Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘ग्लोबल एनआरएन सिंगिङ आइडल’ हुने, विजेतालाई दुई लाख रुपैयाँ पुरस्कार

‘ग्लोबल एनआरएन सिंगिङ आइडल’ हुने, विजेतालाई दुई लाख रुपैयाँ पुरस्कार


काठमाडौं ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेन्ड जेनेरेशन – २०२१’ को आयोजना गर्ने भएको छ ।

नेपाली कला, संस्कृतिको संरक्षण एवं प्रवासमा बसेर संगीत साधना गरिरहेका नेपाली प्रतिभाहरूलाई पहिचान एवं प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको बताइएको छ । एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार एनआरएनए दोस्रो पुस्ताको यो अभियानमा ४० वर्षसम्मका नवोदित गायक–गायिका भर्चुअलमार्फत सहभागी हुन सक्नेछन् ।

‘सार्क मुलुकबाहेकका, गैरआवासीय नेपाली संघ गठन भएका सबै राष्ट्रबाट प्रतियोगीहरुलाई सहभागी गराइनेछ’, रेग्मीले भने, ‘विश्वभरका छवटा क्षेत्रीय समितिको सहभागिता रहनेछ, प्रत्येक क्षेत्रीय समितिबाट कम्तीमा १२ जना प्रतियोगीहरू सहभागी हुन पाउनेछन्, छ वटाभन्दा धेरै राष्ट्रसहितको क्षेत्रीय समिति छ, प्रत्येक राष्ट्रबाट १ प्रतियोगी थपिनेछन् ।’

गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्त प्रमुख सल्लाहकार एवं आयोजक क्षेत्रका क्षेत्रीय संयोजक प्रविण गुरुङको मुख्य सहकार्यमा आयोजना गरिनलागेको उक्त कार्यक्रममा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायक विजय लामा र प्राश्ना शाक्य निर्णायक भूमिकामा रहेका छन् । विवेक खतिवडाले उद्घोषण गर्नेछन् । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार होस्ट कन्ट्रीको भूमिकामा रहेको छ ।

‘ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेसन – २०२१’ यो पहिलो सिजन रहनेछ । हरेक कार्यकाल अर्थात् प्रत्येक दुई वर्षमा एक पटक यो कार्यक्रम हुने रेग्मीले जानकारी दिए । कोरोना कहरका कारण यसपटक भर्चुअलमार्फत गर्नुपर्ने बाध्यता रहे पनि आगामी सिजनमा अन्तर्राष्ट्रियस्तरको स्टेज तयार पारेर अन्तर्राष्ट्रियस्तरकै रियालिटी शो गर्ने योजना रहेको रेग्मीले बताए ।

आइडल विजेता प्रतियोगीले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । द्वितीय पुरस्कार एक लाख रुपैयाँ, तृतीय पुरस्कार ५० हजार रुपैयाँ र चौथो २५ हजार रुपैयाँ रहेको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने पाँच जना प्रतियोगीलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने जानकारी उनले दिए । आगामी अप्रिल १६ र १७ तारिखमा प्रतियोगिता सञ्चालन गरिनेछ ।

कस्तो हुनेछ प्रतियोगी छनौट प्रक्रिया ?
कार्यक्रममा तीन चरणमा प्रतिस्पर्धा गराएर विजेता घोषणा गर्ने तयारी गरिएको छ । पहिलो डिजिटल राउन्डमा प्रत्येक प्रतियोगीले बढीमा दुई मिनेटसम्मको सफा र प्रस्ट अडिसन भिडियो आ–आफ्नो राष्ट्रिय समन्वय परिषद्लाई र रेकर्डका लागि आयोजक कमिटीलाई पनि सीसी गरी पठाउनुपर्नेछ । राष्ट्रिय समन्वय समितिले उक्त भिडियो क्षेत्रीय समितिलाई पठाउनेछ । क्षेत्रीय समितिले छनौट गरी १२ जना प्रतियोगीको भिडियो क्लिप आयोजक कमिटीलाई पठाउने छ । उक्त भिडियो क्लिपलाई हेरी निर्णायकमण्डलले पहिलो चरणमा ३७ जना प्रतियोगी छनौैट गरी ओपनिङ राउन्डमा लैजानेछन् ।

छनौट भएका ३७ जना प्रतियोगीहरूलाई ओपनिङ राउन्डका लागि तीन चरणमा बाँडिनेछ । ३७ जना प्रतियोगीमध्ये अन्तरा राउन्डबाट १२ जना प्रतियोगी बाहिरिने र २५ जनाले मात्रै ओपनिङ राउन्डको सारेगम राउन्डमा प्रवेश गर्नेछन् । फाइनल राउन्डलाई पनि तीन चरणमा विभाजित गरिनेछ । जसमा ओपनिङ राउन्डको पियानो राउण्डमा प्रवेश गरेका १३ जना प्रतियोगीमध्ये पहिलो चरणबाट चार जना प्रतियोगीहरू बाहिरिने छन् ।

नौ जना प्रतियोगीहरूले दोस्रो चरणमा प्रवेश पाउनेछन् । दोस्रो चरणबाट थप चार जना प्रतियोगी बाहिरिने र अन्तिममा पाँच जना प्रतियोगीले ग्राण्ड फिनालेमा प्रवेश पाउने रेग्मीले बताए । ‘प्रतियोगीले ग्राण्ड फिनालेमा १–१ वटा गीत गाउनेछन्, त्यही गीतका आधारमा एक जना प्रतियोगी बाहिरिने र चार जनालाई प्रथम, दोस्रो, तेस्रो र चौथो घोषणा गरिनेछ,’ रेग्मीले भने ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया