Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविद्युत् प्रणालीमा दुई हजार आठ सय मेगावाट

विद्युत् प्रणालीमा दुई हजार आठ सय मेगावाट


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हाल मुलुकको विद्युत् प्रणालीमा दुई हजार आठ सय ५२ मेगावाट बिजुली उपलब्ध रहेको बताएका छन् । यस्तै, उनले चालू आर्थिक वर्षको अन्त्यसम्ममा कुल जडित क्षमता तीन हजार पाँच सय मेगावाट पुग्ने जानकारी दिए ।

नेपाल उद्योग व्यापार महासङ्घको दोस्रो साधारणसभाको उद्घाटन गर्दै उनले आगामी १२ वर्षमा २९ हजार मेगावट विद्युत् उत्पादन गरेर देशलाई समृद्धिको यात्रामा अघि बढाउन सरकार लागि परेको बताए । २०७२ पछि मुलुकको ऊर्जा क्षेत्रले अपेक्षित प्रगति गरेको उनको दाबी थियो । पछिल्लो एक वर्षमा पाँच सय मेगावाट बिजुली थप भएको जानकारी दिँदै उनले आगामी तीन महिनामा पाँच सय मेगावाट विद्युत् थपिने बताए । यस्तै, कार्यक्रममा उनले मुलुकको अर्थतन्त्र लयमा फर्किन लागेको बताए । बहकिएर मात्रै मुलुकको अर्थतन्त्रलाई सही बाटोमा अगाडि बढाउन नसकिने उल्लेख गर्दै उनले अर्थतन्त्रको दबाब चिर्दै राष्ट्रिय पुँजी निर्माण गर्न सरकार र व्यवसायी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

‘एक वर्षको निरन्तर मेहनतबाट अर्थतन्त्र सुधारको अवस्थामा छ । देश उन्नतितर्फ अघि बढिरहेकाले अब निराशाजनक नभई उत्साहका साथ अघि बढ्नुपर्छ’, उनले भने । अब बन्द सटरहरू पनि बिस्तारै खुल्ने उनको दाबी थियो । उस्तै, उनले सरकारले निर्माण व्यवसायीको बाँकी भुक्तानी पनि पठाइसकेको जानकारी दिए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले सरकारले समस्याग्रस्त अर्थतन्त्रलाई सुधार्न उपयुक्त कदम चालेकाले मुलुकको अर्थतन्त्र गतिशील बन्दै गएको बताए । यसलाई गतिशील बनाउन जलविद्युत्, ऊर्जा, कृषिलगायत क्षेत्रमा लगानी अभिवृद्धि गर्दै आन्तरिक उत्पादन र रोजगारी बढाउनेतर्फ अग्रसर हुनुको विकल्प नरहेको उनको भनाइ थियो ।

आर्थिक समृद्धिका लागि उद्योग, व्यापार क्षेत्रको महत्वपूर्ण योगदान रहने भन्दै श्रेष्ठले राष्ट्रिय पुँजी निर्माण र औद्योगिक प्रवर्द्धनमा केन्द्रित हुन जरुरी रहेको बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया