Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमापसे कारबाहीबाट चार करोड राजस्व संकलन

मापसे कारबाहीबाट चार करोड राजस्व संकलन


काठमाडौं । नेपाल प्रहरीले मादक पदार्थ सेवन (मापसे) र लागू पदार्थ सेवन(लापसे) गरी सवारीसाधन चलाउनेहरूलाई कारबाही गर्न सक्रियता देखाएको छ । आर्थिक वर्ष २०८०/८१ को छ महिनामा मात्रै प्रहरीले मापसे सेवन गरी सवारी चलाउनेहरूलाई कारबाही गरी झण्डै चार करोड रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।

प्रहरीका अनुसार गत साउनदेखि पुस महिनासम्म मापसे गरी सवारी चलाउने ३९ हजार दुई सय ७२ जना र (लापसे गरी सवारी चलाउने दुई सय ४२ जना कारबाहीमा परेका छन् । मापसेबाट गरिएको कारबाहीबाट कुल तीन करोड ९९ लाख ६९ हजार रूपैयाँ राजस्व संकलन भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पुर्याउन तथा दुर्घटना न्यूनीकरण गर्न मापसे तथा लापसे चेकिङ प्राथमिकतामा राखिएको छ ।

चालकले मापसे गरी सवारी साधन चलाएको पत्ता लगाउन मापसे चेकिङ गर्ने गरिएको ढकालले बताए । प्रहरीका अनुसार लहैलहैमा लागेर घरभन्दा टाढाको दूरीमा गई मापसे गर्ने र सवारी साधन चलाएर हिँड्ने प्रवृत्तिले आकस्मिक र गम्भीर दुर्घटना निम्त्याउने गरेको तथ्याङ्कले देखाउँछ ।

सीसीटीभीको पहुँच न्यून र सीमित ठाउँमा मात्र ट्राफिक प्रहरीको उपस्थितिका कारण मापसे गरी सवारी चलाउने प्रवृत्ति बढ्दो देखिएको प्रहरी प्रवक्ता ढकालको भनाइ छ । यस्तो प्रवृत्तिलाई निरूत्साहित र मापसे तथा लापसे नियन्त्रणलाई प्रभावकारी बनाउन प्रहरीले विभिन्न समयमा विविध नीति लागू गरी कार्यान्वयन गर्दै आएको उनले जानकारी दिए ।

यस आर्थिक वर्षको छ महिनामा मापसे गरी सवारी चलाउने काठमाडौं उपत्यकामा १८ हजार छ सय २७ जना, कोशी प्रदेशमा दुई हजार पाँच सय २४ जना, मधेश प्रदेशमा दुई हजार २१ जना, बागमती प्रदेशमा एक हजार ९८ जना, गण्डकी प्रदेशमा आठ हजार नौ सय २३ जना, लुम्बिनी प्रदेशमा दुई हजार सात सय ७३ जना, कर्णाली प्रदेशमा एक हजार दुई सय ६४ जना र सुदूरपश्चिम प्रदेशमा दुई हजार ४२ जना कारबाहीमा परेका छन् । सो अवधिमा कारबाहीमा पर्नेहरूबाट काठमाडौं उपत्यकामा एक करोड ८६ लाख २७ हजार रूपैयाँ, कोशी प्रदेशमा २५ लाख ३९ हजार पाँच सय रूपैयाँ, मधेश प्रदेशमा २० लाख ४२ हजार पाँच सय रूपैयाँ, बागमती प्रदेशमा ११ लाख १७ हजार रूपैयाँ, गण्डकी प्रदेशमा ९५ लाख ६८ हजार रूपैयाँ, लुम्बिनी प्रदेशमा २७ लाख ७३ हजार रूपैयाँ, कर्णाली प्रदेशमा १२ लाख ६० हजार रूपैयाँ र सुदूरपश्चिम प्रदेशमा २० लाख ४२ हजार रूपैयाँ राजस्व संकलन भएको छ ।

यसैगरी सो अवधिमा लापसे (लागूपदार्थ सेवन) गरी सवारी चलाउने काठमाडौं उपत्यकामा ८१ जना, कोशी प्रदेशमा २८ जना, गण्डकी प्रदेशमा ८८ जना, लुम्बिनी प्रदेशमा २० जना र सुदूरपश्चिम प्रदेशमा २५ जना कारबाहीमा परेका छन् । मधेश, बागमती र कर्णाली प्रदेशमा कारबाही संख्या शून्य छ । मापसे गरी बाटोमा जथाभावी हिँड्नेहरूको कारण पनि सवारी साधनले ठक्कर दिँदा दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले उपत्यकाका धैरै ठाउँमा सवारी साधन चेकिङ गर्ने, लापसे सेवनमा मुद्दा चलाउने गरेको कारण चालकहरू सजग र सचेत भई जनधनको क्षतिमा कमी आएको बताए ।

प्रहरीका अनुसार मापसे चेकिङका लागि सीमित जनशक्ति र सीसीटीभी क्यामराको न्यून पहुँच छ भने ब्रेथलाइजरलगायतका साधन स्रोत पर्याप्त छैनन् । यसका बाबजुद चेकजाँचमा प्रहरीको सक्रियता कायम रहेको प्रहरी नायब महानिरीक्षक ढकालले बताए । मापसे लापसे नगरेर सवारी साधन चलाउने कार्यको लागि प्रहरी र नागरिक एकआपसमा सहकार्य र समन्वय गरी आगाडि बढ्नु आवश्यक रहेको उनको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया