Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्रोत व्यवस्थापन गर्न सरकार धमाधम आन्तरिक ऋण उठाउँदै

स्रोत व्यवस्थापन गर्न सरकार धमाधम आन्तरिक ऋण उठाउँदै


काठमाडौं । सरकारी खाता ऋणात्मक भई खर्च थेग्न नसक्ने अवस्था आएपछि सरकारले आन्तरिक ऋण उठाउने कार्यलाई तीव्रता दिएकोे छ । आन्तरिक ऋण उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले फेरि १० अर्ब रूपैयाँको विकास ऋणपत्र निष्कासन गरेको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारी खाता आठ अर्ब दुई करोड ९१ लाख रूपैयाँले ऋणात्मक भएको छ । अर्थ मन्त्रालयले आइतबार यता २६ अर्ब ३२ करोड २८ लाख रूपैयाँ निकासा दिएपछि सरकारी खाता ऋणात्मक भएको हो । यो अवधिमा सरकारले आठ अर्ब ४१ करोड ६७ लाख रूपैयाँ आम्दानी पनि गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चाडपर्व नजिकिँदा कर्मचारीका लागि तलबभत्ता निकासा गर्नुपर्ने, विकास निर्माणका कार्यमा भुक्तानी दिनुपर्नेलगायतका कारण बढी रकम निकासा गर्नुपरेको छ । जसले सरकारी खातामा दबाब परेको छ । यही कारण सरकारले यो साता दैनिकजसो आन्तरिक ऋण उठाइरहेको छ ।

राष्ट्र बैंकले आज (बिहीबार) आठ वर्ष अवधिको १० अर्ब रूपैयाँबराबरको विकास ऋणपत्र निष्कासन गरेको छ । आज अपरान्ह ३ बजेसम्म बोलकबोल हुनेगरी ‘विकास ऋणपत्र २०८८ ङ (८ वर्षे)’ नामको ऋणपत्र बिक्री निष्काशन गरेको हो ।

सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागले आन्तरिक ऋण उठाउने प्रयोजनको काम गर्दै आएको छ । निष्कासन गरिएको ऋणपत्र २०८० असोज १९ गते जारी भई २०८८ असोज १९ गते परिपक्व हुनेछ । अर्थात् ऋणपत्रको भुक्तानी २०८८ असोज १९ गते हुनेछ ।

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरूपमा सहभागी भएर ऋणपत्र खरिद गर्न सक्नेछन् । छुट्याइएको रकममध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलार्ई क्रमशः निष्कासित रकमको ८५ अर्थात् आठ अर्ब ५० करोड रूपैयाँँ र १५ प्रतिशत अर्थात् एक अर्ब ५० करोड रूपैयाँ छुट्याएको छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुनआउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याएको रकमभन्दा बढी रकमको बोलप्राप्त भए बोलवालाहरूलाई समानुपातिकरूपमा ऋणपत्रको रकम बाँडफाँट हुनेछ ।

इच्छुक खरिदकर्ताले कम्तीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजार रूपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रूपमा मात्र भाग लिन व्यवस्था छ । यस बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्र्धीको रूपमा भाग लिन पाउने छैनन् । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमार्फत हुनेछ ।

खर्चको जोहोका लागि सरकारले चालू आर्थिक वर्ष सुरु भएदेखि अहिलेसम्म करिब साढे ७२ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाइसकेको छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षमा सरकारको लागि कुल दुुई खर्ब ४० अर्ब रूपैयाँबराबरको आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको थियो । राष्ट्र बैंकले अल्पकालीन तथा दीर्घकालीन अवधिका ट्रेजरी बिलहरू, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्रलगायतका मौद्रिक उपकरणहरू बिक्री गर्ने तयारी गरेको छ । यसरी बिक्री गरिने कुल मौद्रिक उपकरणमध्येमा ७४ दशमलव छ प्रतिशत हिस्सा ऋणपत्रको छ । सोअनुसार २०८१ सम्ममा एक खर्ब ७९ अर्ब रूपैयाँबराबरको विकास ऋणपत्र बिक्री हुनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया