सोमबार पनि दोहोरियो अझ कडारूपमा । तर मंगलबार भने त्यही प्रभावकारी रूपमा पालना गराउने दायित्व तोकिएको भनी सरकारले नै सार्वजनिक जानकारी गराएको सुरक्षा निकायको घेराबाट नै यी सबै तोड्ने काम भयो ।

यो सन्दर्भमा यो सूचना जारी भएको तेस्रो दिन मंगलबार राष्ट्रपति र पूर्वराजाबाट ठूलो दलबल र सुरक्षा निकायको भिडभाडका बीच सरकारले जारी गरेको यो निर्देशनको खुला उल्लंघन भयो । यो सन्दर्भ हो, सिंहदरबारअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पणको कार्यक्रमको । यसमा ध्यान दिनुपर्ने विषय हो, राष्ट्रपति र पूर्वराजाबाट पनि यसअघिका वर्षमा यो ठाउँमा यस्तो कार्यक्रम भएको थिएन । यो वर्ष सरकारबाट यस्तो निर्देशन जारी भएपछिको अवस्थामा माल्यार्पण गर्ने सोच कसरी आयो वा बन्यो भन्ने कसैले बुझ्न सक्ने अवस्था नै रहेन । यसदिन राष्ट्रपति र पूर्वराजाबाट ठूलो दलबलका साथ सडकमा यस्तो प्रदर्शनी हुँदा उता प्रधानमन्त्री, मन्त्री र सत्तारुढ दलका प्रमुखदेखिका नेताहरू एकान्तवासमा थिए । यसमध्ये कतिपय त कोरोनाको संक्रमणबाट ग्रस्त नै थिए । याद रहोस्, अघिल्लो वर्ष पूर्वराजाको परिवारसहितको एउटा टोली संक्रमित भयो । भारतमा अत्यधिक संक्रमण फैलिएका बेलामा उनीहरू कुम्भ मेलामा गएका गएका थिए । तर, फर्किएर आउँदा यस्तो संक्रमण लिएर आए ।

अर्को, स्वाभाविक छ, यस्तो राष्ट्रपतिजस्तो पदाधिारीको सवारीले बाटोमा अर्को ठूलो भिड जम्मा गर्ने हुन्छ । यो विषय विगतमा धेरै आलोच्य हुँदै आएको छ । यो पटक त सरकार ‘भिडभाड नगर्नू’ भन्ने तर राष्ट्रपतिचाहिँ भिडभाड गराउन जानीबुझी उद्यत भएको जस्तो देखियो । राष्ट्रपतिले त्यहाँबाट फर्किएपछि ट्वीट गर्दै भनिन्, ‘राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा कार्यक्रम मिलाएकोमा नेपालका विभिन्न प्रज्ञा–प्रतिष्ठान, स्थानीय तह, नेपाली सेनासहित सम्पूर्ण सुरक्षा निकायलाई पनि धन्यवाद दिन्छु ।’ केन्द्रीय प्रशासनको भवन सिंहदरबारको पश्चिम गेटअगाडिको कुरा हो यो । बाटोमा राष्ट्रपतिका साथ सुरक्षाकर्मी मात्र थिए होलान् तर कार्यक्रमस्थलवरिपरि सर्वसाधारणको भिड कस्तो थियो भन्ने आफैँ चित्रमा हेरे हुन्छ । राष्ट्रपतिबाट त्यस दिन आधा दर्जनभन्दा बढी ठाउँमा यस्ता कार्यक्रम भए, जो नगर्दा पनि कुनै फरक पर्नेवाला थिएन । यसै कारण पनि होला यसलाई सरकारी आदेशको अवज्ञा माने धेरैले । राष्ट्रपतिको इच्छा र आदेशबेगर जुनसुकै कार्यक्रममा उनको सहभागिता हुँदैन भन्ने आफैँ प्रस्ट छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया