Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधदोलखामा ४५ हजार सल्लाका बिरुवा रोपण

दोलखामा ४५ हजार सल्लाका बिरुवा रोपण


दोलखा । डिभिजन वन कार्यालय चरीकोटमार्फत जिल्लाका विभिन्न स्थानमा ४५ हजार लौठ सल्लाका बिरुवा रोप्ने काम भएको छ । अझै पनि किसानहरुबाट माग आइरहेकोले असार मसान्तसम्म यो संख्या ५० हजारसम्म पुग्नसक्ने डिभिजन वन कार्यालय दोलखाका प्रमुख थीरबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार पाँच हजार बिरुवा सामुदायिक वनमा तथा ४० हजार व्यक्तिको निजी जग्गामा रोपण गरिएको छ । कुल पाँच सय ६२ रोपनी क्षेत्रफलमा औषधीय गुणयुक्त दुर्लभ लौठ सल्लाको बिरुवा रोपण गरिएको हो । जिल्लाको जिरी नगरपालिकाको वडा नम्बर ६, ७, ८ र ९ मा, तामाकोसी गाउँपालिकाको वडा नम्बर ७, वैतेश्वर गाउँपालिकाको वडा नम्बर १, २ र ७, गौरीशङ्कर गाउँपालिकाको वडा नम्बर १, २ र ४, कालिञ्चोक गाउँपालिकाको वडा नम्बर ५ र ६, भीमेश्वर नगरपालिकाको वडा नम्बर १ र ७ मा लौठ सल्लाको बिरुवा रोपण गरिएको छ । एकै जना किसानले आठ हजारसम्म बिरुवा लगाएकाले लौठ सल्ला खेतीमा किसानको आकर्षण बढ्दै गएको देखिएको डिभिजनप्रमुख कार्कीले बताए ।

संघीय र प्रदेश सरकारको जडीबुटी खेतीसम्बन्धी विभिन्न शीर्षकमा प्राप्त रकमबाट बजारमूल्यमा बिरुवा खरिद गरी किसानहरुलाई वितरण गरेको उनले जानकारी दिए । चालू आर्थिक वर्षमा जडीबुटी खेती विस्तार कार्यक्रमका लागि संघीय सरकारबाट सात लाख रुपैयाँ र बागमती प्रदेशको पकेट क्षेत्रमा जडीबुटी खेती विस्तार कार्यक्रमका लागि १०÷१० लाख रकम प्राप्त भएकोमा सोही रकमबाट बिरुवा उपलब्ध गराइएको डिभिजन वन कार्यालयले जनाएको छ । बिरुवाको दुरुपयोग नहोस् भन्ने उद्देश्यले किसानले बिरुवा रोप्न खाडल खनेपछि अनुगमन गरेर मात्र बिरुवा उपलब्ध गराइएको डिभिजनप्रमुख कार्कीले बताए । बिरुवा रोपेपछि अनिवार्यरुपमा मुचुल्का उठाई कार्यालयमा बुझाएपछि डिभिजनबाट बिरुवा रोपण गरेको प्रमाणपत्र प्रदान गरिने व्यवस्था मिलाइएको छ ।

समुद्र सतहबाट १५ सयदेखि २५ सय मिटरको उचाइमा लौठ सल्लाको खेती गर्न सकिन्छ । विशेषगरी यसको पातबाट क्यान्सरविरुद्ध काम गर्ने ट्रयाक्सोल नामक रसायन तयार गरिन्छ । ट्रयाक्सोलले क्यान्सर कोषहरुको विभाजन प्रक्रियालाई रोक्ने विज्ञहरुको भनाइ रहेका छ ।


क्याटेगोरी : बिबिध, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया