Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपाल र अमेरिकाबीचको व्यापार वृद्धिमा जोड

नेपाल र अमेरिकाबीचको व्यापार वृद्धिमा जोड


काठमाडौं । नेपालको आर्थिक समृद्धि एवम् नेपाली वस्तु निर्यात तथा पर्यटन प्रवर्द्धनका लागि नेपाल र अमेरिकाबीचको व्यापार वृद्धिमा जोड दिइएको छ । नेपाली महावाणिज्यदूतावास न्यूयोर्कले गैरआवासीय नेपाली संघ, अमेरिका, न्यूयोर्क च्याप्टरसँगको सहकार्य र स्थानीय नेपाली उद्यमी, व्यवसायी तथा संघ/संस्थालगायतको सहभागितामा न्यूयोर्कमा आयोजित ‘नेपाली उत्पादन, मौलिक परिकार तथा पर्यटन प्रवर्द्धनमा गैरआवासीय नेपाली समुदाय/व्यवसायीको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागीहरुले उक्त कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमले नेपाल र अमेरिकाबीचको व्यापार, पर्यटन, शैक्षिक तथा सांस्कृतिक आदानप्रदान अझ वृद्धि गर्न नेपाली व्यवसायी, शैक्षिक संस्था, नेपालका मित्र अमेरिकी नागरिक, पर्यटक, तथा गैरआवासीय नेपाली समुदायको सञ्जाल निकै प्रभावकारी हुनसक्ने बताए । विदेशमा रहेका नेपाली समुदायले हासिल गरेको ज्ञान, सीप पुँजी, एवम् प्रविधिबाट नेपालले अझ बढी लाभ लिन सबैको प्रयास आवश्यक हुने उनको भनाइ थियो । उनले नेपाल र अमेरिकाबीचको व्यापारमा दुवै देशलाई लाभ हुने गरी उच्च वृद्धि सम्भव रहेको र यसका लागि थप बजारीकरण जरुरी रहेको बताए । दुईपक्षीय व्यापारको अवस्था, अमेरिका निर्यात भइरहेका र उच्च सम्भावना भएका नेपाली वस्तु र ती वस्तुले अमेरिकी बजार प्रवेशमा पाउने सुविधाबारे पनि जानकारी दिएका थिए । अमेरिकामा नेपाली परिकार र पर्यटन प्रवर्द्धनमा संलग्न व्यवसायीले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले बढ्दो नेपाली समुदाय र विस्तारित सञ्जालबाट संख्यात्मक र गुणात्मक दुवै रुपमा नेपालको प्रवर्द्धनमा अझ बढी योगदानका लागि नेपाली समुदायलाई आग्रह गरे ।

यस्तै नेपाल र अमेरिकाबीच रहेको मैत्रीपूर्ण र सुमधुर कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ पार्न जनस्तर र व्यवसायस्तरका सम्बन्धको महत्वपूर्ण भूमिका हुने उनको भनाइ थियो । कार्यक्रममा अमेरिकामा विभिन्न नेपाली वस्तुको आयात, बजारीकरण, बिक्रीवितरण तथा पर्यटन र परिकार प्रवर्द्धनमा सक्रिय सर्वश्री अनिल रौनियार, लिंकन एभरेष्ट, सुमित अग्रवाल, निश्चल बाँस्कोटा, दुर्गेशजंग कार्की, मनीष कर्ण र साङ्गदोर्जे शेर्पा गरी सात जना व्यवसायीद्वारा प्रस्तुतीकरण गरिएको थियो । प्रस्तुतीकरणमा नेपालको प्रवर्द्धनका लागि आ–आफ्ना तर्फबाट भइरहेका प्रयास, अवसर र चुनौती तथा नेपालमा स्थानीयस्तरमा उत्पादित वस्तुदेखि अन्य वस्तु निर्यातसञ्जालमा जोड्न, जीएसपी नवीकरण, भन्सार सुविधा, बजारीकरण र नेपाली वस्तुको गुणस्तर कायम राख्न नेपाल सरकारको सहयोग आवश्यक रहेको धारणा व्यवसायीले राखेका थिए ।

कार्यक्रममा एनआरएनए– न्यूयोर्क च्याप्टरका उपाध्यक्ष शोभाकान्त पाण्डेले नेपाल सरकारले देशको आर्थिक समृद्धिका लागि एवम् नेपाली वस्तु निर्यात तथा पर्यटन प्रवर्द्धनका लागि चालेका कदममा गैरआवासीय नेपाली समुदायको साथ र सहयोग रहने प्रतिबद्धता जनाए । कार्यक्रममा आमन्त्रित अतिथिका लागि नेपाली परिकारसहितको दिवाभोजको व्यवस्था गरिएको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x