Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयअपराधकर्मलाई सत्ताको स्रोत नबनाऔँ

अपराधकर्मलाई सत्ताको स्रोत नबनाऔँ


काठमाडौं । देशमा बढ्दो भ्रष्टाचारको प्रमुख स्रोत सरकार नै रहेको भन्ने विज्ञहरूले बताउँदै आउने गरेका छन् । राज्यका निकायहरूको नियुक्तिदेखि पदस्थापन, सरुवा आदि सबै काम सरकारले नै गर्ने हो । यसमा व्यापक भ्रष्टाचार हुने गरेको भन्ने सबै क्षेत्रबाट नै बारम्बार उठ्ने गर्छन् । अवस्था कतिसम्म देखिएको छ भने सरकारी प्रशासनमा बसेर जसले भ्रष्टाचारका अनेक आईडिया निकालेर बढीभन्दा बढी भ्रष्टाचार गर्छ, उनै हरेक सरकारको रोजाइमा पर्ने गरेको थुप्रो उदाहरणहरू छन् । कतिपय अवस्थामा त त्यस्ता भ्रष्टाचारीलाई खोजीखोजी नियुक्त गरेकोसमेत पाइन्छ । कारबाही गर्ने निकायमा पनि त्यसरी नै भ्रष्टाचार वा भ्रष्टाचारीलाई जोगाउने हिसाबबाट नियुक्त हुने गरेको चर्चा बेलाबेला आउने गरेकै छ । पछिल्लो समय एउटा संगठित अपराधको स्वरूप प्रकट भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका नाममा सार्वजनिक भएको यो अपराध वा भ्रष्टाचार काण्ड लहरोतान्दा पहरो गर्जिन थालेको अवस्थामा आयो । तर यसैलाई निहुँ बनाएर सरकार ढल्ने र थामिने खेल सुरु भएको भनेजसरी चर्चा भइरहेको छ । त्यसले पनि भ्रष्टाचारको डरलाग्दो चित्र देखाउँछ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरण देशमा पछिल्लो समय प्रकट भएको ठूला संगठित अपराध हो । यसमा दुईवटा सरकारका पदाधिकारीहरू समानरूपले संलग्न भएको र ठगीका हिसाबले अर्बभन्दा माथिको रकममा हिसाब हुने अंक बन्छ । यसमा अहिले १६ जना त जेलमा छन् भने १२ जना फरार छन् । तिनै फरारमध्येका एकजना हालै पक्राउ परे । जेलमा रहेकामध्ये बहालवाला सचिवदेखि पूर्व उपप्रधानमन्त्री र गृहमन्त्रीसम्म छन् । उपप्रधानमन्त्रीका बाबुछोरा नै परे भने गृहमन्त्रीका स्वकीय सचिव पनि सँगै छन् । अर्का एक दम्पती परेकोमा श्रीमती भने धरौटीमा छुटेको अवस्था छ । अपराध कर्ममा यस्तो संलग्नता पहिलो पटक प्रकट भएको हो । यो काममा संलग्न रहेको भनी अहिलेसम्मको विवरणले ज–जसलाई देखाएका छन््, ती प्रायः सबै एकअर्काका पोलपोलापोलबाट प्रकट भएका हुन् । अदालतले पुर्पक्षका लागि जेल पठाउँदा यही कुरा उल्लेख गरेको छ । अर्थात् जेल पठाउने आधार मानेको छ । प्रारम्भमा पक्राउ गर्दाको आधार पनि त्यही थियो । अदालतले भनेको छ, कुनै एउटा व्यक्तिले मौकाको बयानमा बकेको कुराले कसैको पनि कसुरको मात्रा देखाउँछ । त्यसलाई अन्यथा मान्नु र कम आक्नु हुँदैन । कतिपय अवस्थामा त अदालतले बयानको त्यो अंश नै कोड गरेको पाइन्छ ।

अदालतबाट पुर्पक्षका लागि यस्तो फैसला गर्दा जे कारण मानियो प्रहरीले हाल पक्राउ परेका र फरार रहेकाहरूको मुद्दाको आधार पनि यसैलाई बनाएको थियो । अर्थात् अभियोगी पक्राउ पर्दा र मुद्दा हालिँदासम्मको कारण बयान नै थियो । थप अनुसन्धानका लागि अभियोगीका बयानलाई नै आधार मान्ने हो भने यसमा मुछिनेहरूको संख्या निकै ठूलो छ । त्यसमा पूर्व प्रधानमन्त्रीहरूका घरआँगनसम्म यो र यस्ता बयान पुगिसकेका थिए । अदालतमा पुगिसकेको हुनाले ती बयानहरू गोप्य रहने कुरा भएन । त्यसै पनि दोस्रो तहको अनुसन्धन गर्न भनी निकायगत रूपले आदेश पनि भएकै छन् । तर सोबमोजिमको अनुसन्धान थालिएको देखिँदैन । यस्तायस्तै घटनालाई लिएर सरकार ढाल्ने र जोगाउने अभ्यास सुरु भएको भन्ने विवरणहरू सार्वजनिक भइरहेका छन् । ती समाचारमा सरकारको नेतृत्वकर्ता र सत्ताका सहयोगी घटक जोडिएर आउने गरेका अपराधकर्मसँग सत्ता साट्ने कुरा भइरहेको हो भने त्यो गम्भीर आपत्तिजनक कुरा हो । यसले प्रहरीको अनुसन्धानलाई बाधा पार्छ भने राज्यप्रति जनविश्वास घटाउँछ । यो घटनामा थप अनुसन्धान भएन भने अपराधले राज्यको संरक्षकत्व पाएको भन्ने बुझाउँछ । आमजनतामा त्यस्तो सन्देश गयो भने अवस्था के होला ? त्यसकारण भन्नैपर्छ राज्य सञ्चालहहरू, अपराधकर्मलाई सत्ताको स्रोत नबनाऊ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया