Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयराजीनामा गर !

राजीनामा गर !


काठमाडौं । मन्त्रीको झण्डा हल्लाउँदै निर्वाचनमा होमिएका मन्त्रीहरूले चुनाव हारेको लामो समय भए पनि अझै पदबाट राजीनामा दिएका छैनन् । केही पहिले एक जना मन्त्रीले आफ्नो दलको कुनै पदमा उम्मेदवारी दिएर पराजित हुँदा उनले सबैभन्दा पहिले आफ्नो मन्त्रीपद त्यागेका थिए । निर्वाचन जनुसुकै भए पनि हारेपछि यस्ता राजनीतिक पदमा बस्न हुन्न भन्ने उनले स्थापित गर्न खोजेको त्यो नजिरलाई उनकै सहकर्मीहरूले पालना गरेको देखिएन । त्यसबेला पनि मन्त्री तिनै थिए र सरकारको नेतृत्व गर्ने व्यक्ति पनि उनै छन् । तर यो चुनावमा उम्मेदवार भएका मन्त्री पराजित भएपछि प्रधानमन्त्रीबाट राजनीनामा माग्ने काम समेत भएन । यो पनि कुनै एउटा संख्या र अपवादको होइन । आधा दर्जन केन्द्रीय मन्त्रीहरू पर्छन् यसमा । मंसिर ४ मा सम्पन्न निर्वाचनबाट प्राप्त भएका परिणाममा ती मन्त्रीहरू हार्दै गएका देखिन थालेका हुन् । पछिल्लो समयसम्म उठेका मध्ये पाँच जनाको जित भयो भने छ जनाले हारे तर कम्तीमा यी पङ्क्ति लेखिँदासम्म कसैले राजीनामा दिएका पाइएन ।

सबैभन्दा पछिल्लो हारमा परेका छन्, गृहमन्त्री । यो मन्त्रालय प्रधानमन्त्रीपछि शक्तिशाली मानिन्छ । अहिलेका प्रधानमन्त्री स्वयम् पहिलो पटक प्रधानमन्त्री हुँदा गृह मन्त्रालय सम्हालेको पृष्ठभूमिबाट आएका हुन् । यसैकारण पनि गृहमन्त्री बन्न नेताहरूबीच ठूलो प्रतिस्पर्धा हुने गर्छ । देशका सम्पूर्ण सूचना गृहप्रशासनको हातमा हुन्छ । अझ चुनावमा त यस्तो सूचना बोक्ने भएकै प्रधानमन्त्रीसमेत यदि उम्मेदवार भएका रहेछन् भने आफ्नो क्षेत्रको आवस्थाबारे गृहमन्त्रीसँग बुझ्छन । यो चुनावमा भने यस्तो शक्तिशाली मन्त्री, गृहमन्त्री आफैं चुनाव हार्न पुगे । उनलाई राप्रपाका नेताले हराएका हुन् । राप्रपा राजावादी भनेर चिनिन्छ । यी गृहमन्त्री आफैँले गराएको चुनाव हार्नेमा पहिलोचाहिँ होइनन् । दोस्रो जनआन्दोलनपछिको पहिलो आम निर्वाचन अर्थात् संविधानसभा ०६४ मा पनि तत्कालीन गृहमन्त्री हारेका थिए । त्यस्तो हार पनि संयोगले राप्रपाका नेतासँगै भएको थियो । यो चुनावमा तीसहितका अर्का पूर्वगृहमन्त्री र एक जना पूर्वगृहराज्यमन्त्रीको पनि हार भयो । तर उनका निर्वाचन भने समान्य नै हुन् । तर यो ठाउँमा चर्चा भएको बहालवाला मन्त्रीले हारेपछि किन राजीनामा नदिएका हुन् भन्ने हो ।

यो निर्वाचनमा गृहमन्त्रीसहित अरू पाँच मन्त्रीको पनि पराजय भएको छ । त्यसमा ऊर्जामन्त्री एवं माओवादी नेतृ, पर्यटन मन्त्री उपत्यकामा चुनाव हारेकामा पर्छन् । खानेपानी मन्त्री र खेलकुद मन्त्री तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्रीको मोफसलका जिल्लाबाट हार भयो तर यी कसैले पनि राजीनामा दिएको देखिएन । गृहमन्त्री पराजित हुँदाको मतान्तर दुई हजार छ सय ८१ थियो भने ललितपुर ३ मा ऊर्जामन्त्रीको अवस्था तेस्रो भयो । युवा तथा खेलकुद मन्त्री विपक्षी दलका उम्मेदवारसँग पाँच हजार तीन सय ९४ मतान्तरले पराजित भए भने काठमाडौं ८ मा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तेस्रो ठाउँमा रहे ।

खानेपानी तथा सरसफाइ मन्त्री बारा १ मा विपक्षी दलका उम्मेदवारबाट नौ हजार एक सय ३९ मतान्तरले पराजित भएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री तर ३४ हजार तीन सय १२ मतान्तरले चुनाव हारे । यो भनेको धेरै ठूलो मतान्तर हो ।

मतान्तर एउटा ठाउँमा छ । जतिले भए पनि चुनाव हारिसकेपछि उनले राजीनामा दिन पथ्र्यो यद्यपि चुनावपछिको सरकारमा उनीहरू पर्दैनन् होला तर कुरा नैतिकताको हो । नैतिक चरित्र देखाउने हो भने हारुवा मन्त्रीहरु राजीनामा गर ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया