Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररूसी कन्सर्ट हलमा भएको आक्रमणको विश्वभरबाट निन्दा

रूसी कन्सर्ट हलमा भएको आक्रमणको विश्वभरबाट निन्दा


मस्को  । रुसको मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल)मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् । यस घटनाप्रति विश्वभरका नेताहरूले दुःख व्यक्त गरेका छन् ।

अनुसन्धान समिति (आईसीआर)ले घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्नसक्ने आईसीआरले शनिबार बताएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद दिएका छन् । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले शुक्रबार एक विज्ञप्ति जारी गरी मस्कोमा आजको आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । गुटेर्रेसले रूसको आधिकारिक नाम उल्लेख गर्दै शोक सन्तप्त परिवार, जनता र रूसीसरकारप्रति भावपूर्ण समवेदना व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्ले पनि शोक व्यक्त गर्दै सबै राष्ट्रलाई रूसी सरकार र अन्य अधिकारीहरूसँग आतंकवादका यी निन्दनीय कार्यहरूका दोषी र समर्थकहरूलाई जवाफदेही बनाउन र उनीहरूलाई न्यायको कठघरामा ल्याउन ‘सक्रिय सहयोग गर्न’ आग्रह गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जघन्य आतंकवादी आक्रमणको भत्र्सना गर्दै दुःखको घडीमा भारत सरकार रूसी जनतासँग उभिएको बताएका छन् । त्यसैगरी, चिनियाँ राष्ट्रपति सी चिनफिङले आक्रमणको कडा शब्दमा निन्दा गर्दै रूसी जनता र राष्ट्रपति पुटिनप्रति समवेदना प्रकट गरेका छन् । जापानको विदेश मन्त्रालयका प्रेस सचिव कोबायाशी माकीले आक्रमणको निन्दा गर्दै जापानले शोक सन्तप्त रूसी नागरिकप्रति समवेदना प्रकट गरेका छन् ।

विगत दुई वर्षदेखि रूसी सैन्य आक्रमणको सामना गरिरहेको युक्रेनका राष्ट्रपतिका सहयोगी माइखाइलो पोडोल्याकले टेलिग्राममार्फत यस आक्रमणसँग युक्रेनको कुनै सम्बन्ध नभएको बताएका छन् ।

अमेरिकाले ‘भयानक’ गोलीकाण्डका पीडितप्रति समवेदना व्यक्त गर्दै थप जानकारी लिने प्रयास गरिरहेको जनाएको छ । युरोपियन युनियन (ईयू)ले मस्को आक्रमणले विश्वलाई स्तब्ध बनाएको जनाएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले इस्लामिक स्टेट (आईएस)ले रूसमा गरेको आतंककारी आक्रमणको कडा शब्दमा निन्दा गरेको बताएका छन् । इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले उक्त आक्रमणलाई ‘आतंकवादी कार्य’ भनेका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया