Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअन्तर्वार्ता‘उपचार सेवालाई ग्रामीण भेगसम्म पु-याउन र स्वास्थ्य बीमालाई अझ प्रभावकारी रूपमा लागू गर्न आवश्यक छ’

‘उपचार सेवालाई ग्रामीण भेगसम्म पु-याउन र स्वास्थ्य बीमालाई अझ प्रभावकारी रूपमा लागू गर्न आवश्यक छ’

अनिसा विष्ट, कार्यकारी निर्देशक न्युरो कार्डियो अस्पताल, जहदारोड, विराटनगर


स्वास्थ्य संस्था सञ्चालन गर्नु आफैंमा चुनौतीपूर्ण छ । त्यसमाथि अधिकांश स्वास्थ्य संस्थाहरू पुरुषहरूले नेतृत्व गरिरहेका छन् । तर न्युरो कार्डियो अस्पताल विराटनगरको भने अनिसा विष्टले नेतृत्व गरिरहेकी छिन् । अस्पतालको कार्यकारी निर्देशक विष्ट आफ्नो अस्पताल प्रदेश एककै उत्कृष्ट भएको दाबी गर्छिन् । प्रस्तुत छ, उनै विष्टसँग आर्थिक दैनिकका लागि शंकर लुइँटेलले पछिल्लो समयमा स्वास्थ्य क्षेत्रको अवस्था र त्यहाँ कार्यरत महिलाहरूको बारेमा गरिएको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय स्वास्थ्य क्षेत्रको अवस्था कस्तो रहेको छ ?

समग्रमा स्वास्थ्य क्षेत्रको अवस्था सन्तोषजनक छैन । सहरी क्षेत्रमा सामान्य रहे पनि दूरदराजमा रहने सर्वसाधारण नागरिकहरूले समयमा उपचार पाउन कठिनाइ भएको महसुस गरेको छु । सरकार विकास र समृद्धिका कुरा गरेर हिँडिरहेको छ तर जनतासँग प्रत्यक्ष सरोकार भएको स्वास्थ्य सेवातर्फ सरकारले कस्तो नीति अवलम्बन गरिहेको छ त ? भन्ने प्रश्न खट्किएको महसुस हुन थालेको छ ।

सरकारले विपन्न नागरिकहरूका लागि विभिन्न स्वास्थ्य कार्यक्रमहरू लागू गरेपछि भने विगतभन्दा स्वास्थ्य सेवा सहज र सरल हुँदै गएको छ । तथापि उपचार सेवालाई ग्रामीण भेगसम्म पु¥याउन सकेमा र स्वास्थ्य बीमालाई अझ प्रभावकारीरूपमा लागू गर्नसकेमा सर्वसाधारण नागरिकहरू लाभान्वित भई विकास र समृद्धिमा टेवा पुग्ने थियो ।

तपाईँहरू आफ्नो स्वास्थ्य संस्थालाई प्रदेश १ कै उत्कृष्ट स्वास्थ्य संस्था भएको दाबी गर्नुहुन्छ तर जनताले स्वास्थ्य सेवा पाएको छैन भन्ने गुनासो आइरहेको छ नि ?

यो अस्पतालबाट प्रदेश नं. १ मा पहिलो पटक न्युरोलोजी सेवा, मस्तिष्क शल्यक्रिया (एन्युरिज्म, क्लिपिङ, ट्युमर आदि) एन्जियोग्राफी, एन्जियोप्लाष्टी, मुटुसम्बन्धी रोगमा पेसमेकर, जोर्नी प्रत्यारोपण सेवा, सिटी स्क्यान, एमआरआई, क्याथल्याब ल्याउन सफल भई हाडजोर्नी सेवा, जीआई तथा ल्यापरोस्कोपी सर्जरी, स्त्री तथा प्रसूति सेवा, बालरोग, मानसिक रोगलगायत विविध प्रकारका उपचारहरू सफलतापूर्वक हुँदै आएका छन् । साधारणतया जनकपुरदेखि पूर्व मेचीसम्मका र मित्रराष्ट्र भारतको विहार राज्यका नागरिकहरू समेत उक्त सेवा लिन यहाँ आउनेगरेका छन् । त्यसो हुँदा नागरिकले सेवा नपाएको भन्ने कुरै हुँदैन । यो अस्पताल प्रदेश नं. १ को उत्कृष्ट स्वास्थ्य संस्थाको रूपमा स्थापित भएको कुरा म गर्वका साथ नै भन्ने गर्छु, यसमा कुनै दुईमत नै छैन ।

अहिले तपाईँहरूको स्वास्थ्य संस्थाले नयाँ प्रविधि ल्याएको त छ ?

विगतदेखि नै स्वास्थ्य क्षेत्रमा पूर्वाञ्चलमा विभिन्न प्रविधिहरू पहिलो पटक भित्र्याउने अस्पताल नै हाम्रो हो । हाल थ्रि टेस्लाको एमआरआई सञ्चालनमा छ । मुटुसम्बन्धी सम्पूर्ण शल्यक्रिया सेवा निकट भविष्यमा सुरु गर्ने लक्ष्य राखिएको छ ।

अस्पतालले कस्ता बिरामीको उपचारलाई महत्व दिएको छ ?

सबै प्रकारका बिरामी हाम्रो प्राथमिकतामा नै पर्दछन् । तैपनि विशेषरूपमा चोटपटक लागेका बिरामीहरूको उपचारको साथै मुटुरोग, हाडजोर्नीसम्बन्धी रोग, फिजिसियन सेवा, स्त्री तथा प्रसूति रोग, बालरोगलगायतको रोगहरूको उपचारमा प्राथमिकता दिँदै आएको छौँ । अन्य अस्पतालबाट सेवा दिन नसकी यस अस्पतालमा आउनुहुने बिरामीलाई प्राथमिकताका साथ उपचार गर्ने कुरामा हामीले विशेष महत्व दिएका हुन्छौँ ।

स्वास्थ्य संस्था सञ्चालनमा सरकारको कस्तो सहयोगको अपेक्षा राख्नुभएको छ ?

सरकारको नीतिनियमअन्तर्गत निजीक्षेत्रका स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गराउन सरकारको तर्फबाट विशेष नीति आउनुपर्नेजस्तो मलाई लाग्दछ । अस्पतालले प्रवाह गर्ने सेवाको आधारमा वर्गीकरण गरी सरकारको तर्फबाट सेवा सुुविधाहरू उपलब्ध गराउँदा उपचार सेवा प्रभावकारी हुने तथा सरल ब्याजदरमा वित्तीय सहयोग, सरल भन्सार महसुल तथा सहज ढंगबाट सरकारबाट पाइने सहयोग तथा सुविधा उपलब्ध भएमा अझ प्रभावकारीरूपमा सेवा प्रवाह गर्न सकिने थियो ।

कोरोनाको महामारीको समयमा कसरी सेवा सञ्चालन गर्नुभयो ?

सरकारको नीतिनियम र मापदण्डको अधीनमा रही कोरोना महामारीको संक्रमणलाई फैलिन नदिन उच्च सावधानी एवं सुरक्षा अपनाउँदै कोरोना लागेका बिरामीहरूलाई समेत यस अस्पतालले उपचार गर्ने/गराउने प्रबन्ध मिलाइएको थियो । सो क्रममा यस अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू समेतलाई कोरोना भए पनि उनीहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाई उच्च मनोबलका साथ स्वाथ्य उपचारलाई निरन्तरता दिएर राज्यको निर्देशनअनुसारको दायित्व निर्वाह हामीले गरेका थियौँ ।

यस अस्पतालबाट कारोनाको उपचारका समयमा सरकारले घोषणा गरेका सेवासुविधाहरू बिरामीले पाउन नसकेका गुनासाहरू पनि प्रशस्तै सुनिएका थिए नि ?

प्रदेश सरकारसँग कोरोना बिरामीको उपचारसम्बन्धी सम्झौता गरेर सेवा प्रदान गरिएको थियो । उक्त अवसरमा सरकारबाट निर्देशितभन्दा अझ बढी सेवासुविधा दिई उपचारमा निरन्तरता दिइएकोमा मेरो दाबी पनि छ । तर यदाकदा केही गुनासाहरू भएमा त्यस्ता गुनासाहरूलाई तदारुकताका साथ तत्काल सम्बोधन गरी निराकरण समेत गरिएको तपाईँलाई जानकारी गराउँछु ।

यतिठूलो संस्था कसरी सञ्चालन गरिरहनुभएको छ, कुनै अप्ठ्यारो महसुस भएको छैन ?

स्वास्थ्य संस्था सञ्चालन गर्नु आफैँमा चुनौतीपूर्ण छ । महिला भएर स्वास्थ्य संस्था सञ्चालन गर्नु, सँगसँगै आफ्नो परिवारको उचित व्यवस्थापन गर्नु कठिनाइ भए पनि दृढ निश्चयका साथ भई काम गर्दा महिला वा पुरुष भन्ने फरक सोच नभई आइपर्ने समस्याहरू समाधान गर्दै जुनसुकै काम पनि महिलाहरूले गर्न सक्नेछन् भन्ने कुरामा म विश्वस्त छु ।

स्वास्थ्य क्षेत्रमा सोचेअनुसार महिलाहरू अगाडि आउन नसक्नुको मुख्य कारण के हो जस्तो लाग्छ ?

महिलाहरू पुरुषजत्तिकै काम गर्न र कामको नतिजा निकाल्न सक्षम भएको कुरा विश्वकै विभिन्न महिलाहरूले प्रमाणित गरिसकेका छन् । अतः अवसरको सिर्जना, उपयुक्त प्रोत्साहन र रचनात्मक सुझाव तथा सहयोगले महिलाहरूले सोचेअनुरूप परिणाममुखी नतिजा दिनसक्ने कुरामा म विश्वस्त छु ।

तपाईँ आफैँ एक महिला भएर पनि महिलामाथि नै विभेद गरेको भन्ने गुनासो सुनिन्छ, त्यो कुराको वास्तविकता के हो ?

यस अस्पतालमा कार्यरत महिला कर्मचारीहरूलाई विभेद गरिएको छैन र गर्नु पनि हुँदैन । यस अस्पतालमा करिब ७५ प्रतिशत कर्मचारीहरू महिला छन् । विगत १०/१२ वर्षदेखि कार्यरत छन् । उनीहरूलाई विभेद गर्ने होइन, समय–समयमा उनीहरूको मनोबल वृद्धि गर्ने खालका क्रियाकलापहरू सञ्चालन हुनेगरेका छन् । साथै समय–समयमा म स्वयंले उनीहरूसँग अन्तरक्रिया गरी गुनासाहरू बारेमा प्रस्ट पारिदिँदै गुनासाहरूको उचित सुनुवाइ गर्नेगरेकी छु । यसको साथै महिलामाथि हुने दुर्व्यवहारलाई हामीले हटाउन सक्नुपर्दछ  । महिलालाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्दछ । अनि मात्र महिलाहरू अगाडि बढ्नसक्ने कुरामा म विश्वास गर्दछु ।

तपाईँको संस्थाबाट स्वास्थ्यकर्मी त्यति सुन्तुष्ट छैनन् भन्ने गुनासाहरू आइरहन्छन् नि, किन होला ?

यदाकदा अपवादको रूपमा बाहेक त्यस्ता गुनासाहरू आएका छैनन् । यस अस्पतालमा कार्यरत विभिन्न तहका जिम्मेवार कर्मचारीलाई आफ्ना गुनासाहरू तहगत रूपमा राख्न पाउने वातावरण भएको हुँदा सन्तुष्ट छैनन् भन्ने कुरा निराधार हो । यसको साथै कर्मचारीहरूका आफ्ना पीरमर्काहरू तहगतरूपमा सुनुवाइ नभएको खण्डमा सोझै मसँग राख्न पाउने वातावरण यस अस्पतालमा भएको हुनाले यहाँका कर्मचारीहरू सन्तुष्ट छन् । साथै कर्मचारीहरूको आन्तरिक मूल्यांकन गरी पुरस्कारको व्यवस्थाको साथै कर्मचारीहरूको वृत्तिविकासको लागि स्वदेश तथा विदेशमा समेत अध्ययन, कार्यशाला गोष्ठीहरूमा कर्मचारीहरूको निःशुल्क सहभागिता समेत प्रदेश १ मै मेरो अस्पतालबाटै गराउने गरिएको छ ।

विराटनगरभित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरू किन अव्यवस्थित रहेका होलान् ?

स्वास्थ्य संस्थाहरू सरकारको नीतिनियमको परिधिभित्रै रहेर सञ्चालन भएको हुँदा अव्यवस्थित रूपमा सञ्चालन भएजस्तो लाग्दैन । तथापि समयको माग र आवश्यकताअनुसार सरकारले आवश्यक नीति बनाई स्वास्थ्य संस्था सञ्चालनमा परिमार्जन गर्दै लैजाने गरे स्वास्थ्य संस्था आफैँ परिमार्जित हुँदै जान्छन् ।

निजी क्षेत्रबाट सञ्चालन भएका स्वास्थ्य संस्थाहरूले कार्टेलिङ गरी बिरामी भर्ना गर्ने चलन विराटनगरमा व्याप्त छ नि किन ?

यस्ता खबरहरू मैले पनि सुनेकी छु । सरकारले त्यस्ता बिचौलियाहरूलाई कारबाहीको दायरामा ल्याएको पनि छ । निजी क्षेत्रबाट सञ्चालन भएका कुनै स्वास्थ्य संस्थाले बिरामी भर्ना गर्दा त्यसो गरेको पनि होला । तर यस अस्पतालमा उपचारमा आउने सबै बिरामीलाई सम्बन्धित चिकित्सकको परामर्शमा बिरामीको वा बिरामीको आफन्तको इच्छाअनुसार उपचार गर्न/गराउन पाउने वातावरण यस अस्पतालमा छ । हामीले बिरामी ल्याइदिनुहोस् भनेर कसैलाई भनेका छैनौँ र भन्नु पनि हुँदैन ।

नारी दिवस मनाउँदै हुनुहुन्छ, त्यस अवसरमा तपाईँले नेतृत्व गरेको स्वास्थ्य संस्थाबाट विशेष केही घोषणा गर्ने योजनामा हुनुहुन्छ कि ?

नारी दिवस हरेक वर्ष देशभर विविध कार्यक्रमहरू गरेर मनाउने गरिएको छ । हामीले पनि विगत पाँच वर्षदेखि विभिन्न कार्यक्रमहरू गरी नियमितरूपमा नारी दिवस मनाउँदै आएका छौँ । नारी सशक्तीकरणको लागि यस्ता गतिविधिले नारीलाई राष्ट्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्न अग्रसर प्रदान गर्दछ । हामीले पनि नारी दिवसको अवसरमा प्रसूति तथा स्त्री रोग ओपीडी सेवा निःशुल्क तथा जाँचमा छुट, पाठेघरको मुखसम्बन्धी क्यान्सर जाँच निःशुल्कदेखी सम्पूर्ण सेवामा महिलालाई छुट, गर्भवती हेरचाह प्याकेज, महिला क्रिकेट टोलीलाई पोशाक वितरणजस्ता कार्यक्रमहरूको आयोजना गरेका छौँ ।

अन्त्यमा केही सुझाव छन् ?

कुनै व्यक्ति वा संस्थाले आफ्नोतर्फबाट मात्रै काम गरेर महिला सचेतना र सशक्तीकरण सम्भव छैन । तसर्थ सबैले मिलेर हातेमालो गर्दै जनचेतना फैलाउनु आवश्यक छ । यस कार्यमा सक्रिय भूमिका निर्वाह गर्न म आर्थिक दैनिकमार्फत सम्पूर्णमा आग्रह गर्दछु ।


क्याटेगोरी : अन्तर्वार्ता

तपाईको प्रतिक्रिया