Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधार गरौँ’

‘निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधार गरौँ’


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन् । निर्यात प्रवर्द्धन गरेर व्यापारघाटा कम गर्ने भनिए पनि व्यावहारिक परिणाम आउन नसकेको अध्यक्ष मल्लले बताए ।

निर्यात व्यवसायी महासंघ नेपालको स्थापना दिवस एवम् चौथो वार्षिक साधारणसभामा उनले जडीबुटीजन्य वस्तुहरूको प्रवर्द्धन, उपभोग एवम् निर्यात सहजीकरणका लागि नीतिगत सुधार हुनुपर्नेमा जोड दिए । उनले भने, ‘चालू आर्थिक वर्षको छ महिनामा व्यापारघाटा ६ खर्ब ९३ अर्ब रुपैयाँ पुगिसकेको छ, व्यापारघाटा प्रत्येक वर्ष बजेटकै हाराहारीमा पुग्ने गरेको छ ।’ नेपालको वार्षिक निर्यात क्षमता १० खर्ब रुपैयाँभन्दा बढी भए पनि अपेक्षित लाभ लिन नसकिएको उनले बताए ।

जडिबुटीजन्य वस्तुहरूको उपभोग र निर्यातसम्बन्धी विशेष नीति बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । यस्तै, निर्यात प्रवर्द्धनका लागि अनलाइन गेटवे प्रणालीको विकास गरिनुपर्ने उनले बताए । उनले भने, ‘मुलुकभित्रका कच्चा पदार्थको अधिकतम प्रयोग हुने वातावरण सिर्जना गरिनुपर्छ । मुलुकभित्रका प्राकृतिक स्रोत एवम् साधानहरू सम्बन्धमा उपयुक्त ऐन नियम बनाएर उपभोग एवम् निर्यातको वातावरण बनाउन आवश्यक छ ।’ सातै प्रदेशमा एक्सपोर्ट हाउस निर्माण गरिनुपर्नेमा समेत अध्यक्ष मल्लले जोड दिए । निर्यात क्षेत्रको उद्योग, व्यवसायमा युवाहरूलाई समावेश गर्न सकिए रोजगारी समस्या केही हदसम्म हल गर्न सकिने उनको भनाइ थियो । राज्यको पढ्दै कमाउँदै नीतिलाई औद्योगिक एवम् व्यावसायिक क्षेत्रमा कार्यान्वयन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया