Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारइरानको धम्कीपछि इजरेलले आफ्नो क्षेत्रमा जीपीएस नचल्ने बनायो

इरानको धम्कीपछि इजरेलले आफ्नो क्षेत्रमा जीपीएस नचल्ने बनायो


काठमाडौं,इरानसँग तनाव बढ्दै गएपछि क्षेप्यास्त्र र ड्रोन हमला रोक्नका लागि इजरेलले आफ्नो देशका विभिन्न भागमा जीपीएसलाई नचल्ने बनाएको छ।

इरानले गत सोमवार सिरियास्थित आफ्नो वाणिज्य दूतावासको भवनमा आक्रमण भएपछि त्यसको कडा प्रतिक्रिया दिने वाचा गरेको छ।

उक्त हमला इजरेलले गरेको ठानिएको छ। त्यो आक्रमणमा एक जना वरिष्ठ सैन्य जेनरलसहित १३ जनाको ज्यान गएको थियो।

इजरेल डिफेन्स फोर्सेस (आईडीएफ)ले पनि युद्ध एकाइमा कार्यरत आफ्ना सैनिकहरूलाई कुनै पनि प्रकारको बिदा नदिने घोषणा गरेको छ।उसले ‘रिजर्भिस्ट’ भनिने जगेडा सैनिकहरूलाई आफ्नो वायु रक्षा एकाइलाई थप प्रभावकारी बनाउन भन्दै बोलाएको भोलिपल्ट बिदा स्वीकृत नगर्ने घोषणा गरेको हो।

इजरेली अधिकारीहरूले इरानले तत्कालै प्रतिक्रयास्वरूप हमला गर्न सक्ने ठानेको देखिन्छ। त्यो यो शुक्रवारलगत्तै हुन सक्छ।

मुस्लिमहरूको पवित्र महिना रमजान अन्तिम शुक्रवार ‘कुड्स डे’ वा ‘जेरुसलेम डे’ पनि हो।

यस दिन प्रायः प्यालेस्टीनको समर्थन र इजरेलको विरोधमा जुलुसहरू प्रदर्शन हुने गर्छन्। त्यस्ता जुलुसहरू विशेषगरी इरानमा निस्कने गर्छन्।
कहाँ-कहाँ अवरोध?बिहीवार इजरेलका मध्य भागहरूमा जीपीएस प्रणाली अवरुद्ध पारिएको थियो।

जीपीएसमा निर्भर भएर स्थान चयन गर्न र आक्रमण गर्न प्रयोग हुने अस्त्रहरूलाई रोक्नका लागि त्यस्तो गर्ने गरिन्छ।

इजरेली नागरिकहरूले युद्ध भइरहेका क्षेत्रभन्दा टाढा तेल अभिभ र जेरुसलेमजस्ता प्रमुख सहरहरूमा पनि लोकेशनमा आधारित एपहरू प्रयोग गर्न आफूहरूले नसकेको जनाएका छन्।

जीपीएस निगरानी गर्ने वेबसाइट जीपीएसजामले इजरेलभरि लोकेशन देखाउने कुरामा व्यापक अवरोध भएको देखाएको छ।

बीबीसीका एक जना निर्माताले उनी आफू जेरुसलेममा हुँदा पनि उनलाई जीपीएसले कायरोमा भएको देखाएको बताइन्।

सामाजिक सञ्जालमा पनि कैयौँले यस्तै कुराहरू साझा गरेका छन्।

आईडीएफका प्रवक्ताले इजरेलले जीपीएस ‘ब्लकिङ’ प्रयोग गरिरहेको पुष्टि गरे। त्यसरी गरिने अवरोधलाई कहिलेकाहीँ “स्पूफिङ” पनि भनिन्छ।

टाइम्स अफ इजरेलका अनुसार इजरेलीहरूलाई क्षेप्यास्त्र आक्रमणबारे ‘अलर्ट’ जारी गर्ने एपमा उनीहरूको वास्तविक लोकेशन सेट गर्न भनिएको छ।नआत्तिन आग्रह

इजरेल र इरानको समर्थन पाएको हिजबुल्लाह समूहबीच विगत ६ महिनादेखि दैनिकजसो गोलाबारी भइरहेको लेबननसँग सीमा जोडिएको उत्तरी इजरेलका क्षेत्रहरूमा पहिलेदेखि नै जीपीएस प्रणाली अबरुद्ध गरिएको छ।

अर्को छुट्टै प्रसङ्गमा आईडीएफका प्रवक्ताले सामाजिक सञ्जाल एक्समा लेख्दै मानिसहरूलाई नआत्तिन आग्रह गरेका छन्।

उनले त्यहाँ लेखेका छन्, “जेनेरेटरहरू किन्न, खाना भण्डारण गर्न र एटीएमबाट पैसा निकाल्न आवश्यक छैन।”

“आजसम्म हामीले जे गरेका छौँ त्यस्तै गरी यदि कुनै पनि परिवर्तन भएमा आधिकारिक र व्यवस्थित रूपमा तुरुन्तै अद्यावधिक गरिहाल्छौँ।”इजरेली सञ्चारमाध्यमहरूले देशका केही दूतावासहरूलाई सम्भावित इरानी आक्रमणको डरका कारण सतर्क अवस्थामा राखिएको वा खाली गराइएको जनाएका छन्।

ती विवरणहरूलाई बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन र इजरेलले पनि त्यसबारे केही बताएको छैन।

इजरेलले सिरियाको राजधानी दमास्कसमा रहेको इरानको कूटनीतिक परिसरस्थित एउटा भवनलाई निसाना बनाएकोबारे इजरेलले कुनै प्रतिक्रिया दिएको छैन।

तर इरानी नेता आयातोल्लाह अलि खामेनाईले इजरेलले उक्त आक्रमण गरेको आरोप लगाएका छन्।

इरानी राष्ट्रपति इब्राहिम रइसीले उक्त आक्रमणको प्रतिक्रिया दिइने वाचा गरेका छन् तर त्यो प्रतिक्रिया कस्तो हुनेछ भन्ने स्पष्ट छैन।

उक्त आक्रमणमा मारिने १३ जनामा सात जना इरानी रिभोल्युशनरी गार्ड्सका अधिकृतहरू रहेका छन्।

मारिनेमा वरिष्ठ जनरल मोहम्मद रेजा जाहेदी पनि थिए।

जाहेदी इजरेलले लामो समयदेखि चलाइरहेको ठानिएको उच्च इरानी अधिकारीलक्षित हमलामा मारिने सबैभन्दा उच्च इरानी व्यक्तित्वमध्ये एक हुन्।
इजरेलको स्वीकारोक्तिइजरेलले यसअघि सिरियामा इरानसँग सम्बन्ध भएका सशस्त्र समूहहरूलाई लक्षित गरेर आक्रमण गरेको स्वीकारेको थियो।

बिहीवार सुरक्षासम्बन्धी मन्त्रिपरिषद्को बैठकमा बोल्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरेलले “इरान र उसका छद्म युद्धविरुद्ध रक्षात्मक र आक्रामक कामहरू गरिरहेको” बताएका थिए।

उनले आफूहरूलाई कसरी आफ्नो देशको रक्षा गर्ने थाहा भएको र त्यसै अनुसार काम गरिरहेको बताएका थिए।

यसैबीच सात जना अन्तर्राष्ट्रिय सहायता कर्मचारीहरू मारिएसँगै इजरेलमाथि अन्तर्राष्ट्रिय दबाव परिरहेको छ।

परोपकारी संस्था वर्ल्ड सेन्ट्रल किचन (डब्ल्यूसीके)का ती कर्मचारीहरू चढेका कारलाई लक्षित गरेर नै हमला गरेको बताएको छ।

त्यसपछि अन्य परोपकारी संस्थाहरूले पनि त्यस्तै घटना दोहोरिने डरले उत्तरी गाजामा सहायता पुर्‍याउन छाडेका छन्।

आईडीएफका प्रमुखले उक्त घटनाप्रति माफी माग्दै नचिनेका कारणले उक्त घटना भएको र त्यो ठूलो गल्ती भएको बताएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले पनि नेतन्याहुलाई गाजाको समग्र मानवीय अवस्था स्वीकार गर्न सकिने खालको नभएको बताएका छन्।

उनले तत्काल युद्धविरामका लागि पनि आग्रह गरेका छन्।(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया