Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपरम्परागत शिक्षाको ढाँचा परिवर्तन गर्नुपर्छ : राष्ट्रपति

परम्परागत शिक्षाको ढाँचा परिवर्तन गर्नुपर्छ : राष्ट्रपति


दमौली (तनहुँ) तनहुँको भिमाद नगरपालिका–६ स्थित जनज्योति क्याम्पसको शुक्रबार आयोजित १६औँ वार्षिकोत्सव तथा नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्राविधिक र गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेको बताएका छन् ।

राष्ट्रपति पौडेलले परम्परागत शिक्षाको ढाँचा परिवर्तन गर्नुपर्नेमा जोड दिदैं जनज्योति क्याम्पसले भिमादको मात्रै नभई आसपासका छिमेकी जिल्लाका विद्यार्थीलाई समेत गुणस्तरीय शिक्षा प्रदान गरेकामा खुसी व्यक्त गरे । अस्थिर राजनीतिले देश विकासमा बाधा पुगेको बताउँदै राष्ट्रपति पौडेलले राजनीतिलाई स्थिर बनाएर देश विकासमा जुट्न दलहरुलाई आग्रह गरे ।

राष्ट्रपति पौडेलले मुलुकको विकासका लागि सबै दलबीच सहमति र सहकार्य आवश्यक रहेको चर्चा गर्दै भने, “मैले सबै दलहरुलाई भनेको छु, विकासका लागि एकजुट हुनुस्, अस्थिर राजनीतिले देश विकासमा बाधा पुग्यो ।”

राष्ट्रपति पौडेलले वर्तमान संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आफू निष्ठापूर्वक लागिरहने स्पष्ट पारे । उनले भने, “मलाई यो देश र व्यवस्था बचाउने जिम्मा दिनुभएको छ, यो संविधान, देश र सङ्घीय लोकतान्त्रिक गणतन्त्र बचाउन म निष्ठापूर्वक लागिरहने तपाईहरुसँग कवुल गर्दछु ।”

तनहुँ जिल्लालाई विशिष्ट जिल्ला बनाउन आफूसँग दुईवटा दृष्टिकोण र कार्यक्रम रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले देश विकासको मेरुदण्डका रुपमा रहेको शिक्षा क्षेत्रमा पर्याप्त बजेट, भौतिक पूर्वाधार र प्रविधिको व्यवस्था, तालिमप्राप्त दक्ष शिक्षक र व्यवस्थापकीय सुव्यवस्थाको सुनिश्चितता गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

संविधानले प्रत्याभूत गरेअनुरुप सहज, सर्वसुलभ र गुणस्तरीय शिक्षाको सुनिश्चितता नै आजको आवश्यकता हो भन्दै उनले ज्ञान पुँजी सबैभन्दा ठूलो पुँजी हो जसले भौतिक विकास, संस्कार र सभ्यता निर्माणको जग बसाल्छ भने ।

राष्ट्रपतिले तनहुँ, स्याङ्जा, नवलपुर र पाल्पा जिल्लाबाटसमेत उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीको गन्तव्यको रुपमा यसको महिमा बढ्दै जानु स्वभाविक भएको धारणा व्यक्त गरे । सामाजिक अगुवा एवं शिक्षानुरागीहरूको अथक प्रयासमा डेढ दशकअघि ग्रामीण क्षेत्रमा गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउने उद्देश्यले यस क्याम्पसको स्थापना हुनु खुशीको विषय भएको बताए ।

पौडेलले भने, “एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना, बुद्धसिंह मार्गलगायतमा राम्रो काम हुँदैछ । त्यसलाई समयमै सम्पन्न गराउनेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छु ।” पौडेलले जिल्लाको विकास निर्माणका लागि आफूले निरन्तर खबरदारी गर्दै आएको पनि बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया