Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयअधिक आलोच्य बन्दै आलु र प्याजमा लगाइएको भ्याट

अधिक आलोच्य बन्दै आलु र प्याजमा लगाइएको भ्याट


काठमाडौं । बजेट आउँदो आर्थिक वर्षका लागि आएको थियो तर त्यसले पार्ने नकारात्मक प्रभाव भने चालू वर्षमै प्रकट भएका छन् । मुख्यतः करका नीतिहरू अर्थात् करका दरहरूले बजारलाई प्रभावित पारेका हुन् । त्यसमा प्रस्ताव भएको आलु र प्याजमा लागेको कर अर्थात् भ्याटले सरकारको काम प्रतिकात्मकरूपले चर्चामा आयो । अर्थमन्त्रीबाट बिजुलीका गाडी खरिदको कामलाई आलु, प्याज खरिद गरे जसरी नहुने भनेर जुन वस्तुलाई सहज उपलव्धताको संज्ञा दिन खोजियो यतिबेला त्यही वस्तु पूरा बजेटको चर्चाको सेरोफेरोमा आएको छ । कसैले पनि बजेटकाबारे प्रतिक्रिया दिँदा आलु र प्याजमा लागेको करको उदाहरण दिने गरेका छन् भने अर्कोतिर सुर्तीजन्य पदार्थमा विगतमा बढ्ने गरेको करको वृद्धिदर योपटक नाम मात्रले बढाइएको विषय पनि त्यहीरूपले चर्चामा छ, यो विषय पनि त्यस्तै हो । उपभोक्ताका लागि सबैभन्दा सानो तर अत्यधिक प्रयोग हुने उपभोग्य इकाइमा कर लगाइएको विषयले पछिसम्म पछ्याइरहनेछ ।

वास्तवमा आलु र प्याजमा लागेको कर अर्थात् भ्याटको व्यवस्थाले उपभोक्ताको चुलोमा महँगी ल्यायो । यद्यपि अर्थमन्त्रीले स्वदेशी उत्पादनलाई साथ दिन यसो गरिएको भनी जवाफ दिएका छन् । तर ती उत्पादन पनि करको दायरामा पर्ने भएपछि आयातित र नेपाली उत्पादनमा कुनै फरक पर्ने देखिँदैन । भ्याट भनेको यस्तो कर हो जो सीमाको एउटा विन्दुमा मात्र लाग्दैन । उपभोक्ताले खरिद गर्ने विन्दुसम्म नै पुग्ने हुन्छ । त्यसकारण यसलाई उपभोक्तामाथि भार लगाउने गरी आलु, प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने काम भएको मानिएको हो । आलु र प्याज नेपाली चुलोमा सबैभन्दा बढी खपत हुने वा उपभोग हुने वस्तुमा पर्छन् । त्यसकारण अर्थमन्त्रीले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आलु, प्याजमा भ्याट लगाएको भनेर दिने गरिएको तर्क मान्य भइरहेको छैन । उल्टो, व्यवसायीले स्थानीय उत्पादनमा कर लगाउन थालेको रूपमा लिइएको छ । यो एक प्रकारले सत्य पनि हो, मूल्य अभिवृद्धि कर (भ्याट)को प्रकृति नै त्यो कुनै एक ठाउँमा लागेर त्यसपछि निष्क्रिय रहने हुँदैन । आव २०८०/०८१ को बजेट वक्तव्यमा एक सय ७० वस्तुलाई भ्याट छुट पाउने सूचीबाट हटाउने व्यवस्था भएको थियो । त्यसलाई करभन्दा करको दायरा बढाउने भनियो । त्यसैमा आलु र प्याजमा भने कर लाग्यो । यसले कर त बढेन तर करकै कारण बजार भने आर्थिक विधेयक प्रस्तुत हुनासाथ मूल्य अभिवृद्धि कर ऐन संशोधन गर्दै भ्याट छुट पाउने वस्तुको सूचीबाट आलु, प्याज, स्याउलगायतका फलफूलका प्रकार पनि हटे । त्यस दिनदेखि यी वस्तु तेह्र प्रतिशतका दरले कर लाग्नेमा परिणात भए । तरकारी र फलफूलमा कर लगाइएको अवस्था यो पहिलो हो । तीनचार वर्षअघि शिशु आहाराको प्रमुख वस्तु दूधमा यसरी नै कर बढाइएको र चकलेटजस्तो वस्तुमा भने कर घटाइएको थियो । त्यसले त्यसबेलाको सरकार यति बदनाम भयो जो चारपाँच महिनाकै बीचमा त्यो व्यवस्था खारेज गर्न बाध्य भएको थियो । अहिलेका अर्थमन्त्रीले प्रष्टीकरण दिँदै भनेका छन् ‘किसानको संरक्षण गर्न, उत्पादन बढाएर कृषिमा आत्मनिर्भर बनाउन आलु, प्याज, स्याउजस्ता कृषिजन्य वस्तुमा भ्याट लगाइएको हो, यसले स्वदेशभित्रका साना किसान संरक्षित हुने र आयात निरुत्साहित हुने छ । तर करको प्रकृतिले भने बजारमा आयातित र आन्तरिक उत्पादनमा भेद देखाउँदैन । सबैभन्दा आलोचित पक्ष पनि यही हो ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया