Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालआयात खुला भए पनि तत्काल गाडी ल्याउन सक्ने अवस्था छैन : व्यवसायी

आयात खुला भए पनि तत्काल गाडी ल्याउन सक्ने अवस्था छैन : व्यवसायी


काठमाडौं । सरकारले सवारीसाधनहरूको आयात खुला गरे पनि तत्काल गाडी ल्याउन सक्ने अवस्था नरहेको व्यवसायीहरूले बताएका छन् । मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसन, प्रदेश १ का अध्यक्ष सञ्जयकुमार श्रेष्ठले सवारीसाधनहरूको आयात खुला भए पनि एलसी खोली ५० प्रतिशत नगद मार्जिन कायम रहेकाले सवारी आयात गर्न समस्या रहेको बताए । ५० प्रतिशत मार्जिन र ५० प्रतिशत मात्रै फाइनानसिङ गर्न पाइने व्यवस्थाले अटो व्यवसायीहरू मारमा परेको भन्दै उनले नगद मार्जिनलाई पुरानै अवस्थामा ल्याउनुपर्ने र ८० प्रतिशत फाइनान्सिङ बनाउनुपर्ने बताए ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिलाई अझ गहनरूपमा समीक्षा गर्नुपर्ने र संस्थागत निक्षेपको ब्याजदर ४ प्रतिशत कायम गरी लगानीयोग्य रकमको सुनिश्चितता गर्नुपर्ने उनको भनाइ छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका केन्द्रीय उपाध्यक्ष सुवाष आचार्य राष्ट्र बैंकले मौद्रिक नीतिमा सुधार नगरे अर्थतन्त्रलाई कसैले जोगाउन नसक्ने बताउँछन् । उद्योगी व्यवसायीहरूको विरोधलाई मत्थर पार्नका लागि मात्रै स्प्रेडदरमा सामान्य संशोधन गरिएको उनको भनाइ छ । स्प्रेडदरलाई कम्तीमा पनि ३ प्रतिशत कायम गर्नुपर्ने उनले बताए । त्यसैगरी बैंकको चर्को ब्याजदरकै कारण मुलुकका ३० प्रतिशत व्यवसायीहरू खराब ऋणीको सूचीमा परेको उनले जानकारी दिए । यस्तै अवस्था कायम रहे ७० प्रतिशत उद्योगी व्यवसायीहरू खराब ऋणीको सूचीमा पर्ने र मुलुकको आर्थिक क्षेत्र नै दर्दनाक बन्ने उनको दाबी छ । यस्तै मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका सचिव मनोज विक्रम शाहले सरकारले गाडी आयात गर्न दिने निर्णय गरे पनि प्रतिबन्ध गर्नुभन्दा पहिला लागू गरिएका सबै व्यवस्था हटाउनुपर्ने बताए । अहिलेकै बैंक ब्याजदरमा कसैले गाडी खरिद नगर्ने उनको भनाइ छ । आयात खुल्ला भए पनि तत्काल गाडी ल्याउन सक्ने अवस्था नभएको उनले बताए ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पनि राष्ट्र बैंकद्वारा जारी नीति तथा बैंक ब्याजदरको विरुद्धमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । नाडाले गत बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सरकार र राष्ट्र बैंकविरुद्ध धर्ना दिएको थियो । यस्तै गरी नाडाको संस्थागत सदस्य मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसन, प्रदेश नं. १ ले गत बिहीबार नै विराटनगरको महेन्द्र चोकमा शान्तिपूर्ण विरोध प्रदर्शन कार्यक्रमको आयोजना गरेको थियो । एसोसिएनका अध्यक्ष सञ्जय कुमार श्रेष्ठको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा विराटनगर क्षेत्रलगायत प्रदेश १ मा सञ्चालित विभिन्न अटोमोबाइल्स क्षेत्रसँग सम्बन्धित व्यवसायीहरू सहभागी थिए ।

विरोध प्रदर्शनका क्रममा अटोमोबाइल्स व्यवसायीहरूले हातमा कालोपट्टी, कालो व्यानर र प्लेकार्ड बोकेर धर्ना दिएका थिए । प्रदर्शनमा व्यवसायीहरूले बैंकिङ क्षेत्रको सहयोगविना अटोमोबाइल्स क्षेत्र चल्नै नसक्ने भएकोले त्यसको फाइदा उठाउँदै बैंक तथा वित्तीय संस्थाहरूले ७ दशमलव ५ प्रतिशतको ब्याजदर बढाएर १६ दशमलव ५ प्रतिशतसम्म पु-याएको जानकारी दिए । मुलुकको मुख्य आर्थिक क्षेत्र उद्योगधन्दा र व्यवसाय नै धराशायी बनेको बेलामा बैंकिङ क्षेत्र भने अर्बौँको नाफामा रहनु दुर्भाग्यपूर्ण भएको बताए ।

विरोध कार्यक्रममा उपस्थित व्यवसायीहरूले नेपाल राष्ट्र बैंकद्वारा जारी चालू पुँजीकर्जा मार्गदर्शन, २०७९ तत्कालका लागि स्थगित गर्नुपर्ने, शतप्रतिशत नगद मार्जिन र ५० प्रतिशत नगद मार्जिन राखेर प्रतितपत्र खोल्नुपर्ने व्यवस्थालाई पहिलेकै अवस्थामा ल्याउनुपर्ने, बैंकहरूको तरलता अभावलाई सहज बनाउन सिडी रेसियोलाई पुनरावलोकन गर्नुपर्ने, बैंकहरूबाट सवारीसाधनको हायर पर्चेज लोन स्वीकृत भएपछि जारी गरिने डेलिभरी अर्डर (डीओ) बापतको भुक्तानी समयावधि सवारीसाधन बैंकको नाममा नामसारी भएको एक हप्ताभित्र गरिनुपर्ने, बैंकहरूबाट निजी सवारीसाधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रक्रियामा लोन टु भ्यालु रेसियोको हालको सीमा ५० प्रतिशतबाट वृद्धि गरी ७० प्रतिशत कायम गरिनुपर्ने, पुनकर्जा नवीकरण गर्ने म्याद एक वर्षको लागि थप गरिनुपर्ने, कोभिड तथा आयात प्रतिबन्धका कारण लामो समयदेखि थला परेको अटोमोबाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनर्तालिकीकरण तथा ब्याजदरमा विशेष सहुलियको व्यवस्था गरिनुपर्नेलगायतका माग राखेका थिए । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x