Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक रोजगारीमा युरोप पठाउने नाममा ठगी बढ्यो

वैदेशिक रोजगारीमा युरोप पठाउने नाममा ठगी बढ्यो


काठमाडौं । मलेसिया र खाडी मुलुकमा भन्दा बढी सुरक्षित हुने भएपछि पछिल्लो समय युरोपलगायत विकसित मुलुकहरू वैदेशिक रोजगारीको रोजाइमा पर्नेगरेका छन् । तर, ती मुलुकमा श्रमिक पठाउने भन्दै ठगी गर्ने क्रम पनि बढ्दै गएको छ । मुलुकमा पर्याप्त रोजगारी नहुनु र युरोप र जापानलगायत विकसित मुलुक जान पाउने आशामा युवाहरू ठगिने क्रम बढेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका अनुसार युरोप तथा विकसित मुलुक पठाउने नाममा ठगी गरेको भन्दै दैनिक दर्जनभन्दा बढी उजुरी पर्नेगरेको छ । उजुरी आएपछि विभागले प्रहरीसँगको समन्वयमा ठगी गर्नेलाई प्रक्राउ गर्दै आएको छ । बिहीबार वैदेशिक रोजगारीको नाममा युरोप पठाउने भन्दै करोडौँ रकम ठगी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । युरोप पठाउने नाममा छ सय जनालाई ठगी गरेको आरोपमा सुजन तामाङ र कर्म तामाङ पक्राउ परेका हुन् । उनीहरूलाई प्रहरीले ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीका अनुसार उनीहरूले बालाजु चोकस्थित ‘युरो विङ्स युजेकसन कन्सलटेन्सी’ सञ्चालन गरी छ सय जनाभन्दा बढी युवाबाट करोडौँ रकम उठाएका छन् । प्रहरीका अनुसार सुजनले युरोप पठाउने भन्दै प्रतिव्यक्ति ५० हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म लिएको पाइएको छ । सूचनले करिब १५ करोड रुपैयाँ ठगीको गरेको हुनसक्ने प्रहरीको आंशका छ । सुजनमाथि तीन करोड २५ लाख २२ हजार रुपैयाँ ठगी गरेको भन्दै ७० जना युवाले विभागमा मुद्दा दर्ता गरेका थिए । ३२ वर्षीय सुजनले माल्टा, पोल्याण्ड, क्यानडा र क्रोसियालगायतका मुलुकमा पठाउने भन्दै पीडितहरूबाट रकम लिएका थिए । छ सय जना व्यक्तिबाट रकम ठगी गरी वैदेशिक रोजगार कसुरसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेको अवस्थामा सुजनलाई प्रहरीले पक्राउ गरेको हो ।

ठगी गरेको रकमबाट सुजनले चार करोड रुपैयाँ व्यक्तिगत ऋण तिरेको, ३५ लाख रुपैयाँमा हुण्डाइको क्रेटा खाडी खरिद गरेको, भाइ सुवास तामाङको खातामा १५ लाख ५० हजार रुपैयाँ जम्मा गरेको पाइएको छ । साथै ठगीको रकमबाट जलविद्युत् सहकारी संस्थाबाट लिएको १५ लाख रुपैयाँ ऋण तिरेको, पाँच लाख रुपैयाँको सुनको ब्रास्लेट खरिद गरेको पाइएको छ । प्रहरीले उनीहरूबाट एक लाख ४१ हजार रुपैयाँ बरामद गरेको छ ।

सुजनले आफूलाई विकाश वाइवाको नक्कली परिचय दिई सर्वसाधारणलाई ठगी गर्दै आएको एसपी रेग्मीले बताए । उनका अनुसार प्रहरी अनुसन्धानको क्रममा २०७३ सालबाट आयुष मेनपावरलगायत विभिन्न मेनपावरहरूमा एजेन्टको रूपमा काम गर्दै आएका सुजनले करिब पाँच वर्ष एजेन्टको काम गरी विभिन्न व्यक्तिहरूलाई खाडी मुलुकमा पठाएका थिए । २०७७ सालमा ठगी तथा आपराधिक लाभसम्बन्धी कसुर मुद्दामा फरार रही नेपाल तथा भारतका विभिन्न स्थानमा लुकीछिपी बस्दै आएको समेत पाइएको छ । २०८० साल वैशाख महिनामा आफूलाई विकाश वाइवा भनी नक्कली परिचय दिई बालाजुमा ‘युरो विङ्स एजुकेसन कन्सल्टेन्सी’ सञ्चालन गरेका सुजनले सरकारी निकायका कर्मचारीलाई समेत युरोप पठाउने भनी रकम लिई नक्कली भिषा देखाई जागिर छोड्न लगाएका थिए भने विकाश वाइवाको नामबाट बैंक खाता खोली आफँैले हस्ताक्षर गरी वित्तीय कारबोर समेत गर्दै आएका थिए । उनी ललितपुर जिल्ला कोन्ज्योसोम गाउँपालिका वडा नम्बर ४ का स्थायी बासिन्दा हुन् ।

त्यस्तै, कर्म तामाङले भने सुजनको अनुपस्थितिमा कन्सल्टेन्सीमा रकम लिने गरेका थिए । कर्मको नाममा वैदेशिक रोजगार कसुरसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेको स्थितिमा पक्राउ गरिएको एसपी रेग्मीले बताए । नुवाकोट किस्पाङ १ स्थायी घर भएका ३२ वर्षीय कर्मले कन्सल्टेन्सीमा मार्केटिङ एजेन्ट तथा काउन्सलरको रूपमा काम गर्दै आएका थिए । कन्सल्टेन्सीले विभिन्न मुलुक जानका लागि प्रतिव्यक्ति शुल्क समेत निर्धारण गरेको थियो । क्यानडाका लागि १८ लाख रुपैयाँ, माल्टाका लागि आठ लाख रुपैयाँ, पोल्याण्डका लागि सात लाख रुपैयाँ र क्रोसियाका लागि छ लाख ५० हजार रुपैयाँ तोकेको थियो ।

प्रहरीले विदेश पठाउने नाममा ठगी गरेको आरोपमा अन्य तीन जनालाई पनि पक्राउ गरेको छ । पक्राउ गर्नेमा जगत ओली क्षेत्री, मिङमार लामा र भरत भट्टराई छन् । उनीहरू तीन जनाले विदेश पठाउने भन्दै युवामार्फत करिब छ लाख ५० हजार रुपैयाँ ठगी गरेका छन् । ओलीले रोमानिया पठाउने भन्दै विमान तामाङबाट एक लाख ५० हजार रुपैयाँ ठगी गरेका हुन् । सल्यान बंगाद कुपिन्डे नगरपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर २६ सामाखुसी बस्दै आएका ४२ वर्षीय ओलीले रोमानियास्थित होटलमा मासिक ७० हजार रुपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारी तामाङमार्फत उक्त रकम ठगी गरेका हुन् । लामाले क्रोसिया पठाइदिने भन्दै तीन लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका वडा नम्बर ६ बाट पक्राउ गरिएको हो । सिुन्धपाल्चोक पाँचपोखरी थाङपाल वडा नम्बर २ घर भई हाल बूढालीनकण्ड वडा नम्बर १२ कपन बस्दै आएका ४० वर्षीय लामाले क्रोसियास्थित प्रतिष्ठित कम्पनीमा मासिक एक लााख रुपैयाँ तलब हुने भनी पीडितबाट रकम ठगी गर्दै आएका थिए ।

भट्टराईले जापान पठाउने भन्दै बिमला लामाबाट दुई लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । गारेखा पालुङटार नगरपालिका वडा नम्बर १ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर २६ समाखुसी बस्दै आएका भट्टराईले जापानको एक होटलमा काममा लगइदिने भन्दै लामाबाट उक्त रकम ठगी गरेका हुन् । भट्टराईलाई सामाखुसीबाट पक्राउ गरिएको एसपी रेग्मीले बताए । पीडितहरूले विभागमा उजुरी दिएपछि प्रहरीले उनीहरूको खोजी गरेको थियो । पक्राउपछि उनीहरूलाई प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया