Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयबढ्दो व्यापार घाटा, सधैंको नियति

बढ्दो व्यापार घाटा, सधैंको नियति


काठमाडौं । चालू आर्थिक वर्ष तीनजना अर्थमन्त्रीले काम गरेको वर्ष हो । सरकारको हिसाबले यो वर्ष दुईवटा सरकार बने पनि गठबन्धनको हिसाबले भने बीचको दुई महिनाबाहेक पुरानै गठबन्धन कायम छ । त्यसमा अर्थको जिम्मेवारी पाउने व्यक्ति भने फेरिए । चुनावमा प्रतिपक्षमा रहेको दल चुनावपछि सत्तामा प्रमुख दल बन्यो । अर्थमन्त्री पनि उसैले लियो तर त्यसलाई टिकाउन नसक्दा चुनावपछिको सरकारको छ महिनाको समयक्रममा ऊ दुई महिनाका लागि मात्रै यो सरकारको सहयात्री बन्न पायो । त्यसपछि देशमा फेरि पहिलेकै अर्थात् चुनावअघिकै गठबन्धनको सरकारले काम गरिहेको छ । यी विवरण किन चर्चामा आयो भने सरकार उनै दल र उनै मान्छेको छ, केही अनुहार र केही पद फरक परेबाहेक । यता देशको हालत भने कतै सुध्रिने अवस्थामा देखिएन । त्यसको पछिल्लो उदाहरण हो, व्यापार घाटाको अङ्क थपिँदै जानु ।

चालू आर्थिक वर्ष सकिन अब आधा महिना मात्र बाँकी छ । यो वर्षका लागि बजेट घोषणा हुँदा व्यापार घाटालाई उल्लेख्यरूपमा घटाउने भनिएको थियो । त्यसका लागि निर्यात हुने वस्तुको उत्पादनदेखि कारोबारमा समेत अनुदानको व्यवस्था गरिएको थियो । यता विलासिताका वस्तु आयातमा वर्षैभरि लागू हुनेगरी प्रतिबन्ध लागेको थियो । तर व्यापारघाटाको अङ्क भने घटेन, बरु बढेको देखियो । यसले के बुझाउँछ भने व्यापारघाटा देशको नियति नै भइसक्यो । त्यसका केही नीतिगत उदाहरण पनि छन् । व्यापार घाटा बढाउने ठूला वस्तुमा पर्छ, पेट्रोलियम पदार्थ । त्यसको आयात घटाउन देशभित्र विद्युतीय बाहनहरूको वर्चस्व कायम गराउनु हो । त्यसका लागि पहिलो सर्त हो त्यस्ता बाहनको आयातमा सहुलियत हुनु वा दिनु । सरकार भने प्रत्येक वर्ष त्यस्ताबाहन आयातलाई निरुत्साहित गरिहेको छ । सतहत्तरदेखि असी सालसम्मका बजेट हेरियोस् । यी बाहनहरूमा कर बढाइँदै नै आइएको छ । उल्लेख भएका यी चार वर्षमा पाँचजना अर्थमन्त्री भए । यी सबैले कुनै न कुनैरूपमा बिजुलीका बाहनमा कर थप्दै आइरहेका छन् । यसैलाई हो कसैको स्वार्थपूर्ति गर्नखोज्दा देशचाहिँ सधैं हार्दै आइरहेको छ भनिएको ।

अहिले आर्थिक वर्षको ११ महिना (साउन–जेठ) बितेको छ । यो समयमा व्यापारघाटाको अंक १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ बनेको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार नेपालले तेस्रो मुलुकसँगको व्यापारमा यो घाटा व्यहोर्नुपरेको हो । यद्यपि अघिल्लो वर्षको यो समयको तुलनामा भने घाटाको यो अंक केही कम हो । गत वर्षको यो समयमा व्यापारघाटा १५ खर्ब ७७ अर्ब ३८ करोड रुपैयाँ थियो । तर अघिल्लो वर्षको तुलनामा केही घटेको भनिएको यो वर्षभरि अर्थात चालू आर्थिक वर्षको सुरुदेखि नै सरकारले विभिन्न १० विलासी वस्तुको आयात प्रतिबन्ध लगाएको थियो । यी अत्यधिक आयात हुने वस्तुमा पर्छन् । आयातमा अरू हिसाबले पनि प्रतिबन्धजस्तै लगाइएको थियो । त्यसका कारण देशले आफ्नो वार्षिक आम्दानी नै विगतको भन्दा कम हुनेगरी व्यहोर्नुपरेको अवस्था पनि आयो ।

यतिगर्दा पनि ११ महिनामा १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँको वस्तु आयात भएको छ । यो समयमा छिमेकी देश भारतसँग मात्रै आठ खर्ब ३८ अर्ब ८६ करोड रुपैयाँको व्यापारघाटा भयो । यो देशबाट भएको कुल आयातमध्ये डिजेल, पेट्रोल र एलपीजी ग्यासको हिस्सा १७ दशमलव १० प्रतिशत छ । दुई खर्ब ५३ अर्ब ३२ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । आफ्नै देशमा उत्पादन हुने बिजुली बाहनको वर्चस्व रहेको थियो भने पेट्रोलियम पदार्थको आयात घट्ने थियो । यसतर्फ सम्बन्धित सबैको ध्यान जाओस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया