Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनक्कली कागजातका आधारमा लम्पी स्किनविरुद्धको खोप आयातको अनुमति !

नक्कली कागजातका आधारमा लम्पी स्किनविरुद्धको खोप आयातको अनुमति !


काठमाडौं । नेपालमा बिक्रीवितरण भइरहेको गाईभैँसीमा देखिएको लम्पी स्किन डिजिज (एलएसडी)विरुद्धको खोप नक्कली भएको पाइएको छ । कान्तिपुर भेट डिस्ट्रिब्युटर्सले नक्कली कागजातको आधारमा खोप आयात गरी बिक्रीवितरण गरेको भेटिएको हो । नक्कली खोप र नक्कली कागजातका आधारमा खोप बिक्री र अनुमतिका लागि पशु सेवा विभागकै तत्कालीन उच्च अधिकारीको गम्भीर साँठगाँठ भएको पाइएको छ ।

विभागका तत्कालीन महानिर्देशक डा. सम्झना काफ्लेको नेतृत्वमा नक्कली कागजात प्रमाणित गरी गम्भीर भ्रष्टाचार भएको थियो । यो प्रकरणपछि उनलाई मन्त्रालय तानेर अनुसन्धान थालिएको छ भने विभागमा उमेश दाहाललाई सरुवा गरिएको छ । लम्पी स्किन रोग लागेपछि गाईभैँसीको खुट्टा सुन्निने, जिउमा फोका आउने, कानमा गिर्खा देखिने र घाँसपानी खान छाड्ने गर्दछन् । गत चैतदेखि नेपालमा यो रोगको महामारी फैलिएको हो । पशु सेवा विभागको तथ्यांकअनुसार लम्पी स्किन महामारीबाट पाँच महिनामा ५२ हजार चार सय ५८ गाईभैँसीको मृत्यु भएको छ भने १५ लाख १९ हजार सात सय ७९ संक्रमित भएका छन् ।

नेपाल पशु चिकित्सा परिषद्ले यो वर्ष लम्पी महामारीका कारण एक खर्ब २६ अर्बको पशुधन क्षति हुने बताएकोे छ । यति ठूलो क्षति भइरहेको अवस्थामा राज्यका जिम्मेवार अधिकारीको साँठगाँठमा नक्कली खोपको अवैध धन्दा खुलमखुला चलिरहेको छ । त्यसमा पनि राज्यकै संरक्षणमा कान्तिपुर भेट डिस्टिब्युटर्सले नक्कली कागजात पेस गरेको पाइएको हो ।

खोप आयात गर्ने कम्पनीहरूले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले निर्धारण गरेको खोपसम्बन्धी प्राविधिक मापदण्ड पूरा गरेको हुनुपर्छ । मापदण्डअनुसार विभागबाट तीनवटा कम्पनीले खोप आयात गर्न अनुमति पाएका छन् । यसमध्ये कान्तिपुर भेट डिस्टिब्युटर्सले नक्कली कागजात पेस गरे पनि विभागका अधिकारीहरूको मिलेमतोमा खोप आयात र बिक्रीको अनुमति दिएको रहस्य बाहिरिएको छ ।

विश्वभरका मुलुकमा पशुका लागि दिइने खोप विश्व पशु स्वास्थ्य संगठनको सहयोग केन्द्रका रूपमा स्थापित प्रयोगशालाबाट ‘सर्टिफाइड’ भएको हुनुपर्छ । यसरी स्थापित प्रयोगशालामध्ये अफ्रिकन युनियनले स्थापना गरेको ‘एयु प्यान भ्याक’ नामक प्रयोगशाला इथिओपियामा छ । कान्तिपुर भेट डिस्टिब्युटर्सले सोही एयुको प्रमाणपत्र नक्कली बनाएर खोप आयात गरेको हो । कान्तिपुर भेटले पेस गरेको प्रमाणपत्र नक्कली रहेको एयु प्यानभ्याकले विभागलाई जानकारी गराइसकेको छ । इमेलमार्फत प्राप्त जानकारीअनुसार उक्त खोप नक्कली हो ।

विभागमा कान्तिपुरले हेस्टर बायोसाइन्सेस अफ्रिका लिमिटेड किबाह, तान्जानियाबाट उत्पादित खोप सर्टिफाइड भएको प्रमाण पेस गरेको थियो । जसमा रिपोर्टको डिटेल क्यूसीआर अर्थात् क्वालिटी कन्ट्रोल रिपोर्ट २१०७ मा डिटेल रहेको बताइएको छ । तर, क्यूसीआर रिपोर्ट गायब पारिएको छ । क्यूसीआर रिपोर्टबारे सोधीखोजी गर्दा विभागका अधिकारीहरूको भागाभाग भएको छ । सूचना अधिकारी चन्द्र ढकाल र विभागकै भेटेनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला बूढानीलकण्ठका कर्मचारी नवीन उपाध्याय सम्पर्कविहीन छन् । कान्तिपुर भेटले हेस्टर बायोसाइन्स अफ्रिका लिमिटेड किबाह तान्जानियाबाट उत्पादित एलएसडी भ्याक्सिन आयात गरी बिक्री गरिरहेको छ । तर, सो कम्पनीले अहिलेसम्म एलएसडी भ्याक्सिन उत्पादनको अनुमति नै पाएको छैन । एलएसडी भ्याक्सिन हेस्टरले पाएको हालसम्मको अपडेटमा देखिँदैन । जसलाई एयु प्यानभ्याकको वेबसाइटमै हेर्न सकिन्छ ।

कान्तिपुर भेटले पेस गरेको सर्टिफिकेटमा भ्याक्सिनको नाम (एलएसडी लम्पी सिल्ड—एन) उल्लेख छ । तर, यो जोभ्याक नामक कम्पनीले उत्पादन गर्ने भ्याक्सिन हो । यसलाई जोर्डन बायोइन्डस्ट्रिजले उत्पादन गर्दैै आएको छ । एयु प्यानभ्याकले उपलब्ध गराउने सक्कली प्रमाणपत्रमा क्यूसीआर रिपोर्टकोे डिटेल हुनेगरेको छ । तर, उनले पेस गरेका काजगजातमा क्यूसीआरको रिपोर्ट नै गायब छ । यसबारे उक्त कम्पनीका सञ्चालक ऋषि बराललाई पटक–पटक प्रश्न गर्दा उनले उत्तर दिनै सकेनन् ।

‘एयु प्यानभ्याकले त्यस्तो प्रमाणपत्र दिनेगरेको छैन । यो पनि नोट गर्नुहोला । हामीले दिने सर्टिफिकेटमा सबै डिटेल हुनेगरेको छ’, यो प्रकरणको अनुसन्धानकर्तासँग प्यान भ्याकका प्रतिनिधले भनेका छन्, ‘जो यो रिपोर्टमा देखिएको छैन । यो सर्टिफिकेट आधिकारिक होइन ।’

पशु सेवा विभागले खोप आयातका लागि प्राविधिक मापदण्ड (एलएसडी होमोजिअस भ्याक्सिन) (निथलिङ्ग स्ट्रेन) न्यूनतम टिसिड एक्स १०३.५ हुनुपर्ने उल्लेख छ । सोही मापदण्डलाई पालना गरेको देखाउन कान्तिपुर भेटले तान्जानियाँको स्वास्थ्य मन्त्रालय मातहत रहेको मेडिसिन एन्ड मेडिकल डिभाइसेस (टीएमडीए)को कागजात समेत किर्ते गरेको छ । विभागमा रहेको टीएमडीएको कागजात एउटा र त्यहीँ उल्लेख भएको क्यूआर कोडमा अर्कै देखिन्छ । कागजमा नेम अफ प्रडक्टअन्तर्गत कमन नेम भनेर लाइभ एचुनेटेड लम्पी स्किन डिजिज, स्ट्रेन निथलिङ उल्लेख छ । तर, सोही कागजमा रहेको क्युआर गर्दा खुल्ने पेजमा निथलिङ भन्ने शब्द नै देखिँदैन । यसबारे प्रश्न गर्दा कान्तिपुर भेटका मालिक आफ्नो फ्लाइट छ भन्दै फोन काटे ।

करोडौंको खोप बिक्री भइसकेको खुलासा !
नक्कली कागजातको प्रयोग गरेर कान्तिपुर भेटले सन् २०२३ जुलाई ६ मा तीन लाख डोज र जुलाई १४ मा पाँच लाख डोज खोप आयात गरिसकेको छ । जुन खोप बजारमा खुलमखुला बिक्रीवितरण भइरहेको छ । विभागले यो विवरण गोप्य राखेको छ । यतिमात्रै होइन कान्तिपुर भेटले प्रतिडोज २० रुपैयाँमा खरिद गरेर ल्याएको खोप सर्वसाधारणलाई एक सय ४० रुपैयाँ असुल गरिरहेको छ । नेपाल पशु चिकित्सा परिषद्का प्रवक्ता डा. मनोजकुमार शाहीले नक्कली भ्याक्सिन प्रयोग भएको पाइएमा त्यसले पशु स्वास्थ्यमा गम्भीर असर पार्ने बताएका छन् । विज्ञहरूले नै पशु स्वास्थ्यमा असर पर्ने बताइरहेको बेला सरकारले हालसम्म कुनै छानबिन गरेको छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया