ताइवानमा शक्तिशाली भुइँचालो: १०० भन्दा बढी परकम्प, धनजनको क्षति
काठमाडौं,ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प जाँदा धनजनको क्षति भएको विवरण आएको छ। प्रभावित क्षेत्रमा उद्धारकार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।अहिलेसम्म कम्तीमा सात जनाको मृत्यु भएको छ भने सात सयभन्दा बढी मानिस घाइते भएका छन्।
ताइवानको ख्वालिएन सहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ।
भूकम्पका कारण ताइवान र छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको थियो। तर पछि चेतावनी फिर्ता गरियो।
ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताएका छन्। भूकम्पका कारण पहाडी भेगमा ठाउँठाउँमा पहिरो गएको छ।
ह्वालिएन सहरमा धेरै भवन भत्किएका छन्। त्यहाँ उद्धारकार्य जारी छ।सन् १९९९ को सेप्टेम्बरमा ताइवानमा ७.६ म्याग्निट्यूडको विनाशकारी भूकम्प जाँदा २,४०० व्यक्तिको ज्यान गएको थियो।
१०० भन्दा बढी परकम्प
ताइवानको केन्द्रीय आपत्कालीन केन्द्रले स्थानीय समयानुसार दिउँसो ३ बजेसम्म १०१ वटा परकम्प मापन गरिएको जनाएको छ।
ताइवानकी राष्ट्रपतिले उद्धारकार्यमा सेना परिचालन गरिने बताएकी छन्।
जापान र चीनले ताइवानलाई आवश्यक सहयोग गर्ने प्रस्ताव गरेका छन्।
राजधानी ताइपेईमा खिचिएको भिडिओमा भवनहरू हल्लिएको देखिन्छ।”यो भूकम्प जमिननजिकै र जमिनको सतहबाट पनि नजिकै गयो। यो ताइवानभरि र अरू टापुमा पनि महसुस भयो…। यो २५ वर्षयताको सबैभन्दा शक्तिशाली भूकम्प हो,” ताइवानको भूकम्प मापन केन्द्रका निर्देशक वु चिएन फुले यसअघि भनेका थिए।स्थानीय समयानुसार बिहान ७ः५८ बजे जमिनको सतहबाट १५.५ किलोमिटरभित्र भूकम्प उत्पन्न भएको थियो।
त्यसपछि ४ म्याग्निट्यूड वा सोभन्दा माथिका अरू परकम्प मापन गरिएको अधिकारीहरूले जनाएका छन्।
आवासीय भवनहरू भत्केका र मानिसहरूलाई घर एवं विद्यालयबाट उद्धार गर्दै गरिएको दृश्य देखिने भिडिओ स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेका छन्।ताइवानमा विद्युत् आपूर्ति र इन्टरनेटमा अवरोध पुगेको विवरण आएको छ।
चीनको दक्षिणपूर्वी फुजिएन प्रान्तमा पनि भूकम्पको धक्का महसुस गरिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
आपत्कालीन सेवा प्रदान गर्ने ताइवानको सरकारी निकायका अनुसार ह्वालिएन सहरबाहिर अवस्थित एउटा राष्ट्रिय निकुञ्जमा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।सो निकायका अनुसार ह्वालिएन सहरमा ५० जनाभन्दा बढी मानिस घाइते भएका छन् भने केही भवन र सुरुङमार्गमा फसेका छन्।
चिप निर्माण गर्ने कम्पनी टीएसएमसीले कर्मचारीको सुरक्षाका लागि आफ्ना कारखानाहरू खाली गराइएको जनाको छ। टीएसएमसीले एपल र एन्भिडिआजस्ता प्रविधि कम्पनीलाई सेमिकन्डक्टर आपूर्ति गर्छ।सुनामीको डर
भूकम्प गएपछि ताइवान र छिमेकी देशहरूमा सुनामी आउन सक्ने डर उत्पन्न भएको थियो। स्थानीय अधिकारीहरूले सुनामीको चेतावनी पनि जारी गरेका थिए।
जापानको दक्षिणपश्चिमी क्षेत्रको ठूलो भागमा तीन मिटर अग्ला छाल भएको सुनामी आउन सक्ने चेतावनी त्यहाँको मौसमसम्बन्धी निकायले दिएको थियो।
यद्यपि पछि चेतावनीको तह घटाउँदै उक्त निकायले स्थानीयवासीहरूलाई “त्यति नै शक्तिशाली परकम्प” जान सक्ने भएकाले एक सातासम्म सतर्क रहन आग्रह गरेको छ।ताइवानमा भूकम्प गएको केही बेरमै फिलिपिन्सको भूकम्प मापन निकायले फिलिपिन्समा सुनामी आउन सक्ने चेतावनी जारी गरेको थियो। तर पछि उक्त चेतावनी स्थगित गरियो।
प्यासिफिक सुनामी वार्निङ सेन्टरले भूकम्प गएको दुई घण्टापछि एउटा सूचना जारी गर्दै सुनामीको खतरा टरेको जनाएको थियो।
(बीबीसी)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- शीतल निवासमा राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस
- पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान
- सहरी विकासमा युवाको सङ्लग्नता बढाउनु आजको आवश्यकता हो: उपप्रधानमन्त्री सिंह
- ३७ अंकले उक्लियो शेयर बजार
- पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने
- जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता
- दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
- इरानमाथि आक्रमण गर्ने इजरायलको चेतावनी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया