Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयघोराही सिमेन्टको सेयरमा जालझेल दण्डनीय

घोराही सिमेन्टको सेयरमा जालझेल दण्डनीय


काठमाडौं । देशमा दिनहुँजसो कहिले के र कहिले केका नाममा हुने गरेका आर्थिक घोटालाका काण्डहरू सार्वजनिक भइरहेका छन् । त्यसमा बढीजसो सर्वसाधारण नै ठगिने गरेका छन् । ती लघुवित्तका नाममा होऊन कि बचतकर्ताको रकम बोकेर सहकारीका सञ्चालक बेपत्ता भएका घटना नै किन नहोस् । मिटरब्याजीले गरेका अत्याचार सहनैनसक्ने खालका छन् । दुईलाख ऋण लिएकोमा चार वर्षमा २२ लाख तिरिसक्दा पनि अझ अर्को १० माग गरेर अत्याचार गरिएका घटना भर्खर मात्रै सार्वजनिक भएका हुन् । उखु किसानले आफ्ना वस्तु बेचेबापत रकम नपाएर निरन्तर आन्दोलन गरिहेको अवस्था पनि देखिरहिएकै छ । सरकारले तिनलाई दिएको अनुदान पनि मालिकले नै पचाएपछि त्यसविरुद्धसमेत किसान आन्दोलनमा उत्रिनुपरिरहेकै छ । खासगरी आर्थिक अवस्था वा कारोबार जोडिएका समस्या जतात्यतै विद्यमान नै छ । त्यही मेसोमा एउटा कम्पनीले सर्वसाधारणलाई भुक्याएर अर्बको हाराहारीमा गर्न खोजेको जालसाजी बाहिर आएको छ । सरकार वा अनुगमन गर्ने निकायले यो घटनालाई गम्भीरतापूर्वक लिनुपर्छ ।

विगत केही समयदेखि निरन्तर उठ्दैउठाइँदै आएको घोराही सिमेन्टको सेयर बिक्री प्रक्रियामा ठूलो जालझेल भएको पुष्टि हुन आयो । यो बीचमा यो कम्पनीले निकायलाई समेत प्रभावित पार्न खोजिएको भनी विवरण सार्वजनिक भइरहेका थिए । यो जालझेल यति सतहमा आयो जो लुक्न र लुकाउन सक्ने अवस्था नै आएन । पछिल्लो समय धितोपत्र बोर्डले नै उक्त कम्पनीको सेयर कारोवार रोक्न प-यो । बोर्डको पत्रमा भनिएको छ– निष्काशन तथा बिजनिक निष्काशन भएको सिमेन्ट इन्डस्ट्री लिमिटेडलाई प्रदान गरेको इस्युअर रेटिङ क्रेडिट रेटिङ नियमावली २०६८ को नियम ३४ को उपनियम (२) विपरीत भए÷नभएको बारेमा केयर रेटिङ नेपाल लिमिटेडलाई तीन दिनभित्र स्पष्ट गरी पेस गर्न यही जेठ ३२ गते पत्राचार गरिएको थियो । तर केयर रेटिङ नेपालले हालसम्म जानकारी पेस नगरी कुनै आधारबिना म्याद थपको लागि अनुरोध गरेको साथै उक्त कम्पनीको सार्वजनिक निष्काशनमा मागभन्दा बढी कित्ता सेयरको लागि आवेदन प्राप्त भइसकेको अवस्थामा समेत सार्वजनिक निष्काशनको समयावधि थप गर्ने सूचना प्रकाशित गरेको देखिएको, सोही आधारमा बोर्डले सर्वसाधारण लगानीको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै उक्त कम्पनीको रेटिङ र सार्वजनिक निष्काशनसम्बन्धी कैफियतका लागि हाललाई घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको सार्वजनिक निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गर्ने निर्णय गरेको हो ।

बोर्डले तत्काल यस्तो निर्णय वा रोक्का नगरेको भए ठूलोमात्रामा, करिब अर्बकै अंकमा हिसाब हुने गरी आर्थिक जालझेल हुनेवाला थियो । त्यसका संकेतहरू विभिन्न प्रकारले प्रकट भइरहेका थिए । उद्योगले आफनो जारी पुँजी तीन अर्ब ९७ करोड १९ लाख छ सय रुपैयाँको २० प्रतिशतको पुँजीको सेयरकारोबार गरेको थियो । त्यो भनेको रकममा ७९ करोड ४३ लाख ८० हजार एक सय रुपैयाँ हो । यो बराबरको ९७ लाख ४३ हजार आठ सय एक कित्ता सेयर सार्वजनिक निष्काशनमा आएको थियो । यसमध्ये पाँच प्रतिशत स्थानीय उद्योग प्रभावितका लागि १० प्रतिशत अर्थात् सात लाख ५४ हजार छ सय ६१ कित्ता वैदेशिक रोजगारीमा रहेकालाई, उद्योगमा कार्यरत कर्मचारीहरूलाई पाँच प्रतिशतका दरले तीन लाख ७७ हजार तीन सय ३१ कित्ता सेयर छुट्याएको थियो । कम्पनीले यी सबै सेयर उद्योग सञ्चालकको जालझेलका आधारमा बिक्रीमा ल्याएको पोल खुलेपछि अहिले अहिले सेयर कारोबार रोकिन गएको अवस्था छ । यसमा अझ गम्भीर अध्ययन हुन र कैफियतअनुसार कारबाही गर्ने निकायहरू कठोर बन्नुपर्छ, ताकि आइन्दा कसैले यस्तो गर्ने आँट नगरोस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया