Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालगुरुम्फी लघु जलविद्युत् सहकारीले ७ वर्षदेखिको आयव्यय सार्वजनिक गरेन

गुरुम्फी लघु जलविद्युत् सहकारीले ७ वर्षदेखिको आयव्यय सार्वजनिक गरेन


सुबास बस्नेत
दोलखा, भदौ १
दोलखाको गौरीशंकर गाउँपालिका सुरीमा स्थानीयको लगानीमा निर्माण गरिएको गुरुम्फी जलविद्युत् सहकारीले विगत सात वर्षदेखि सहकारीको हिसाबकिताब सार्वजनिक नगरेको पाइएको छ । सहकारी सञ्चालकले आम्दानी तथा खर्चको विवरण नदेखाई उपभोक्ताको रकममा चरम अनियमितता गरेको स्थानीयको भनाइ छ ।

सहकारीले तत्कालीन समयमा साबिक सुरी गाविसका उपभोक्ताबाट रकम उठाएर २६ दशमलव पाँच किलोवाटको विद्युत् उत्पादन गरेको थियो । सुरीका दुई सय १६ घरपरिवारले प्रतिपरिवार एक सय दिनबराबरको श्रमदान तथा १० देखि १५ हजारसम्म शुल्क उठाएर गुरुम्फी जलविद्युत् आयोजना निर्माण गरी २०६५ सालदेखि बत्ती बाल्न सुरु गरेका थिए ।

स्थानीयले जलविद्युत् उत्पादन गर्न ठूलो आर्थिक लगानी गरे पनि सहकारी सञ्चालकले २०७० सालदेखिको आयव्यय सार्वजनिक गरेका छैनन् । सहकारीले स्थानीयको रकम हिनामिना गरेको भन्दै आयव्यय सार्वजनिक गराउन संघर्ष समिति नै गठन गरेका छन् । उपभोक्तालाई आम्दानी तथा खर्च लुकाएर सार्वजनिक सुनुवाइ नगरी सहकारीको रकममा मनपरी गरेको स्थानीय उपभोक्ता एवं संघर्ष समितिका संयोजक रतिराम श्रेष्ठले बताए । संयोजक श्रेष्ठका अनुसार स्थापनाकालदेखिका सहकारीका अध्यक्ष सूर्यबहादुर खत्रीलगायतको समितिले २०७० सालदेखि सहकारीको साधारणसभा नै गरेको छैन ।

सात वर्षदेखि सहकारीले साधारणसभा नै नगरेका कारण दुई सय जना उपभोक्ताको भेला गरेर २५ जनाको संघर्ष समिति गठन गरेको श्रेष्ठले बताए । समितिले सहकारीको हिसाबकिताब पारदर्शी गर्नुपर्नेसहित सार्वजनिक सुनुवाइको माग गरे पनि सहकारीले कुनै चासो नदेखाएको स्थानीय उपभोक्ता श्यामसुन्दर तामाङले बताए । तामाङका अनुसार स्थानीयलाई नियमित विद्युत् बाल्न दिन भन्दै सहकारीका सञ्चालकले स्थानीय सरकार तथा प्रदेश सरकारबाट अनुदान ल्याए पनि अहिलेसम्म उपभोक्तालाई सहकारीको नाममा आएको अनुदानबारे कुनै जानकारी दिइएको छैन ।

गुरुम्फी जलविद्युत् सहकारीको लागि वाग्मती प्रदेश सरकारले आव २०७४/७५ मा ३० लाख अनुदान पठाएको थियो । त्यसैगरी गाउँपालिकाले १० लाख अनुदान, वडाले तीन लाख अनुदान दिएको थियो भने गाउँपालिकाभित्र रहेको अन्य हाइड्रोपावरबाट १० लाख अनुदान आएको थियो । भूकम्पपछि थप भएका नयाँ भूकम्पपीडित ८८ घरपरिवारबाट सहकारीलाई करिब आठ लाख रकम प्राप्त भए पनि अहिलेसम्म सहकारीले कुनै पनि रकमको सार्वजनिक सुनुवाइ र अडिट नगरेको तामाङले बताए ।

संघर्ष समितिले १० दिनभित्र सहकारीलाई आम्दानी तथा खर्चको विवरण गर्न निवेदन दिएकोमा सहकारीले भदौ १५ पछि यस विषयमा छलफल गर्ने पत्र पठाएको संघर्ष समितिका संयोजक श्रेष्ठले बताए । उक्त जलविद्युत् आयोजना विगत एक वर्षदेखि बन्द छ । स्थानीयको लाखौं लगानीमा निर्माण गरिएको जलविद्युत् आयोजना एक वर्षदेखि बन्द रहँदा पनि सहकारीले पुनः सुचारु गर्न कुनै चासो नदिएको स्थानीयले बताएका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x