Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअख्तियारको टोली फर्किएपछि फेरि ‘लाइसेन्स’को परीक्षामा पास गर्ने बढे

अख्तियारको टोली फर्किएपछि फेरि ‘लाइसेन्स’को परीक्षामा पास गर्ने बढे


वीरगञ्ज । नारायणी यातायात व्यवस्था सवारीचालक अनुमतिपत्र कार्यालय वीरगञ्जमामा फेरि लिखित तथा ‘ट्रायल’ परीक्षामा पास गर्नेहरूको संख्या अस्वाभाविकरूपमा बढेको छ ।

घुसको दररेट तोकेर नै उक्त कार्यालयले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को लिखित तथा ट्रायल परीक्षा फेल भएकाहरूलाई पास गराएर लाइसेन्स दिनेगरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडामा उजुरी परेपछि अख्तियारको टोलीको निगरानीमा केही समय ट्रायल भएको थियो । तर, अख्तियारको टोली फर्किनासाथ सो कार्यालयबाट लाइसेन्सको लिखित र ट्रायल परीक्षामा पास हुनेहरूको संख्या अस्वाभाविकरूपमा बढेको छ ।

अख्तियारले निगरानी गर्न छाडेपछि असोज ४ गते बिहीबार भएको लिखित परीक्षामा दुई हजार नौ सय ९३ जना परीक्षार्थीमध्ये करिब ८५ प्रतिशत परीक्षार्थीलाई पास गराइएको छ । जब कि भदौ २४ गते अख्तियार टोलीको निगरानीमा भएको लिखित परीक्षामा सहभागी सात सय चार जना परीक्षार्थीमध्ये दुई सय ८३ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका थिए । जुन कुल परीक्षार्थीमध्ये पास भएको करिब ४० प्रतिशत मात्र थियो ।

यसअघि गत असार ६ र ७ गते भएको ट्रायलमा नारायणी यातायात व्यवस्था कार्यालय वीरगञ्जका प्रमुख कमलराज गौतमका विश्वासपात्र कर्मचारीले फेल भएका सेवाग्राहीहरूलाई पास गराउन पैसा लिएको आरोप सार्वजनिक भएको थियो ।

ट्रायल भएको दिनको नतिजा ‘सिस्टम’मा ‘अपलोड’ नगरेपछि ट्रायलप्रमुखको कार्यप्रति पनि प्रश्न उठाइएको थियो । अख्तियारको टोलीले निगरानी गर्न छाड्नासाथ सवारीचालक अनुमतिपत्रको लिखित वा ट्रायल परीक्षामा पास हुनेहरूको संख्या बढ्नाले आर्थिक चलखेलमा अवैध तरिकाले सवारी लाइसेन्स वितरण हुनेगरेको आरोपमाथि बल पुगेको छ ।

सवारी लाइसेन्सका लागि हुने लिखित तथा ट्रायल परीक्षामा ‘सेटिङ’ गर्न नारायणी यातायात व्यवस्था सवारीचालक अनुमतिपत्र कार्यालय वीरगञ्जका कर्मचारीसहित ट्राफिक प्रहरी कार्यालय पर्साका कर्मचारीको समेत मिलेमतो रहने गरेको आरोप लाग्ने गरेको छ । सवारी लाइसेन्सका लागि हुने अधिकांश परीक्षामा ट्राफिक प्रहरी कार्यालय पर्सामा कार्यरत एक जना प्रहरी सहायक निरीक्षक (असई) पटक–पटक प्रतिनिधिको रूपमा जानेगरेका छन् । सधैँ उनी जाने गरेको कारण उनीमाथि मिलेमतोको आशंका गरिएको हो ।

कार्यालय प्रमुख र तल्ला तहका कर्मचारीको मिलेमतोमा दलाल, बिचौलियाहरूलाई परिचालन गरी पहिलेदेखि नै अवैध तरिकाले लाइसेन्स बाँड्नमा नारायणी यातायात व्यवस्था सवारीचालक अनुमतिपत्र कार्यालय वीरगञ्ज सर्वाधिक चर्चा छ । सो कार्यालयमा काठमाडौं उपत्यकालगायत अन्यत्रबाट समेत लिखित तथा ट्रायल परीक्षा पास गर्न नसक्नेहरूलाई अवैध लाइसेन्स दिनेगरेको गुनासो धेरै पहिलादेखि सार्वजनिक हुँदै आएको छ । तर, कुन–कुन लाइसेन्स बिक्री भयो भनेर कसैले पनि पक्राउ भने गरेको छैन । पक्राउ नपरे पनि वीरगञ्जबाट लाइसेन्स निकाल्न सजिलो हुने भनेर काठमाडौंलगायत देशका अन्य सहरबाट वीरगञ्जमा सवारीचालक अनुमतिपत्रको परीक्षा दिन आउनेको संख्या ठूलै छ । यसले पनि यहाँबाट लाइसेन्स बिक्री हुन्छ भन्ने आरोपलाई बल पु-याएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया