Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुहाङ नेम्वाङको संसद् यात्रा सुरु

सुहाङ नेम्वाङको संसद् यात्रा सुरु


फिक्कल (इलाम) । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार आठ सय ३० मतान्तरले पराजित गरेर सुहाङ इलाम–२ लाई प्रतिनिधित्व गर्दै सांसद बनेका हुन् । सुहाङले २७ हजार सात सय ७२ मत ल्याउँदा डम्बरबहादुरले २१ हजार नौ सय ४२ मत प्राप्त गरेका थिए । एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा बुबाको विरासत जोगाउँदै उनको सांसद यात्रा प्रारम्भ भएको हो ।

काठमाडौँमा २०४६ साल फागुन ६ गते जन्मिएका सुहाङले काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा नर्सरी कक्षाबाट आफ्नो अध्ययन सुरु गरेका थिए । ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरी उच्च शिक्षाका लागि अष्ट्रेलिया गएका उनी त्याहाँ दुई वर्ष बसेर नेपाल फर्किए ।

सुवास आफू कानुन पढेको र अधिवक्ता भएकाले छोरा सुहाङलाई पनि कानुन नै पढाएका थिए । सुहाङ पछिल्लो समय काठमाडौँको थापागाउँमा ‘कान्तिपुर ल एसोसिएट्स एण्ड रिसर्च सेन्टर’ स्थापना गरी वकालत गर्दै आएका थिए ।

राजनीतिभन्दा खेलकुदमा बढी लगाव राख्ने सुहाङ अष्ट्रेलियाबाट फर्किएपछि कलेजमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुन थाले । उनले खेलकुद क्षेत्रको विकासका लागि दुई वर्षअघि ‘इलाम स्पोर्टिङ डी मेची क्लब’ समेत स्थापना गरे । पछिल्लो समय उनी सोही क्लबमार्फत इलामका विभिन्न ग्रामीण क्षेत्रमा पुग्ने गरेका थिए । फुटबल र क्रिकेटमा रुचि भएका तथा पेशाले अधिवक्ता सुहाङ सरल, सालिन र नरम स्वभावका छन् ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि बुबा सधैँ केन्द्रीय राजनीतिमा लागेको देखे पनि राजनीतिकलाई नजिकबाट बुझ्ने अवसर पाएका सुहाङ राजनीतिक गतिविधिबाट भने टाढै थिए । आफ्नै बुबा उम्मेदवार हुँदा समेत मतादता नामावलीमा नाम दर्ता नभएकाले मतदान गर्न पाएका थिएनन ।

राजनीतिलाई नजिकबाट बुझ्ने अवसर पाएपनि खासै रुचि नभएका सुहाङलाई परिस्थितिले सांसद बनायो । नयाँ सत्ता समीकरणले सुहाङलाई सांसद बनाउनमा सहज बनायो । नेकपा (माओवादी केन्द्र) नेकपा र नेपाल परिवार दलको समर्थन पाएका नेम्वाङले कम उमेरमा नै संसद छिर्ने अवसर पाएका छन् ।

राजनीति धेरै टाढासम्म रहेको भन्दै सबैको भावना कदर गर्दै देशलाई सुशासन र समृद्ध बनाउने सपना रहेको उनले बताए । उनी आफ्ना बुबाको अधुरा र अपूरा सपना पूरा गर्न राजनीतिमा आएको बताउछन् । समाजमा रहेको राजनीतिप्रति युवाको मानसिकता र वैदेशिक रोजगारमा युवाको आकर्षण घटाउन विभिन्न योजनाहरु ल्याउने उनको भनाइ छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया