Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रियसभामा नयाँ समीकरण

राष्ट्रियसभामा नयाँ समीकरण


काठमाडौं । बिहीबारको परिणामसँगै राष्ट्रियसभाको समीकरण बदलिएको छ । पहिलो रहेको एमाले तेस्रो भएको छ भने माअ‍ेवादी पहिलो बन्न पुगेको छ । नेपाली कांग्रेस दोस्रो बनेको छ । प्रतिनिधिसभामा भने कांग्रेस पहिलो छ ।

बिहीबार भएको राष्ट्रियसभाको १९ सिटको निर्वाचनमा सत्ता गठबन्धनलाई चकित पार्दै नेकपा एमालेले एक सिट जित हात पारेको छ । सत्ता गठबन्धनको मत हेर्दा सबै १९ सिटमै उनीहरूको जित निश्चित थियो तर सत्ता गठबन्धनकै मत पाएर कोशी प्रदेशबाट नेकपा एमालेकी रुक्मिणी कोइराला निर्वाचित भइन् । त्यहाँ नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्की पराजित भइन् । तर, कांग्रेसका कृष्णप्रसाद सिटौला भने सत्ता गठबन्धनबाट निर्वाचित भए ।

धेरैले सत्ता गठबन्धनका सिटौलाले हार्ने अनुमान गरेका थिए । तर, झिनो मतान्तरले सिटौला सत्ता गठबन्धनबाट विजयी भए । राप्रपाका उद्धव पौडेलले एमाले–राप्रपाको गठबन्धनभन्न्दा प्रदेशसभाका दुई मत बढी पाएका थिए । तर, स्थानीय तहबाट कम मत आउँदा पौडेल पराजित भए ।

बिहीबार भएको निर्वाचनमा माओवादीका छ जना उम्मेदवारमध्ये पाँच जना मात्र निर्वाचित भए । यो मतपरिणामअनुसार अब राष्ट्रियसभामा माओवादीका १७ जना सदस्य हुनेछन् । अहिले राष्ट्रियसभामा माओवादीका १५ जना सदस्य छन् । यीमध्ये फागुन २० गते ३ जना बिदा हुँदै छन् । राष्ट्रियसभामा माओवादीको उपाध्यक्ष पनि छ । मतपरिणामअनुसार राष्ट्रियसभामा माओवादी सबैभन्दा ठूलो दल बनेको छ ।

यसअघि राष्ट्रियसभामा १० सिटमात्रै रहेको नेपाली कांग्रेस अब १६ सिटको भएको छ । एमालेलाई भने यो निर्वाचनबाट ठूलो घाटा भएको छ । यद्यपि यस्तो परिणाम आउँछ भन्ने गठबन्धनको संख्याले प्रस्ट पारिसकेको थियो । राष्ट्रियसभामा एमालेका १७ जना सदस्य थिए । तीमध्ये आठ जनाको पदावधि यसपटक सकिँदै छ । अहिले एक सिट मात्र थपिएकाले अब एमालेको राष्ट्रियसभामा १० सांसद हुनेछन् । राष्ट्रियसभामा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको यसअघि आठ सिट रहेकोमा अहिले पनि आठ सिट नै हुनेछ ।

जनता समाजवादी पार्टी (जसपा)को यसअघि तीन सिट रहेकोमा यसपालि पनि तीन सिट नै हुनेछ । जसपाबाट बिहीबर पूजा चौधरी निर्वाचित भएकी छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमोर्चाको राष्ट्रियसभामा एक÷एक सिट छ भने राष्ट्रपतिबाट मनोनीत हुने तीनमध्ये एउटा सिट खाली छ । मनोनीतमा पनि एमालेबाटै मनोनीत भएकी बिमला राई पौड्यालको पदावधि सकिएका कारण एमालेको संख्या घटेको हो ।

बिहीबारको परिणामअनुसार कोशी प्रदेशबाट अन्यमा कांग्रेसका कृष्ण सिटौला र महिलामा एमालेकी रूक्मिणी कोइराला विजयी भएका छन् । यस्तै, मधेसबाट महिला कोटामा जसपाकी पूजा चौधरी र अन्यमा कांग्रेसका आनन्द ढुंगाना विजयी भए । बागमतीमा कांग्रेसबाट विष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत, माओवादीबाट श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजाल विजयी भएका छन् ।

गण्डकीबाट माओवादीका मनरूपा शर्मा तथा कांग्रेसका पदमबहादुर परियार र किरणबाबु श्रेष्ठ विजयी भएका छन् । लुम्बिनीमा कांग्रेसबाट विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भए । कर्णालीमा एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णुबहादुर विश्वकर्मा र कांग्रेसका कृष्णबहादुर रोकाय निर्वाचित भए । सुदूरपश्चिममा कांग्रेसका बलदेव बोहोरा र नारायणदत्त भट्ट तथा माओवादीका रेणु चन्द विजयी भए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया