Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक लगानीको अवस्था भित्रिनेभन्दा बाहिरिने रकम बढ्यो

वैदेशिक लगानीको अवस्था भित्रिनेभन्दा बाहिरिने रकम बढ्यो


नेपालमा कुल वैदेशिक लगानी प्रतिबद्धता आएको रकमको जम्मा ३० प्रतिशत मात्रै रकम भित्रिने गरेको छ । पछिल्लो समय नेपालमा लगानीस्वरूप भित्रिने रकमभन्दा बाहिरिने लाभांश बढी देखिन थालेको छ । पछिल्लो १८ महिनामा विदेशी लगानीकर्ताले १८ अर्ब ५२ करोड रुपैयाँ लाभांशस्वरूप नेपालबाट लगेका छन् । उद्योग विभागका अनुसार गत आर्थिक वर्षको सुरुदेखि यस आर्थिक वर्षको पुस मसान्तसम्म सो रकम लाभांशबापत देशबाट बाहिरिएको हो ।विदेशी लगानीकर्ताले आर्थिक वर्ष २०७९÷८० मा १६ अर्ब ७६ करोड ९३ लाख रुपैयाँ र चालू आर्थिक वर्ष २०८०÷८१ को पुस मसान्तसम्म एक अर्ब ७५ करोड ३१ लाख रुपैयाँ लगेका हुन् । आर्थिक वर्ष २०७८÷७९ मा भने १३ अर्ब ८९ करोड रुपैयाँ लाभांश लगेका थिए ।विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकरसिंह धामीले लगानीको प्रतिफलस्वरूप प्राप्त हुने लाभांश लैजानको लागि लगानीकर्तालाई कुनै निश्चित समयसीमा नतोकिएको कारण मासिकरूपमा लाभांश वितरण फरक पर्ने बताए । नेपालमा जति लगानी प्रतिबद्धता आउँछ मुस्किलले त्यसको ३० प्रतिशत मात्रै लगानी भित्रिने गरेको छ  । तर, अहिले मासिक एक अर्बभन्दा बढीको लाभांश बाहिरिँदा अब वैदेशिक लगानीमार्फत भित्रिने रकमभन्दा लाभांशबापत बाहिरिने रकम बढी देखिन थालेको विभागको तथ्यांकमा देखिन्छ । लगानी प्रतिबद्धता आएको समयमा लगानी रकम भित्रिएको पाइँदैन, त्यस्तै लाभांश वितरण पनि निश्चित समयमा लैजाने निश्चित हुँदैन जसले गर्दा रकममा फरक पर्ने निर्देशक धामीले बताए ।

विभागले चालू आर्थिक वर्षको साउनमा २० करोड ३० लाख रुपैयाँ, भदौमा चार करोड ७६ लाख रुपैयाँ, असोजमा एक करोड १४ लाख रुपैयाँ, कात्तिकमा एक अर्ब नौ करोड ८१ लाख रुपैयाँ, मंसिरमा ३० करोड ५७ लाख रुपैयाँ र पुसमा आठ करोड ७३ लाख रुपैयाँ लाभांश लगेका छन् । गत आर्थिक वर्षको साउन महिनामा नौ करोड ४३ लाख रुपैयाँ, भदौमा आठ करोड ६८ लाख रुपैयाँ, असोजमा एक अर्ब तीन करोड ५५ लाख रुपैयाँ, कात्तिकमा एक अर्ब ७५ लाख रुपैयाँ, मंसिरमा आठ अर्ब ७८ करोड ५१ लाख रुपैयाँ, पुसमा आठ करोड ३७ लाख रुपैयाँ, माघमा दुई अर्ब १७ करोड २८ लाख रुपैयाँ, फागुनमा २८ करोड ८१ लाख रुपैयाँ, चैतमा तीन अर्ब १४ करोड ५३ लाख रुपैयाँ, वैशाखमा एक करोड ८६ लाख रुपैयाँ, जेठमा तीन करोड २४ लाख रुपैयाँ, असारमा एक करोड ९२ लाख रुपैयाँ लभांश वितरण गरिएको छ ।गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा लाभांश वितरण भने ८६ प्रतिशतले कमी आएको देखिन्छ । यसवर्ष पुस मसान्तसम्म लाभांशबापत एक अर्ब ५३ करोड ६५ लाख रुपैयाँ बाहिरिएको छ भने गतवर्षको सोही अवधिमा लाभांशबापत १० अर्ब ९९ करोड ८९ लाख रुपैयाँ वितरण गरिएको छ । विभागले १५ वटाभन्दा बढी मुलुकका लगानीकर्ताले सो लाभांश लगेको जानकारी दिएको छ ।

वैदेशिक लगानीको प्रस्ताव उद्योग विभागमार्फत आउँछ भने लगानीको प्रतिफल राष्ट्र बैंकमार्फत लैजाने गरेका छन् । विदेशी लगानीको हकमा लाभांश लैजान, लेखांकन गर्न भने राष्ट्र बैंकमार्फत गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । नेपालको उद्योग क्षेत्रमा लगानी गरी सबैभन्दा धेरै लाभांश लैजानेमा भारतीय लगानीकर्ता छन् । भारतपछि आयरल्याण्ड, अष्ट्रेलिया, बेलायत, पाकिस्तान, मौरिसस, सिगांपुर, बंगलादेशका लगाानीकर्ताले बढी लाभांश लगेका छन् । प्रत्येक वर्ष लगानी प्रतिबद्धता जनाउने लगानीकर्ता सबैभन्दा धेरै क्रमशः चीन, भारत, हङकङ, अमेरिका, बेलायतलगायत छन् ।सरकारी प्रतिवेदनअनुसार उत्पादन, खानी र उत्खनन क्षेत्रबाट सबैभन्दा बढी लाभांश देशबाट बाहिरिएको छ । विद्युत्, ग्यास र पानी, निर्माण, यातायात भण्डारण र सञ्चार, वित्तीय क्षेत्र, होटल तथा रेस्टुरेन्ट र शिक्षालगायतका क्षेत्रमा गरेको लगानीबाट विदेशी लगानीकर्ताले लाभांश लगेको देखिन्छ ।

विदेशी लगानीकर्ताले पुस मसान्तसम्म रोयल्टीबापत सरकारलाई एक अर्ब चार करोड १६ लाख रुपैयाँ रोयल्टी बुझाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ९४ करोड ७१ लाख रुपैयाँ रोयल्टी संकलन भएको थियो । पुसमा एक करोड ५० लाख रुपैयाँ रोयल्टी संकलन गरेको विभागले क्रमशः मंसिरमा २७ करोड ७९ लाख रुपैयाँ र असोजमा भने तीन करोड तीन लाख रुपैयाँ रोयल्टी संकलन गरेको थियो । विभागले प्रत्येक महिना करिब दुई करोड रुपैयाँदेखि ३० करोड रुपैयाँबरारबर रोयल्टी संकलन गर्दै आएको छ । विभागले लाभांश वितरण रोयल्टी संकलनका साथै उद्योगको सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) लगायतका कामहरू गरेको छ ।
विदेशी लगानीकर्ताहरूले लगानी ल्याउन र लाभांश लैजानको लागि ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५’ले सहजीकरण गरेको छ । उक्त ऐनअनुरुप विदेशी लगानीकर्ताले नेपालमा लगानी गरिसकेपछि आफ्नो लगानीको सेयर वा उद्योग पूर्ण वा आंशिकरूपमा बिक्री गरी कर चुक्ता गरी आफ्नो लगानी तथा मुनाफा लैजान पाउनेछन् । उनीहरूले लगानी गरेको सोही विदेशी मुद्रा वा अन्य परिवत्र्य विदेशी मुद्रामा कर चुक्ता गरी राष्ट्र बैंकको स्वीकृति लिई लाभांश लैजान पाउनेछन् । विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलकलगायतका उद्योग दर्ता हुन्छ  । दर्ताका साथै विदेशी लगानीको हकमा पुँजी समेत तोकिएको छ ।

साथै पछिल्लो समय सरकारले विदेशी लगानीलाई सहजीकरण गर्नका लागि स्वचालित मार्गबाट लगानी ल्याउन सकिने वातावरण बनाएको छ । विदेशी लगानीकर्ताले स्वचालित मार्गबाट नेपालमा लगानी गर्दा सातवटा औद्योगिक तथा व्यावसायिक क्षेत्रका ६० प्रकारका उद्योग तथा व्यसायमा लगानी गर्न पाउने व्यवस्था गरिएको छ । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ को उपदफा (१)ले दिएको अधिकार प्रयोग गरी स्वचालित मार्ग (अटोमेटिक रुट)बाट आउने विदेशी लगानीलाई सातवटा औद्योगिक तथा व्यावसायिक क्षेत्रका ६० प्रकारका उद्योग तथा व्यवसायमा लगानी गर्नसक्ने व्यवस्था गरेको हो । स्वचालित मार्गबाट ऊर्जामूलक, कृषि तथा वन पैदावार, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, सेवा र उत्पादनमूलक उद्योग रहेको विभागका महानिर्देशक बाबुराम गौतमले जानकारी दिए । उनका अनुसार ऊर्जामा चारवटा, कृषि तथा वन पैदावरमा ११ वटा, पूर्वाधारमा पाँचवटा, पर्यटनमा तीनवटा, सूचना प्रविधिमा नौवटा, सेवामा नौवटा र उत्पादनमूलकमा १९ वटा उद्योग तथा व्यवसाय तोकिएको छ । जसले विदेशी लगानीमा वृद्धि गनका साथै लाभांश वितरण समेत योगदान पग्ने देखिन्छ । स्वचालित मार्गबाट आउने विदेशी लगानी स्वीकृतिको माथिल्लो सीमा भने कुल पुँजी ५० करोड रुपैयाँसम्म तोकिएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया